जुम्ला: जुम्लाको तिला गाउँपालिका–४ भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए । शुक्रबार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाने क्रममा उक्त अटो सडकदेखि ६० मिटर तल खसेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार महत्तोले बताए । दुर्घटनाबाट गम्भीर घाइते भएका चालक कुँवरको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्केसितापाइला तथा टोखाछहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–११ को जित निकाल्यो । प्रतियोगितामा दोस्रो खेल दुई विभागीय नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज पुरुषतर्फ चार खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ । बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।
काठमाडौं: लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्। सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ। दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे । ‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।
काठमाडौं: नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ । महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो । साेही अवसरमा सुनचाँदी तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे । मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।
पाेखरा: ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो । कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो । उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो । यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।

