म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

पोखरा:   पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्यूरो क्रिटिकल केयरमा थप सेवा सुरु गरेको छ ।  जीएमसी प्रशासनले दिएको जानकारी अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसीयू स्थापना गरिएको छ ।  आइसीयूको स्थापनासँगै अब कलेजले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको छ ।  ‘गण्डकी प्रदेशमै न्यूरोसम्बन्धित उपचारमा अस्पतालले आगामी दिन अझ परिष्कृत सेवा दिनेछ’ अस्पतालले जनाएको छ ।  जीएमसीले वरिष्ठ न्यूरोसर्जन प्राडा याम रोकालाई भित्र्याएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको हो ।  मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ । न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरी सेवा बिस्तार गरेको छ ।  

काठमाडौं:  पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गको कोठामै मृत भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराजले बताए । रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् । संसद् सचिवालयमा कार्यरत रोशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो । त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे ।

काठमाडौं:  समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटनु भएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक बर्ष २०८२/०८३ बजेटको तयारी साथै समसायीक राजनीतिक विषयहरुमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।   मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।  गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।   बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताउनुभयो ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक गरेको थियो ।

काठमाडौं:  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ । 

पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसका तर्फबाट मुस्ताङ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् ।  सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’ उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् । उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ । राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।