काभ्रे: खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयाकमा निर्माण गरिने बताउनुभएको छ । गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका संरचनाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । खानेपानीमन्त्री यादवले भन्नुभयो, “पनौतीसहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । बिग्रेभत्केका ती संरचनाको काम द्रुत प्रक्रियामार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथासक्य छिटो खानेपानीको व्यवस्था गछौँ ।” उहाँले भन्नुभयो, “मन्त्रालय, विभाग, खानेपानी संस्थानसहितको टिमले बाढीपहिरोका कारण भएाकोे क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथासक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।” मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गर्नभयो । अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
पोखरा: फेवातालमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । काठको डुङ्गामा भाडामा लिएर फेवातालमा सवार गरेका दुई जना अचानक आएको हावाहुरीका कारण तालको बीचमा अलपत्र परेका दुई जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं२४ कालिका गणका गणपति अरुण कुमार शर्माले जानकारी दिए । सशस्त्र प्रहरीले फेवातालमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका घर भई काठमाडौं बस्ने २२ वर्षीय मनिष विश्वकर्मा र रुपन्देशी देवीनगर नगरपालिका–११ बुटवल बस्ने २२ वर्षीय प्रिति सुनारलाई सकुशल उद्धार गरेको हो ।
काठमाडौं: निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । “एक÷दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।” सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न अघिल्लो सरकारले सिफारिस समिति बनाएको थियो । गत भदौ १३ गते राष्ट्रपतिबाट दुवै आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो । बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्थ्यो ।
गण्डकी: यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ । बिहीबार मनाङको याकखर्कबाट रासससँग टेलिफोनमा कुराकानी गर्दै पथप्रदर्शक गुरुङले १३ दिनको पदयात्रा दसैँको चार दिनअघिबाट सुरु गरिएको जानकारी दिनुभयो । “यसपालिको दसैँ पदयात्रामै बित्यो, घरपरिवारसँग बसेर मनाउन पाइएन”, उहाँले भन्नुभयो, “पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर पदयात्रामा जानुपर्ने हुन्छ, यो पेसा नै यस्तै हो ।” गुरुङले आउँदो तिहारमा अमेरिकी पर्यटकसँग घोडेपानी–पुनहिलको पदयात्रा तय भइसकेको बताउनुभयो । गत वर्ष तिहारमा पनि उहाँ इटालीका रिकार्डो र भेरोनिकालाई लिएर मनाश्लु क्षेत्रको पदयात्रामा जानुभएको थियो । उत्तरी गोरखाको चुम उपत्यका र गणेश हिमालको आधारशिविरको घुमघामका लागि उहाँ पर्यटकसहित त्यहाँ पुग्नुभएको थियो । गत वर्षको तिहार कात्तिक २९ गते परेको थियो । ३७ सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा गुरुङ, इटालीका रिकार्डो र भेरोनिकाले तिहार मनाउनुभएको थियो । गुरुङले भुइँमा गलैँचा ओछ्याएर तीनै जनाले एकापसमा भाइटीका लगाएको सम्झना अहिले पनि ताजै रहेको सुनाउनुभयो । त्योबेला भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाका टोपी र सयपत्री माला पहिराइदिनुभएको थियो । गुरुङपछि भेरोनिकाले उसैगरि रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिनुभएको थियो । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाई र फलफूल दिएर हार्दिकता साटासाट गर्नुभएको थियो । “गत वर्षको तिहारमा हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यहीँ तिहार मनाउने भनेर टीका र सामग्री म आफैले बोकेर गएको थिएँ”, उहाँले भन्नुभयो, “रिकार्डो र भेरोनिका स्कूले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरुसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति गरेका थिए ।” मनाङको उपल्लो हिमाली भेगमा तिब्बतीयन संस्कृति रहेको र दसैँ मान्ने चलन नरहेका कारण यसपालि गत वर्षको जस्तो संयोग भने नजुरेको गुरुङले बताउनुभयो । उहाँले यात्राका क्रममा विदेशी पर्यटकलाई आफ्नो संस्कृतिबारे सुनाउन र बुझाउन पाउँदा गर्वको अनुभूति हुने गरेको सुनाउनुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु कुनै नौलो कुरा भने होइन । गुरुङले गत वर्षको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाउनुभएको थियो । दुई वर्षअघिको दसैँ–तिहारमा त उहाँ झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । “शरद ऋतु पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भन्नुभयो, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु, चाडबाड आउनुपूर्व नै पदयात्राको योजना तय भइसकेको हुन्छ ।” पथप्रदर्शक मात्र नभएर पर्यटन क्षेत्रका अन्य कर्मचारी र मजदुरका लागि पनि चाडपर्व खल्लो हुने गरेको उहाँको भनाइ छ । पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पु¥याएर पथप्रदर्शकका काम सुरु गर्नुभएको गुरुङले कहिले कम्पनीहरुमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउने गर्नुभएको छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चाडबाडकै बेला मुख्य पर्यटकीय याम पर्ने भएकाले आफूलाई चाडबाडको उल्लासले खासै नछुने बताउनुभयो । “पथप्रदर्शक, भरिया मात्र नभएर हामी व्यवसायीलाई पनि पर्यटकको सेवा, सत्कारमा भ्याइनभ्याइ हुन्छ, यो याममा काम नगरे व्यवसाय धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । पर्यटन क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरलाई चाडबाडका बेला झन् बढी काममा खटिनुपर्ने बाध्यता रहेको आचार्यले बताउनुभयो । “यो बेला काम नगरे जीविका चल्दैन, पर्यटन क्षेत्रमा चार महिना कस्सिएर काम गर्ने र अरु बेला पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिन्छ । पदयात्रा लागि पनि यी दुवै याम उत्तम मानिन्छन् । आचार्यले पथप्रदर्शक र भरियाले बाटैमा पर्यटक र साथीभाइसँग मिलेर चाडबाड मनाउने गरेको बताउनुभयो । “मनाङ, मुस्ताङतिर दसैँ–तिहारको खासै महसुस हुँदैन, तर तल्लो भेगमा जाँदा भने स्थानीयवासीसँग घुलमिल भएर रमाउँदै चाडबाड मनाउन पाइन्छ”, उहाँले भन्नुभयो । पछिल्लो सातायता पर्यटकीय राजधानी पोखरालगायत आसपासका गन्तव्यस्थलमा पर्यटकको चहलपहल बढेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । “पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढेको छ, पर्यटकीयस्थल भरिभराउ छन्”, उहाँले भन्नुभयो । पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनाश्लु संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल प्रख्यात छन् । नेपालीहरुमा विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने प्रवृत्ति बढीरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो । उहाँका अनुसार कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । ‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको संख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो । सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौं: बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन हुनुभएको थियो । उहाँको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरु मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन्। हसिनाविरूद्धको मुद्दाको पक्षमा बहस तथा पैरवी गरिरहेका अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना पदच्युत भएको दिनलाई ‘उल्लेखनीय दिन’ का रूपमा उल्लेख गर्नुभयो। हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्याहरू गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ। बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) का मुख्य अभियोजक इस्लामले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र नोभेम्बर १८ मा अदालतमा पेश गर्न अदालतले आदेश दिएको बताउनुभयो । जुलाईदेखि अगस्टसम्म नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालिन प्रशासन र यसको कार्यकारी प्रधानमन्त्री हसिनाले गरेका र उहाँसहित अन्य अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक भएकाले पक्राउ पूर्जी जारी गरिएको इस्लामले बताउनुभयो । हसीनाको शासन ढलेपछि उहाँका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको थियो र उहाँलाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीका लागि दोषी ठहर गरिएको थियो। पूर्व मन्त्रीहरू र उहाँको अवामी लिग पार्टीका अन्य वरिष्ठ सदस्यहरूलाई गिरफ्तार गरिएको छ, र उहाँको सरकारद्वारा गरिएका राजनीतिक नियुक्ति, र अदालत र केन्द्रीय बैङ्कका केही अधिकारी समेतलाई जिम्मेवारीबाट हटाइएको छ । बङ्गलादेशबाट हेलिकप्टरबाट भागेपछि हसिना सार्वजनिक रुपमा देखिनुभएको छैन । भारतको राजधानी नयाँ दिल्ली नजिकै रहेको सैन्य एयरबेसमा ७७ वर्षीय हसिना अन्तिम पटक देखापर्नुभएको थियो । हसिनाको पूर्व सबैभन्दा ठूलो हितैषी भारतमा उहाँको बसाइ र त्यहाँबाट हुने राजनीतिक गतिविधिले बङ्गलादेशको नयाँ अन्तरिम सरकारलाई क्रोधित बनाएको छ। ढाकाले उहाँको कूटनीतिक राहदानी रद्द गरेको छ । दुई देशबीच द्विपक्षीय सुपुर्दगी सन्धि छ जसले उहाँलाई आपराधिक मुद्दाको सामना गर्न अनुमति दिनेछ। तर, सन्धिको एउटा धारामा भने ‘राजनीतिक चरित्र’को अपराध भएमा सुपुर्दगी अस्वीकार गर्न सकिने उल्लेख छ । अदालतमा मुद्दा दायर गर्नेहरूमा हसीनाविरुद्धको प्रदर्शनका क्रममा गत जुलाईमा मारिएका चिकित्सक सजिब सरकारका परिवारका सदस्यहरू पनि रहेका छन् । “हामी चाहन्छौं कि सरकारले पूर्व प्रधानमन्त्रीलाई जतिसक्दो चाँडो फिर्ता ल्याउन पहल गरोस् र उहाँलाई जवाफदेही बनाओस्”, सजिबकी बहिनी सुमैया सरकारले एएफपीसँग भन्नुभयो, “हामी निष्पक्ष सुनुवाईको प्रतीक्षामा छौँ।” यो मुद्दा सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता सङ्ग्रामका क्रममा भएका ज्यादतीको छानबिन गर्न सन् २०१० मा गठन भएको हसिनाको सरकारले सन् २०१० मा स्थापना गरेको युद्ध अपराधसम्बन्धी अदालतमा दर्ता भएको छ । संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले यसको प्रक्रियागत कमजोरीहरूको आलोचना गरेका छन् र यसलाई हसिनाका लागि राजनीतिक विरोधीहरूलाई हटाउने माध्यमको रूपमा व्यापक रूपमा हेरिएको थियो। हसिनामाथि प्रदर्शनकारीको ’सामूहिक हत्या’को योजना बनाएको आरोप लगाउँदै अदालतले अनुसन्धान गरिरहेको छ । हसिनाको पलायनसँगै नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको छ । बङ्गलादेशमा माइक्रोफाइनान्स क्षेत्रमा अग्रगामी परिवर्तनको नेतृत्व गरेका ८४ वर्षीय युनुसले प्रजातान्त्रिक संस्थाहरूको पुनस्र्थापनाको ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्न अस्थायी प्रशासनको नेतृत्व गरिरहनुभएको छ । युनुसले आफूले सार्वजनिक प्रशासन र न्यायको ‘पूर्णतया भत्किएको’ प्रणाली विरासतमा पाएको र भविष्यमा निरंकुशतातर्फ फर्कन नदिन व्यापक सुधार आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा: विक्रम महर्जन नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । आज (बिहीबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । यस्तै उक्त टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आलेमगर र टिम व्यवस्थापकमा राज महर्जन नियुक्त भए । राईले आलेमगर र महर्जनलाई पनि सोही अवसरमा नियुक्तिपत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
खोटाङ: यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण गराउनुभयो । जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो । सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर नै रिजर्भ गर्नुप¥यो । कमजोर आर्थिक अवस्था भएका मृतकका आफन्तले चन्दा सङ्कलन गरी रु ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याए । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरु दसैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनुपरेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । स्थानीय तहले करोडौँ मूल्यका सवारीसाधन खरिद गरे पनि शव वाहन खरिद गरेका छैनन् । जसले गर्दा शव परीक्षण गर्नुपर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ । शव परीक्षण गराउँदासमेत कार्यालय सहयोगीले रु दुई हजार मागेर लगेको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दो रहेछ ।” जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् । ती सबैका परिवारले ट्याक्टरमै महङ्गो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।