९६ वर्षमा नागरिकता

बझाङ | फागुन १२, २०८१

९६ वर्षमा नागरिकता

बझाङ:  वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । 

    
“घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”

    
थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।

    
तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।

    
थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।

    
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।

    
सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।”

काठमाडौं: आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु. ४०० ले घटेको छ भने चाँदी रु. ६० ले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४८ ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।  साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएक...

थप पढ्नुहोस्

काठमाडौं:  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई ...

थप पढ्नुहोस्