गोरखा: बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ । आज दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो । चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं: फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन । ४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो ।
पोखरा: पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ । सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ । उद्घाटन समारोहपछि दिउँसो १ बजेदेखि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमी’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले जानकारी दिए । भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए । भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुःख–दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् । अलिमियाँ कक्षमा सोही समयमा केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् । भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै अलिमियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्नेछिन् । कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ । यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले संवद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ । फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । फेस्टिभलले उपलब्ध गराएको मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने आयोकजक बुकवर्मको अपेक्षा छ ।
काठमाडौं: भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत हुनुभएको हो । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उहाँ मेयरमा मनोनीत हुनुभएको हो । यहाँ यसअघि उपमेयर चुनिनुभएको थियो । अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नुहुनेछ । बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भन्नुभयो, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पु¥याउने अवसर मिलेको छ ।” काउन्सिल इतिहासमा उहाँ पहिलो गोर्खा मेयर बन्न लाग्नुभएको हो । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ । मेयर हुने पक्का भएपछि उहाँले भन्नुभयो, “नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।” झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गर्नुभएका मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुनुहुन्छ । सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त हुनुभएको हो । बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहनुभएका सारू पाल्पामा जन्मिनुभएको हो ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ । विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान रहेको बताउनुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रुपमा रहेको बताउँदै उहाँले मानवमूल्यहरुको पुनस्थार्पनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गर्नुभयो । विश्वका डेढ सय बढी देशमा आफ्ना सेवा केन्द्रहरुको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य तथा तनावमुक्त जीवन, नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताउनुभयो । महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति हाम्रो पहिचान भएकाले यसलाई भुल्न नहुनेमा जोड दिनुभयो ।
काठमाडौं: महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।” पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
सुनसरी: जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने बताउनुभयो । घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो । उहाँले घटनामा कोही दोषी देखिएमा निजलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं: महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बन्नुभएको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताउनुभयो । “हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भन्नुभयो । आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउनुहुन्छ । उहाँका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौँ आसपासमा ४५ दिन छायाङ्कन गरिने छ । चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्दै हुनुहुन्छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले सङ्गीत सृजना, शिशिर खातीले नृत्य निर्देशन गर्नुहुने छ । यस्तै, आजै मुहुर्त गरिएको चलचित्र ‘हर्ष’ को छायाङ्कन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिनुभयो । न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुट्नुभएकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरिने बताउनुभयोे । “आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु । मैले तयार गरेको पटकथालाई पूर्ण रूपमा पर्दामा ल्याउन कोसिस गर्नेछु”, निर्देशक पौडेलले भन्नुभयो । यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुहुने छ । ‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को मुहुर्त गर्दै आजदेखि नै काभ्रेबाट छायाङ्कन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायाङ्कन काठमाडौँमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने मोहलाई विषय बनाइएको चलचित्र सामाजिक विभेदसँगै विकृतिलाई व्यङ्ग्य गर्छ । यो पूर्ण रूपमा मनोरञ्जनले भरिपूर्ण चलचित्र बन्नेछ तर यसले उठान गरेको विषय गम्भीर र सोचनीय छ भन्ने हामीलाई लागेको छ ।” चलचित्रमा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गर्नुहुने छ । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले जानकारी दिनुभयो । किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोशेढुङ्गा’ को पनि आज छायाङ्कन सुरु भएको छ । किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने सो चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का हुनुहुन्छ । चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा आज च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सो चलचित्रको छायाङ्कन सुरु भएको निर्माता अनुरागले जानकारी दिनुभयो । करिब एक हप्ता काठमाडौँमा छायाङ्कन गरेपछि चलचित्रको बाँकी काम स्याङ्जामा हुने छ । निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्नुहुने छ । चलचित्रमा निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्नुहुने बताइएको छ । “दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु । दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन”, निर्देशक पौडेलले भन्नुभयो । महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ । रिदम कँडेल र आशिष अविरलको सङ्गीत रहने सो चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ । निर्देशक पौडेलका अनुसार कोशेढुङ्गा चलचित्र २०८२ सालमा ‘रिलिज’ हुनेछ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताउनुभयो । उहाँले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताउनुभयो । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ । तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।