जुम्ला: रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो । भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत हुनुहुन्छ । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ । “बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको आग्रह गरेका हौँ,” छोरा दीपेन्द्रले भन्नुभयो । सहयोग गर्न चाहनेहरुले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ । भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिनुभययो । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् । जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ । यकिन विवरण सङ्कलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रुपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गर्नुभएको छ । उहाँहरुले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गर्नुभएको हो । रुकुमपश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु एक लाख ५० हजार र घाइतेलाई रु तीन लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो । कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतबाहेक थप रु सात लाख दिने सहमतिअनुसार पहिलो किस्ताको रु तीन लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो । कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उहाँको भनाइ छ । गएको गत साउन १३ गते रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित पाँच जनाले ज्यान गुमाएका थिए । गाउँपालिका र कम्पनीबीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलीप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै रु एक लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिनुभयो । गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।
म्याग्दी: जिल्लाको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ । आर्थिक वर्ष २०७६/७७ मा मार्ग खुलेको रुमबाट खवाङ हुँदै ताराखोला जोड्ने १३ किलोमिटर सडकमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेका थिएनन् । मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले पाँच वर्षअघि मार्ग खुलेको सडक मर्मत गरेर जिप, मोटरसाइकल र ट्रयाक्टर सञ्चालन गरेपछि रुम, निस्कोट, डाडागाउँ र ताराखोलाका एक हजार बढी घरपरिवार लाभान्वित भएका बताउनुभयो । “यसअघि मार्ग मात्र खोलिएको सडकमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “यसपालि वडाको बजेटबाट सडक सरसफाइ गरेर यातायात सेवा सुरु गरेका छौँ ।” रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो । रुमबाट ताराखोला पुग्न चार घण्टा पैदलयात्रा गर्नुपर्नेमा गाडी चल्न थालेपछि एक घण्टामै पुग्न सकिने भएको छ । रुमबाट ताराखोला हुँदै बागलुङको गलकोटमा मध्यपहाडी राजमार्गसँग जोडिने सडकलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । यो सडक भएर म्याग्दीको मालिका, धवलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई बागलुङ हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जान आउन नजिक पर्छ । म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गलकोटबाट ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीबाट करिमेला खण्डको चार किलोमिटर स्तरोन्नतिको सुरु भएको र रुमबाट ताराखोलातर्फ स्तरोन्नतिका लागि यस वर्ष बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताउनुभयो । ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ । प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि समेत रहेका जुग्जालीले चालु आर्थिक वर्षमा रु. ३० लाख बजेट बिनियोजन भएको रुम–ताराखोला सडक योजनाका लागि थप रु। ३० लाख बजेट व्यवस्था गरेर रु. तीन करोड बराबरको बहुबर्षीय ठेक्का आव्हानका लागि प्रदेश सरकारलाई सिफारिस गरिएको बताउनुभयो । यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट अदिभारा–ताक्से–बिलबाङ हुँदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रूपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि दुई वर्षदेखि यातायात बन्द गरेर स्तरोन्नतिको काम थालिएको थियो । वडाध्यक्ष बुढाथोकीका अनुसार सङ्घीय सरकार र मालिका गाउँपालिकाको ५०/५० प्रतिशत साझेदारीमा आव २०७९/८० मा रु दुई करोड ४० लाख, २०८०/८१ मा एक करोड ६० लाख र चालु आव २०८१/८२ मा विनियोजन भएको रु चार करोड बजेटबाट ठेक्कामार्फत टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउन योजना सञ्चालन भएको छ । अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुँदै रुम जोड्ने घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमै रुम पुग्न सकिने वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । बस सञ्चालन गर्न मिल्ने गरेर सडक स्तरोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । भयावह आत्महत्या मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ । साइबर अपराध मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०÷८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९÷८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।
लेखनाथ: जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रद्वारा आयोजित सो कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायको स्वास्थ्य विभाग, स्वास्थ्य केन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्नुहँुँदै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख सहसचिव डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मनाङमा वार्षिक रूपमा ३० हजार विदेशी र दुई लाखको सङ्ख्यामा स्वदेशी पर्यटक पुग्ने गर्छन्, तर जिल्लामा एउटा पनि एम्बुलेन्स छैन, विपद्मा परेका स्थानीय र पर्यटकको उद्धार कसरी गर्ने ? मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यको प्रश्न गर्नुभयो । प्रतिकार्यसम्बन्धी समीक्षा कार्यक्रममा मनाङका प्रजिअ आचार्यले यस्तो दुःख पोख्नुभएको हो । “मनाङका निजी जिप भाडामा लिएर विपद्मा परेकाको उद्धार गरी स्वास्थ्य केन्द्रमा पुर्याउनुपर्ने र कतिपय ठाउँमा त हेलिकप्टर नै मगाउनुपर्ने बाध्यता छ”, प्रजिअ आचार्यले भन्नुभयो “ स्वास्थ्य मन्त्रालयले जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो ।” दुर्गममा मात्र होइन, सुगम जिल्लामा पनि विपद्मा समस्या आउने गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले गत वर्ष माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भयो, तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ती सबै शव अट्नसक्ने क्षेमताको शवगृह थिएन । अस्पतालमा ३० जनाको शवमात्र चिसोमा राख्न सक्ने क्षमता थियो, जाडोको मौसम भएका कारण ७२ वटै शव एकै ठाउँमा खादेर राख्नुपर्ने अवस्था भयो, त्यसैको पाठ सिक्दै अहिले ७२ जनाको शव राख्न सक्ने गरी शवगृह निर्माण भइरहेको जानकारी डा खत्रीले दिनुभयो । “विपद्को अवस्थामा निजी अस्पतालको सहयोग पनि त्यत्तिकै आवश्यक छ”, डा खत्रीले भन्नुभयो, “विपद्मा घाइते भएका व्यक्तिलाई उपचारका लागि अन्य अस्पतालमा पठाउन सकिन्छ तर धेरै सङ्ख्यामा मृत्यु हुँदा अन्य अस्पतालमा पनि राख्न मान्दैनन् ।” कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विपद् निजी अस्पतालले पनि बिरामीको उपचार गर्नुपर्ने बताउँदै ती अस्पताल दर्ता हुँदा १० प्रतिशत बिरामी निःशुल्क उपचार गर्ने शर्तमा नै अस्पताल सञ्चालन गर्ने गरेको बताउनुभयो । विपद्मा प्रमुख जिल्ला अधिकारी, अस्पताल, सुरक्षा निकाय र रेडक्रसलगायत यस क्षेत्रमा काम गर्नेको सहकार्यमा विपद्मा परेकालाई छिटो छरितो उद्धार गर्नुपर्नेमा उहाँको जोड छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले विपद्मा परेका व्यक्तिलाई बढी क्षति हुन नदिई जतिसक्दो चाँडो उद्धार गरी स्वास्थ्य केन्द्रसम्म पुर्याउनका लागि व्यवस्थापन गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।
काठमाडौं: हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख छ । साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लमजुङ: हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् । “पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ । “सेल रोटी पेटभरि खाउँ है ! रैथाने चामलले बनाएको । केही हानि गर्दैन ।” सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नुभएको थियो । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो । उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भन्नुभयो, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।” सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो । लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिनुभएको थियो । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् । “लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्”, मन्त्री गुरुङले भन्नुभयो, “घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पु¥याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ ।” मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताउनुभयो । सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाउनुभयो । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् । घरबासका अध्यक्ष हेमबहादुरले भन्नुभयो, “यो वर्ष हिउँ हराउँदै गएर टुप्पामा मात्रै थोरै देखिन थालेको छ ।” बाल्यकालमा माथिसम्म हिउँ देखिने गरेको सम्झदै उहाँले अब ती सबै दृश्य लोप हुने चिन्ता मनमा गढेको बताउनुभयो । हेमबहादुरका अनुसार नरुवाल घरबासबाट अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु, गणेशलगायत पाँच वटा हिमालका दृश्य नियाल्न सकिन्छ । “अहिले जलवायु परिवर्तनको असरले बाक्लो हिमाल पग्लिँदै कालापत्थरमा परिवर्तन हुन थालेको छ । यसले गर्दा घरबास सञ्चालकमा त्यसको प्रत्यक्ष असरमा भोग्नुपर्ने चुनौती थपिएको छ”, उहाँले भन्नुभयो । नरुवाल मगर घरबास यहाँका स्थानीय महिलाले धानेका छन् । घरबास सञ्चालक फूलमाया राना, सुनिता राना, सविना राना, पार्वती राना, मिना राना, दिलमाया राना, राममाया आले, सङ्गीता आलेलगायत महिलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउँदै आएका छन् । फूलमाया उमेरले पाकी हुनुहुन्छ । उहाँले घरबासमा पाहुनाको सत्कार गर्दा परम्परागत संस्कार र संस्कृतिमा जोड दिन रुचाउनुहुन्छ । बारीमा फल्ने कोदो, मकै, चामल, यिनै परिकारले बनेका मगरका परम्परागत खानपान पस्किन उहाँ निकै सिपालु हुनुहुन्छ । मिना रानाको घरबासमा आउने पाहुना प्रायः लोकल कुखुरा र ढिँडो खाने हुन्छ । बेँसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर रानाका अनुसार वडामा मगर समुदायको अर्गानिक खानपान र कलासंस्कृति मुख्य आकर्षण हो । “लमजुङमा केही पर्यटकीय स्थान छन् । यहाँ ऐतिहासिक पाथीभरा मन्दिर छ । ढुङ्गैढुङ्गाको परम्परागत ढुङ्गे डाँडो छ । ऐतिहासिक ढुङ्गे धाराहरू छन् । एक किलोमिटरजति लामो चिप्लेटे ढुङ्गाले बनेको परम्परागत चिप्लेटे खोला पनि पर्यटकलाई हेर्न आकर्षित गर्छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष रानाका अनुसार लोप हुँदै गएको मगर समुदायको भेजा प्रथा यहाँ अझै पनि संरक्षित छ । साथै मगर समुदायको कौटा, झाम्रे नाच र वेषभूषा मुख्य आकर्षण रहेका उहाँले जानकारी दिनुभयो ।