काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

काठमाडौं:  सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ ।  सिंहदरबरस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाको कार्यकक्षमा आज सत्ता साझेदार दलका प्रमुख सचेतकको बैठकले ‘विद्यालय शिक्षासम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ र ‘सङ्घीय निजामति गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउन पहल गर्ने निर्णय गरेको हो ।            मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “हामी छ वटै अध्यादेश संसद्मा प्रस्तुत गर्ने पक्षमा छौँ, अध्यादेश निर्णयार्थ प्रस्तुत हँुदा सहज ढङ्गले पारित हुन्छ, पारित अध्यादेशको आधारमा प्रतिस्थापन विधेयक ल्याउँछौँ, अध्यादशमा केही कुरा मिलेको छैन भने प्रतिस्थापन विधेयकमार्फत मिलाउने काम हुन्छ ।”  संसद्मा विचाराधीन रहेका कतिपय विधेयकलाई अगाडि बढाउने र संसद्मा टेबुल भएका अध्यादेशलाई अगाडि बढाउनेबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो ।       हालै सरकारले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेको छ ।  

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।  गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं:  कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा  घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।      आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले राससलाई जानकारी दिनुभयो ।       उहाँले भन्नुभयो, “आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।” यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ । 

बागलुङ:   काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ ।   घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।   काठेखोला गाउँपालिका–४ तंग्राममा ३ दिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् ।   गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए ।   नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ । गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उनले बताए ।   ‘अहिले धेरै जनाको रोजाइ सहरबजार छ, गाउँमा धेरै सम्भावना रहे पनि सीप नहुँदा धेरै नागरिकलाई आयआर्जनसँग जोड्न सकेका छैनौँ, काठेखोलाले अहिले पालिकाभर के–केको सम्भावना छ,’ अध्यक्ष थापाले भने, ‘खोजी गर्ने र त्यसमा आमजनतालाई दक्ष गराउने तथा उत्पादनमा लाग्ने योजना बनाएर अगाडि बढेका छौँ, अहिले मौरीपालनका लागि केही थान घार र मौरी पाल्ने तालिम दियौँ ।’   पालिकाको गत वर्ष विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने र चप्पल बनाउने तालिम दिएको थियो ।   यस वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत महिलाको सीप विकासका लागि वडा नं १ र ६ मा मादल बजाउने र हार्मोनियम बजाउनेसम्बन्धी तालिम दिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिए ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका- ७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।   कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।   “बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उनले भने “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।”   दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए ।   भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत माघ महिनाको अन्तिम साता समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर फर्किएको थियो ।   पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुङ्गे पुल बनाउन सकेमा सुगुरथलादेखि छ घण्टा पैदलयात्रा गरेर आधार शिविरमा पुग्न सकिने गर्बुजाले बताए । टोलीले पदमार्ग, पुल बनाउन र संकेत चिन्हहरू राख्न वडाका जनप्रतिनिधीहरुलाई सुझाव दिएको छ ।   धौलागिरि हिमालको फेदमा पुगेर चुचुरो सम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो ।   सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिन्छ । यो पदमार्ग भएर स्थानीयबासीहरु वैशाख–जेठ महिनामा यार्सागुम्बा संकलनका लागि धौलागिरि आधार शिविर क्षेत्रमा जान्छन् ।   पर्यटन मन्त्रालयको रु। एक करोड ५४ लाखको लागतमा ससलधारा देखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माण योजना आर्थिक वर्ष २०७९/०८० मा शुरु भएर २०८०/०८१ मा सकिएको थियो ।   उक्त योजना सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन नसकेको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकप्रसाद पाइजा(रिम)ले बताए ।   “जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग नबनेपछि हामीले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ,” उनले भने “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन् ।”   वडा अध्यक्ष पाइजाका अनुसार यो वर्ष कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु.२० लाख र नेपाल पर्यटन बोर्डले रु। पाँच लाख बजेट बिनियोजन गरेको छ ।   बेनी–जोमसोम सडक निर्माण भएपछि तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा वि.स. २०६८ मा गलेश्वर देखि मुस्ताङको लेते निस्कने धौलागिरि आइसफल पदमार्गको अध्ययन र पहिचान भएको थियो ।   म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते पुग्ने एक सय २२ किलोमिटर दुरीको धौलागिरि आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)गरेर पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारमा पेश गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।   आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य छन् ।   पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने चिमखोलाका अगुवा गम पुनले बताए ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा छनौट गरेको छ । पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रूपमा अझै सञ्चालनमा आउन सकेको छैन ।   ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ ।

पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।   पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका गर्दै १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् ।   सामुदायिक घरवासमा ती घर परिवारका सदस्य आबद्ध रहेको घरवास सञ्चालक समिति अध्यक्ष देउकुमारी सारूले जानकारी दिए ।   उनका अनुसार यहाँ आउने पर्यटकलाई प्रतिव्यक्ति रु एक हजारको प्याकेजको व्यवस्था मिलाइएको छ ।   स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ ।   स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिँडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटी लगायका परिकारको स्वाद लिन पाइनेछ ।   पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय कला संस्कृति पर्यटकलाई देखाइनेछ ।   यस क्षेत्रमा ९० बढी मगर समुदायको बसोबास रहेको छ । घरवास सञ्चालनका लागि गाउँपालिकाले स्थानीयलाई तालिम दिएपछि यहाँ औपचारिक रुपमा घरवास थालनी गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।   घरवास सञ्चालनमा आएपछि स्थानीयलाई रोजगार सिर्जना, धेरै पर्यटक भित्रिने र यहाँको कला संस्कृतिको जगेर्ना गर्न ठूलो टेवा पुग्नुका साथै स्थानीयको आयआर्जन उकासिने अध्यक्ष भण्डारीले बताए ।   समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको छ ।   रानीबास गाउँको बीचमा रहेको चुर्की थानबाट उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ झामे्र नाच, मारुनी नाचका साथै सालैजो लगायतका कला संस्कृति छन् ।   यहाँ विगत ३ वर्ष देखि निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालयको निर्माण गरी मगर समुदायको भेषभूषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचीन सामान राखिएका छन् ।

ताप्लेजुङ:  गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।   पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।   ३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।   पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।   यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।

पोखरा:  मुस्ताङ युथ फेमेलीले आयोजना गरेको पहिलो संस्करणको ‘मुस्ताङ कप भिमप्रसाद गौचन स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधि पूर्वेली एफसीले जितेको छ ।    पोखरा महानगरपालिका ११ स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा जिसिबिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो ।   उपाधिसँगै पूर्वेलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको जिसिबिएसले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट जिसिबिएसका वाङ्गेल गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै पूर्वेलीका सन्देश राई सर्वाधिक गोलकर्ता (५ गोल), तथा सोही टिमकै सुवास गुरुङ उत्कृष्ट गोलरक्षक बने ।    प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोह तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथिसमेत रहेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, स्व. भिमप्रसाद गौचनका परिवार, जिल्ला खेलकुद विकास मुस्ताङका उपाध्यक्ष असिम शेरचन, कार्यक्रम संयोजक टासी गुरुङ, प्रायोजकहरु लगायतले पुरस्कार वितरण गरे ।    सो अवसरमा बोल्दै प्रदेश सांसद शेरचनले उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।    उनले आगामी वर्षमा हुने दोस्रो संस्करणको प्रतियोगितालाई भव्य बनाउनका लागि आफ्नो तर्फबाटपनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।    उनले प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरे ।     ‘यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने एउटा माहौल भएको छ, उनले भने, ‘त्यसैले यो प्रतियोगिता आगामी वर्षपनि परिस्कृत गर्दै आयोजना गर्न आवश्यक छ । त्यसका लागि म मेरो तर्फबाट पनि सहयोग गर्न तयार छु ।’  

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औं संस्करणको सफल पोखरा म्यारथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बन्दै नयाँ रेकर्ड बनाएका छन् ।   यसअघि सोही देशकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दुरी पार गरेका थिए ।   उनको गत वर्षको रेकर्डलाई तोड्दै विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।    यस्तै साविक विजेता जुलियस मुरियाली वाहोमले निर्धारित दुरी २ घन्टा १७ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे ।    अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गर्दै तृतीय बने । उनीहरुले क्रमश: ५ लाख, ३ लाख र २ लाख नगद प्राप्त गरे ।   नेपाली धावक किरण सिंह बोगोटी भने चौथो बने ।   नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौं, दिनेश सिंह बोगोटी सातौं र केन्याली धावक माइकल माथिया आठौं बने ।   उनीहरुले जनही क्रमश: नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।   गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे ।   उनीहरुले पनि क्रमश: जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।   पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरो पहिलो, नेपाली धावक सन्तोष विक्रम दोस्रो, गजेन्द्र राई तेस्रो बने ।   उनीहरुले क्रमश: जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार प्राप्त गरे ।   यस्तै महिलातर्फ २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ पहिलो, केन्याली स्वारोन जोनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो बनिन् ।   उनीहरुले क्रमश: जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार प्राप्त गरिन् ।