स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ । यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।” गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ । करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सार्नुभएको थियो । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गर्नुभएको छ । “मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उहाँले भन्नुभयो, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गर्नुभएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् । यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत रहेका थिए ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण शनिबार काठमाडौँ आएसँगै सेनानी आचार्य नेतृत्वको फौज दक्षिण सुडानको राजधानी जुभातर्फ प्रस्थान गरेको हो । हाल दक्षिण सुडानमा नेपाली सेनाबाट ‘सेक्टर कमाण्डर,’ सैनिक पर्यवेक्षक, ‘स्टाफ’ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी एक हजार सात सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।
ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ । निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।
काठमाडौं: वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनुु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उहाँहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताउनुभयो । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताउनुभयो । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताउनुभयो । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताउनुभयो । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गर्नुभयो । उहाँले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गर्नुभयो । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताउनुभयो । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उहाँले विशेष खुसी व्यक्त गर्नुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुभएको थियो । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । काठमाडौँमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताउनुभयो । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ ।
गुल्मी: रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उहाँले भन्नुभयो, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडाँै उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु ÷ कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सिन्धुली: कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह छैन । ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन् । गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो । यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ । मङ्सिरको पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन् । यसका साथै पोथी प्रजनन लाइनमा उम्रिका ‘धानचमरा’ हटाउनुपर्ने छ । हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ । मकैको भाले फूललाई धानचमरा भनिन्छ । निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन् । सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ । कर्मचारीहरूकाअनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ । बाँया हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ । थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ । ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ । यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताउनुभयो । “मकैको दानाको अत्यधिक माग भएकाले परम्परागत खेती विधिबाट मात्र यो माग पूरा गर्न सम्भव छैन । यस समस्याको समाधानका लागि हाइब्रिड मकैलाई विकल्पको रूपमा अपनाइएको छ, यसले झन्डै दोब्बर उत्पादन दिन्छ”, उहाँले भन्नुभयो । प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती प्रदेश, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन, कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त प्रयासले हाइब्रिड मकैको बीउ उत्पादन कार्य सुरु गरिएको हो । स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठूलो धनराशि जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकाल बताउनुभयो । उहाँका अनुसार नेपालमा हाइब्रिड मकैको बीउ आयातमा हरेक वर्ष ठूलो रकम खर्च हुने गरेको छ । हरिहरपुरगढी गाउँपालिकामा मकैको हाइब्रिड बीउ उत्पादन कार्यले सफलता पाउन लागेकामा गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले खुसी व्यक्त गर्नुभयो । भन्नुभयो, “हरिहरपुरगढीलाई हाइब्रिड मकैको बीउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने हो । पहिला हरिहरपुरगढीमा धानबाहेक अरु पाइँदैन भन्ने थियो । अब मकैको बीउ पनि खरिद गर्न आउने बनाउँछौँ ।” आफ्ना पालिकाका किसानलाई भने मकैको बीउ निःशुल्क उपलब्ध गराइने योजना रहेको उहाँले सुनाउनुभयो । मकैखेतीको क्षेत्र विस्तार गर्दै यसको उत्पादनमा वृद्धि गरेर स्थानीय किसानको आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य छ । बाहिरबाट बीउ खरिद गर्ने झन्झटबाट बच्न र मकैखेतीको लागत घटाउन सहयोग पुग्नेमा स्थानीय किसान आशावादी भएका छन् । नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ । मकै खासगरी वसन्त ऋतु (फागुन–चैत), वर्षायाम (जेठ–असार) र हिउँद (असोज–कात्तिक) तिर लगाउने चलन छ । नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ र अझै हाइब्रिड मकैको क्षेत्रफल दिनप्रतिदिन तराई र भित्री मधेसमा मात्र नभएर मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपले विस्तार हुँदै गइरहेको छ ।