काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...

काठमाडौं:  चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताउनुभएको छ ।  ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताउनुभएको हो ।  आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिनुभएको हो ।  फेब्रुअरीको सुरुमा उहाँले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत थप भन्सार शुल्क लगाउनु भएको थियो ।  उहाँले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने र औषधी र ‘सेमीकन्डक्टर’मा समान वा उच्च शुल्क लगाउने चेतावनी पनि दिइरहनुभएको छ ।  ट्रम्पले सुरुमा सबै क्यानेडियाली र मेक्सिकोली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो तर निर्णय लागु हुनुभन्दा केही घण्टा अघि सैद्धान्तिक रूपमा निर्णयलाई थाति राख्दै मार्च १ सम्म निर्णयलाई कार्यान्वयनमा नलाने बताएपछि एक महिनाको लागि राहत मिलेको थियो । उहाँले गत हप्ता विदेशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । 

कैलाली:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताउनुभएको छ ।      प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसद्मा प्रवेश पाउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसद्मा प्रवेश पाउनेछन्, सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ ।”      मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताउनुभयो ।  “अध्यादेशले अगाडि ल्याएका मान्यता सरकारको प्रभावकारितासँग कति उपयुक्त छन् भन्ने कुराको छलफल र बहसबाट यसलाई टुङ्ग्याउनु पर्छ जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “संसद्मा पनि एउटा वातावरण बन्छ, त्यसलाई अगाडि बढाउने सरकारले तयारी थालेको छ ।”      त्यस्तै, तत्काल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सेती प्रादेशिक अस्पतालमा रहेका केही जनशक्तिलाई जोडेर अगाडि बढाउने कुरा भएको उहाँले बताउनुभयो । 

सुर्खेत:   जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।       आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।  जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो । 

बर्दिया:  यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल  उपयोगमा चासो नदिँदा  निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे  बनेको  छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो । दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिनुभयो । गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण  कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताउनुभयो ।  जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का  सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले  पुनः  भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।      सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि  पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन्् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ । 

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ ।  सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।  नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो । ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसंगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो ।  चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि – ४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताउनुभयो । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् ।  यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसंगै उर्जा डेभलपर्स प्रा.लि. अन्तगत रहेको हाइड्रो भिलेज प्रा।लि प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ । यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसंगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ ।  धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन् ।

पोखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो ।  नविन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।  पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए ।  ‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं । तर, ज्ञापनपत्रको कुनै सुनुवाई नै भएन । यो ट्रेन्ड नै जस्तो लाग्यो,’ उनले भने, ‘जबसम्म ढुंग्गामुढा गर्दैन, टायर बाल्दैन तबसम्म सरकारले कान नसुन्ने रैछ, आँखा नदेख्खो रैछ की भनेर हामी अगाडी बढेको हो ।’ उनले थपे, ‘होइन भने राप्रपाले हिंसाको राजनीति, द्धन्द्धको राजनीतिमा कहिल्यै पनि विश्वास गर्दैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’ कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका साबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको प्रदेश अध्यक्ष गुरुङले बताए ।  राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र संघीयता खारेज जस्ता विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।  पूर्ण समानुपातिक सांसद बनाउने र सांसद मन्त्री बन्न नपाउने र विज्ञबाट मन्त्री बनाउने, सनातन हिन्दु अधिराज्य, भ्रष्ट्राचार, विभेद अन्त्य जस्ता एजेण्डा राप्रपाले अघि राखेको छ ।  विरोध सभा शुक्रबार पोखरा चिप्लेढुंगामा हुनेछ । पृथ्वीचोकबाट ¥याली गर्दै चिप्लेढुंगामा गएर विरोध सभा गरिने राप्रपा प्रदेश अध्यक्ष गुरुङले जानकारी दिए । राप्रपाले बोकेको एजेण्डा प्रमाणित हुँदै गएको उनले बताए ।  राप्रपाले देशको पछिल्लो असहज परिस्थितिलाई गम्भिरतापूर्वक लिँदै चरणबद्ध आन्दोलन र विरोधका कार्यक्रम तय गर्ने राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालले जानकारी दिए । उनले अवस्था बदल्न, व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा रहेको उल्लेख गरे ।  ‘हामीले स्पष्ट रुपमा भनेका छौं । हामी अवस्था बदल्नका लागि व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा छौं । युद्ध भनेको आन्दोलन हो । आन्दोलनको प्रकृति के हुन्छ भन्ने कुरा आन्दोलनले निर्धारण गर्छ,’ उनले भने ।  राज्यको अर्थतन्त्रीले धान्न नसक्ने खर्च, अनुत्पादक क्षेत्रहरुमा लगानी र अव्यवस्थित कर प्रणालीका कारण अर्थतन्त्र संकटमा परेको राप्रपाको ठहर छ । राप्रपाले कथित युद्द र पश्चिमी प्रभावको नाममा लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाल र नेपालीका लागि घारत सावित भइसकेको दाबी गरेको छ ।  राप्रपाबाट गण्डकी प्रदेश सभा सांसद बनेकी विन्दु अधिकारी पौडेलले प्रदेशमा रोजीरोजी मन्त्रालय दिँदासमेत आफु मन्त्रीहरु मन्त्री नभएको दाबी गरिन् ।  ‘राप्रपाले दिगो सरकारका लागि मत दियौं । रोजीरोजी मन्त्री दिँदा हामी मन्त्री भएनौं,’ उनले भनिन्, ‘राप्रपा देशका लागि सोचेर हामीले पाउने पद त्याग गरेका छौं ।’ पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामै भएको बेला राप्रपाको कार्यक्रम हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   

तनहुँ:  अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।       जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो ।  बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।  डा चौधरीले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।”       यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।       यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।       उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताउनुभयो ।  

भैरहवा:  भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।  उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।  उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो । उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।  विसं २०६१  असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको  गत आइतबार निधन भएको हो । उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।

काठमाडौं:    स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ ।  बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ ।