पोखरा:   पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।  पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल ख...

मुस्ताङ:   मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।  हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँदयाममा  स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो । जिल्लामा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४  विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ । जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो ।  उहाँका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ । उहाँका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ । चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् ।  उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको तीन सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उहाँले बताउनुभयो । यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुईमहिने हिउँदे बिदा दिएको थियो ।  घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात  सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो । तल्लो मुस्ताङका विद्यालय दुईमहिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् । सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिकसत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो । शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको  जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताउनुभयो ।  उहाँका अनुसार हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिकसत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

स्याङ्जा: स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।       गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।       बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए । सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।      दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

तनहुँ: जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।  म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो । विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता हुनुहुन्छ । 

गण्डकी:   कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्ष दिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताउनुभयो ।  “तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिए पनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।” भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैँले लगानी गरेको संयोजक पौडेलले बताउनुभयो । उहाँले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उहाँको भनाइ छ । बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि रु १८ करोडको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पर्खाइमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै हुनुहुन्छ । “जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन”, उहाँले भन्नुभयो, “स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?”  अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक रु पाँच करोड सञ्चालन खर्च आउने बताउनुभयो । उक्त अस्पतालबाट डायलायसिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँचवटा उपकरण माग गरिएको उहाँले बताउनुभयो ।  “प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफँैले व्यवस्थापन गर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बागलुङको पश्चिम भेगका मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलायसिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।” ग्रामीण क्षेत्रका नागरिकलाई डायलायसिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलायसिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उहाँको भनाइ छ ।  स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।  “यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबीच आपसी सहयोग र सहकार्यको खाँचो छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।” अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताउनुभयो । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उहाँको भनाइ छ ।  गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताउनुभयो ।  “नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भए पनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।” मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।  “यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन”, मन्त्री पाठकले भन्नुभयो ।  सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो ।  दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहे पनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बने पनि सेवा सुरु हुनसकेको छैन । सत्र अस्पताल भवन निर्माणाधीन छन्भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् ।

धादिङ:   गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए ।  ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा: हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गर्नुभएका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहनुभएको छ । साउदी अरबमा छँदा गाडी चलाउनुभएका उहाँले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाउनुभयो । ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उहाँ गाउँ फर्कनुभयो ।  गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गर्नुभएका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउनुहुन्छ । मोबाइलमा भिडियो हेरेकै भरमा उहाँले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको उल्लेख गर्नुभयो ।  तिमल्सिनाले हाते रु आठ लाख लगानी गर्नुभएको छ । उहाँले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक सुरु भएको यस उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।  उहाँले उद्योग सुरु गर्दा पहिलो महिनामा जम्मा रु ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । विशेष गरेर लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।  लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न सुरु गरेको हुँ ।”  काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन सुरु गर्नुभएका उहाँलाई अहिले भ्याइनभ्याई छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उहाँसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उहाँ लाग्नुभएको छ ।  पहिलो चरणमा दुई सयवटा फ्रेमबाट कागज उत्पादन गरिरहनुभएका तिमल्सिना यतिबेला लगानी बढाएर पाँच सयभन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा हुनुहुन्छ । एउटा केराको बोटबाट औसतमा आधा किलो फाइबर निकाल्न सकिन्छ । त्यसबाट २५ वटासम्म कागज बनाउन सकिन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी (दुई सय पिस) कागज उत्पादन भइरहेको उहाँको भनाइ छ । केराको पकेट क्षेत्र भएकाले भविष्यमा यहाँको केराको खम्बा मूल्य निर्धारण गरेर खरिद गर्ने सोच उहाँले बनाउनुभएको छ । यसरी उत्पादन भएको कागजको बजारका लागि भने समस्या छैन । उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले प्राविधिक र मेसिनरी सहयोग गरेको अवस्थामा स्थानीयस्तरमा खेर गइरहेको केराको खम्बाबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।  सुरुमा केराको खम्बा र डन्ठा जम्मा गरिन्छ । त्यसपछि त्यसलाई मेसिनमा हालेर फाइवर निकालिन्छ र सुकाइन्छ । फाइवरलाई कास्टिङ सोडामा हालेर बाबियोसहित पाँच घण्टा जति पकाएपछि त्यसलाई तीन–चारपटक पानीले धुनुपर्छ ।  त्यसपछि त्यसलाई कुटेर, मेसिनमा हालेर मसिनो हुनेगरी लेदो बनाउनुपर्छ र कागज सुकाउने काठको जालीसहितको फ्रेममा आवश्यक कच्चा पदार्थ हालेर पानीबाट छानेर घाममा सुकाउनु पर्दछ । घाम लागेको बेला करिब दुई–तीन घण्टामा सुकेपछि कागज तयार हुन्छ । 

लुम्बिनी: स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।  बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा  उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध  रु पाँच करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो ।  उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।  प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत  अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।       त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले जारी गर्नुभएको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ  ।       “भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।       त्रिविले विद्यार्थी तथा अभिभावकलाई  [email protected][email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ ।  गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।