म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

पोखरा:   पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।    पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

काठमाडौं:    आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निरधारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो । नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो । थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् । नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् ।

पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ ।  निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।  ‘ पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित रवि तिमिल्सिनाले २ तले घरमा सञ्चालन गरेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको हो’, प्रनाउ बस्नेतले भने, ‘आगलागी भएको सूचनापछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लियौ, प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको छ, आगलागीबाट केकति क्षति भयो मुजुल्का गर्दै छौं ।’

काठमाडौं:   विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ ।  विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । “सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भन्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ(आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कास्की:  निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, ‘हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।’ हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए । पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ ।  मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन  पोखरा आवतजावत गर्ने गर्छन् । 

सुनसरी:   बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ । बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।      पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।      यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।      कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो ।      सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो ।      ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो । 

काठमाडौं:  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन– १०८१’ पेस गर्ने छन् । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

काठमाडौं:   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।