काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिए । यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताए । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गरेका थिए ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो । अहिले महिलातर्फ नै त्रिभुवन आर्मी क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले १÷१ सेट आफ्नो पक्षमा पारेका छन् । आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १६ पेप्सीकोला बस्ने सुनसरी इनरुवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौं महानगरपालिका– २६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पोखरा: पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन हुने भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अव ठुलो भ्रष्टचारको छानविन हुने भएको हो । समितिको हिजोको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिए । यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।
चितवन: चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिनुभयो ।
धनगढी: महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ । गोदावरी नगरपालीका-१ चैतनेपुरस्थित सडकमै बेवारिसे अवस्थामा एकजना आमाले बच्चा पाउँदै गरेको बेला सहयोग र उद्धार गरेकी देउवालालाई सम्मान गरिएको हो । गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी ती २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरेर शिशुको पनि ज्यान बचाएएपछि देउवालाई सम्मान गरिएको हो । बाध्यात्मक अवस्थामा सडकै बच्चा पाइरहेकी आमालाई सहयोग गरेर देउवाले प्रशंसा पाएकी छन् । अहिले आमा र बच्चा पद्मा अस्पताल अत्तरियामा छन् । ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी हतार हतार गयौँ, कसैले छुन मानेनन् । मैले उनको पीडा सहन नसकेर बर्दीमै रहेको बेला पनि सघाएकी हुँ ।’ त्यसपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको उनले बताइन् । ‘तर उहाँहरू आउन समय लाग्ने भयो । स्वास्थ्यकर्मी आउँदासम्म आमाले बाटोमा बच्चा जन्माइन्’, उनले भनिन्, ‘ती महिलाको पीडा देखेर सुडेनीको काम आफैँले अघि सरेर गरेँ ।’ चन्द्रिका इलाका प्रहरी कार्यलय मालाखेतीअन्तर्गत अस्थायी प्रहरी पोष्ट खैराना प्रहरी बिटमा कार्यरत छिन् । ती सुत्केरी आमाको मानसिक स्वास्थ्यमा समस्या हुँदा बेवारिस अवस्थामा रहेको खुलेको छ । बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो । सुत्केरी भएको ठाउँमा पुगेको पद्मा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोली पुगेको थियो । महिलाको साल अड्किएर अवस्था जटिल भएपछि अस्पताल लगेर उपचार गरिएको छ।
रुकुमपूर्व: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् । प्रचण्ड नेतृत्वको जनतासँग माओवादी(मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अहिले रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ । प्रचण्डले घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनः स्थापनाको माग गरेका थिए । त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए । सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको, र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुन मै व्यवस्था गरिएको जानकारी दिए । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन दुई वटा समिति गठन भइसकेको जानकारी दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोही अनुसार ती समितिले काम गर्ने उनले बताए । सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरिब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए । उनले आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रस्ट पारे । पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । साथै, बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए । पार्टीले आत्मसमिक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरू सँग भेट्दै पिर मर्का बुझ्दै र सके सम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबार सुनुुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डा। सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न नसकेको जानकारी दिनुभयो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रूपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदन बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार हेर्न नमिल्ने सूचीमा परेको थियो ।

