हुम्ला: वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइएको छ । यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका नागरिक आजदेखि घरघरको कुनैमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताउनुभयो । दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजी’को टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुन कुन बस्तीमा यसले काम गरेको छ जानकारी दिन सबैलाई अनुरोध समेत गर्नु भएको छ । उहाँका अनुसार फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने बताउनुभयो । सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्तीहरु र हरम्लाको ताँजाकोट, सर्केगाड, र अददानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा आज दिउँसोबाट सञ्चालन सुरु गरेको छ भने अदानचुली च्याममा राखिएको टावर भोली(शनिवार) दिउसो १ बजेबाट सञ्चालनमा आउने टावर निर्माणको जिम्मा पाएका अदानचुली गाउँपालिका वडा नम्बर ५ का दृघ सिंहले जानकारी दिनु भयो । च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचनारु हुँने नेपाल टेलिकम हुम्ला रिन्जिन लामाले बताउनु भयो । जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । आजदेखि टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थालेको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । उहाँले भन्नुभयो “ दुई वर्ष देखिको निरन्तर प्रयासका बाबजुत आजबाट सञ्चालनमा ल्याउन सफल भएकोमा निकै खुसी ब्यक्त गर्दै अब कदमकदाचित ओर्डलिंक र एभरेष्टको टावर डाउन भएपनि आफुहरुको काम अबरोध नहुँनेमा ढुक्क छौं ।” अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अम्मर रावल भन्नुहुन्छ, “यसअघि यहाँका बासिन्दा मोबाइलमा कुरा गर्न पनि कता अग्लो डाँडा छ भनेर खोज्दै हिँड्थे । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छौँ । यसले निकै सुबिस्ता भएको अनुभव भइरहेको छ । अहिले देश तथा विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्न पाएका छौँ । निकै खुसी लाग्यो । ” गाउँमा फोरजीसम्मको सेवा पु¥याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । गाउँबस्तीमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महसुस भएको पनि रावलले बताउनुभयो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “मैले निरन्तर दवाब दिएकाले यसले छिटो निकास पाई सञ्चालनमा आएको हो ।” यस्तै सोरु गाउँपालिकाको लामाकाँधमा राखिएको टावर सञ्चालनमा नआए हुम्लामा सञ्चालनमा नआउने भएपछि सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीलाई निकै छिटो सञ्चालनमा ल्याउनै पर्ने बाध्यता थियो सोही अनुसार आफिु पनि भागेका ठेकदाहरुलाई ल्याउन र छिटो काम सञ्चालनमा ल्याउने दुई वर्ष लागेको बताउनुभयो । उहाँलले भन्नुभयो “अब हरेक गाउँमा फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ ।”
काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।
ताप्लेजुङ: ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भन्नुभयो, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।” पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् । विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तिर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी भएको हो । पाल्पामा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गर्नुभएको थियो । आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले प्रतिवद्धता जनाउनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’ फरक प्रसंगमा मन्त्री सारुले देशमा केही पनि भएन भन्नु गलत भएको पनि बताउनुभएको छ । उहाँले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताउनुभयो । मन्त्री सारुले भन्नुभयो “१०४ वर्षीय राणशासनको अन्त्य गर्दै जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्ने र जनताकै छोराछोरीले मुुलुुकको नेतृत्व गर्न पाउनुपर्छ भनेर प्रजातन्त्र, गणतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरियो, के यो परिवर्तन हैन ?, आज हाम्रा हात हातमा मोवाइल फोन, इन्टरनेट, कम्युटरजस्ता आधुनिक प्रविधि आए के तिनीहरु विकास हैनन् ? गाउँ–गाउँमा विद्यालय, सडक, खानेपानी, बिजुलीजस्ता विकासका पूर्वाधार पुगेका छन् ,तर हामी अझै देशमा केही भएन भन्न छाडेका छैनौँ, यो गलत हो ।” मन्त्री सारुले भन्नुभयो ”सकारात्मक सोंच राखेर अगाडि बढौँ, देशमा धेरै कुरा सुधार भएका छन् ।” नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला आएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुक्रबारदेखि १२ वटै जिल्लाका १५ वटा विद्यालयमा एकै साथ सुरु गरेको छ । मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा शुक्रबार पुुग्नुभएको थियो । मुख्यमन्त्रीसहित सबै मन्त्री र पूर्वविशिष्टलाई पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारले ग्रामीण क्षेत्रको बसाइँसराइ रोक्ने, चर्को शुल्कमा निजीमा पढाउने प्रतिस्पर्धा न्यूनीकरण गर्ने भएकाले पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान ल्याइएको बताइएको छ ।
पोखरा: पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल सङ्घ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवका संयोजक एवं होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको बताउनुभयो । नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्दै उहाँले यसले स्वदेशी एवं विदेशी पर्यटलाई पोखरामा आकर्षित गर्न तथा फेवा तालको संरक्षणमासमेत मद्दत पुग्ने बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार ड्यामसाइडदेखि गैराको चौतारासम्मको क्षेत्रमा सडकमै महोत्सव आयोजना हुनेछ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय कक्ष र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् । महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई सङ्घले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने सङ्घले जनाएको छ । निकट भविष्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत अन्य मुलुकलाई जोड्ने गरी उडानको तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आशावादी भएको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गर्नुभयो । “हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।” प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भन्नुभयो, “मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने, भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।” उहाँले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ । आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो । उक्त समहतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने र नियमित कार्यमा फर्किने सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । वार्ता पश्चात सहमति गर्दै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो । वार्ताका क्रममा सरकारको प्रचलित नियमअनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोगलगायत निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ । सङ्घले राखेको स्नातकोत्तरको सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७औँ बैठकबाट निर्णय गरिसकेको छ । यसैगरी सङ्घले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउने विषयमा आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवाला समक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्वेक्षण पूरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ । त्यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उपसचिव (१ जना) र नेपाल चिकित्सक संघका प्रतिनिधि एक जना रहने गरी तीन सदस्यीय कार्यदलले एक हप्ताभित्र कार्यविधि तयार गरी पेस गर्ने निर्णय गरेको छ । सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि आज सहमति भएको हो ।
कास्की: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताउनुभएको छ । पोखरामा आज तमु राष्ट्रिय मुुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गर्नुभयो । “उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ । समात्न छाडेका त थिएनौँ, दरिलो गरी समात्न सकेका थिएनौँ । अब सबैको एकताबद्ध प्रयासले पहिचान र अधिकारको मुद्दालाई अगाडि बढाउछौँ”, अध्यक्ष दाहालले भन्नुभयो । अध्यक्ष दाहालले पार्टी विसं २०८४ को आगामी निर्वाचनसम्म सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले एक्लै चुनाव लड्ने र जनतालाई बलियो बनाएर बहमुत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन् । हामी एक्लै जनतामा जान्छौँ, जनताको तागतमा विश्वास गर्छौँ । तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।” अध्यक्ष दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि संशोधन हुनुपर्ने बताउनुभयो । “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।” नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताउनुभयो । उहाँले समाजवादमा मात्र वर्गीय र जातिय समस्याको समाधान गर्न सकिने बताउनुभयो । अध्यक्ष दाहालको नेतृत्वमा पार्टी अहिले एकताबद्ध रूपमा अघि बढाइने बताउनुभयो । “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ”, उहाँले भन्नुभयो । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धका कारणले मात्र नेपालमा उत्पीडित जाति र समुदायले हक अधिकार पाएको बताउनुभयो । कार्यक्रममा विसं २०७९ को स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिकामा विजयी भएका तमु जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए । उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए । भलिबलको दुवै विधाको फाइनल शनिबार घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको उपाधिका लागि अन्नपूर्ण युथ क्लब र पोखरा भलिबल प्रशिक्षण केन्द्र भिड्ने महोत्सव संयोजक अमृत लामा गुुरुङले जानकारी दिए । यस्तै भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखरा र अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समिति उपाधिका लागि भिड्ने छन् । भलिबलको दुवै विधाको फाइनल खेल शनिबार हुने महोत्सव संयोजक गुरुङले जानकारी दिए । यस्तै बास्केटबलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा मेश्रम युथ क्लब र टिम समाकुसी भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र अन्नपूर्ण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।