दैलेख: जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।” दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उहाँहरूको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ । गाउँका अगुवा धनबहादुर थापा भन्नुहुन्छ, “पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । “बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ”, यहाँका सबै टोलमा यस्तै समस्या छन् । यस्तै गुनासो गर्नुहुन्छ रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उहाँलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । “निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै ।” दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । “सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?”, उहाँ प्रश्न गर्नुहुन्छ । सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताउनुभयो । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् । परम्परागत उत्पादनलाई जङ्गली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उहाँले बताउनुभयो । जङ्गली जनावरको आतङ्क ग्रामीण बस्ती खाली हुनुको एक कारण जङ्गली जनावरको आतङ्क पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जङ्गली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् । “केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जङ्गली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान पुग्दैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाले”, महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भन्नुभयो ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने ९माउन्टेन फ्लाइट०, हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ ।” प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिन्छ । यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो । मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ । यसैबीच हेलिकप्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी भुलले मनसुन हटेसँगै ‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको बताउनुभयो । यसअघि १३ जुलाई २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि हेलिकप्टर उडानका लागि लिनुपर्ने सबै उडानको अनुमति प्राधिकरण प्रधान कार्यालयबाटै दिने व्यवस्था गरिएको थियो । काठमाडौँ उपत्यका बाहिरको हकमा मात्रै केन्द्रीय कार्यालयले हेलिकप्टर उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ । अब पाइलटको चेक, नन कमर्सियल, सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडानमात्रै अनुमतिका लागि प्राधिकरण प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ । “अघिल्लो वर्ष मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि देशभरको सम्पूर्ण हेलिकप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था गरेका थियौँ, अहिले काठमाडौँ विमानस्थल र उपत्यकाबाट सञ्चालन हुने हेलिकप्टरको हकमा उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनेगरी प्राधिकरणले विमानस्थललाई अधिकार फिर्ता गरेको छ । असोज २४ गतेदेखि अनुमति पहिला जसरी दिइन्थ्यो त्यसैगरी हुने व्यवस्था गरिएको छ”, प्राधिकरणका सूचना अधिकारी भुलले भन्नुभयो ।
काठमाडौं: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो । कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को उपदफा १०४ बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको उहाँले सुनाउनुभयो । समस्याग्रस्त घोषित भई सहकारी ऐन, २०७४ को उपदफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि मन्त्रालयले समितिसमक्ष लेखी पठाएअनुसारको प्रक्रियामा काम भइरहेको पनि समितिले जनाएको छ । सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।
तनहुँ: तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो । केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “बाख्राको दूधमा ल्याक्टोजिन नहुने र प्रतिरोगी हुने भएकाले यसको माग उच्च छ । बाख्राको दूधबाट बनेको चिजको माग पनि उच्च छ ।” यहाँ उत्पादित बाख्राको चिजको माग काठमाडौँ र पोखरामा अत्यधिक रहेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ”, उहाँले भन्नुभयो । केन्द्रले गत वर्ष १५ जिल्लामा सानन जातका बाख्रा वितरण गरेको थियो । चार जिल्लामा बारबारी र ११ जिल्लामा खरी जातका बाख्रा वितरण गरिएको जनाइएको छ । केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारि क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । कँडेलका अनुसार बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादी, घिरिङ, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोरक्रसका पाठापाठी उत्पादन भएको छ ।
सुनसरी: दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हँुदा १४ जनाको मृत्यु भएको जनाएको छ । घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ । बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिनुभयो । “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।” घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताउनुभयो । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ । समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ । हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुन् । पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृश्यावलोकन गर्न पुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुल, उल्लेरी भएर एकैदिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ एक पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ । अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।