काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशभर सार्वजनिक शिक्षाका अवसर, चुनौती तथा आवश्यक रणनीतिबारे गहन छलफल गरिएको जानकारी दिए । “शिक्षा कुनै एक संस्था वा निकायको मात्र दायित्व होइन, यो सरकार, सरोकारवाला निकाय, शिक्षाविद्, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको साझा प्रयासको परिणाम हो। सार्वजनिक शिक्षालाई सुदृढ गर्न यस्ता बहस र विचार–विमर्श अत्यन्त आवश्यक छन्”, उनले भने ।   गुणस्तरीय शिक्षाका लागि गण्डकी प्रदेश सरकारले प्रभावकारी नीति तथा कार्यक्रममार्फत सुधार ल्याउने योजना अघि बढाइरहेको उनले उल्लेख गरे । “सबै बालबालिकाले समान अवसरसहित शिक्षाको पहुँच प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हाम्रो प्रमुख लक्ष्य हो”, उनले थपे। मन्त्री थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरकार, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।  उनले यस्ता सम्मेलनहरूले नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सम्मेलन सफल बनाउन भूमिका खेलेका सम्पूर्ण सहभागी, आयोजक संस्था तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।  

गोरखा:  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाउनुभएको छ । गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आज गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाउनुभयो ।   अध्यक्ष दाहालले सहिदहरुको बलिदानका कारण नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताउनुभयो । परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उहाँले उल्लेख गर्नुभयो ।   अध्यक्ष दाहालले १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा एकै घरबाट तीन जनाले ज्यान गुमाएका गोरखा नगरपालिका–१४ गोप्लिङस्थित सहिद गुप्तबहादुर नहर्की, सरस्वती नहर्की र कल्पना नहर्कीको परिवारसँग भेट गर्नुभएको हो ।  आजै उहाँले पालुङ्टार–८, स्थित जनयुद्धका क्रममा ज्यान गुमाउनु भएका सहिद वीरेन ओलियाको परिवारसँग पनि भेटघाट गरी सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुभयो ।  अध्यक्ष दाहाल गोरखा नगरपालिका–१०, स्थित मिरकोटमा सुरु हुन लागेको मिरकोटगढी महोत्सवको उद्घाटन गर्न आज गोरखा आइपुग्नु भएको हो ।

काठमाडौं:  हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।       हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

पोखरा:  प्रधानमन्त्री केपी शर्मा ओलीले  ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा  दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।            कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो ।  “इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,” कुलपति ओलीले भन्नुभयो, “तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस् ।”        उहाँले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौँ भन्नुभयो ।  “हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग उर्वर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।”        समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो । साथै उहाँले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गर्नुभयो ।

धरान: नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।”  उहाँले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताउनुभयो । उहाँले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताउनुभयो ।     लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।       ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उहाँले स्थानीयवासीको मागलाई सम्बोधन गरेर केबुलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं:  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी छुट्टै ऐन सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभएको छ ।        बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा बेलायत सरकारको सहयोगमा सञ्चालन गर्दै आएको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा उहाँले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्थालाई प्राथमिकतामा राखेको बताउनुभएको हो ।       उर्जामन्त्री खड्काले नवीकरणीय ऊर्जा परियोजनामा निजी क्षेत्रको लगानी वृद्धि गर्ने, सबैमा ऊर्जाको पहुँच पु¥याउन सहयोग गर्न कार्यक्रमले सहयोग पुगेको उल्लेख गर्नुभयो ।  उहाँले ऊर्जा प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग, दिगो ऊर्जा ‘च्यालेञ्ज फण्ड’ मार्फत वितरित नवीकरणीय ऊर्जा परियोजनाहरुको वित्तीय सम्भाव्यता र दिगो सञ्चालनको लागि वित्तीय र प्राविधिक सहायता प्रदान लगायतका कार्यमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।       मन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना तथा लक्ष्यहरु मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिंदै आएको उल्लेख गर्र्नुभयो ।        मन्त्रीपरिषद्बाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ मा नेपालले अघि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काले बनताउनुभयो ।        उहाँले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्दै विद्युत खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पु¥याउने लक्ष्य सहित स्वीकृत मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पु¥याउने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।       पेरिस सम्झौताअनुसार सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा झार्ने प्रतिवद्धतालाई पुरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने मन्त्री खड्काको भनाई थियो । उहाँले नेपाल सरकारको स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी लक्ष्य हासिल गर्न आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।       मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकाले उक्त विद्येयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रुप दिने कार्यमा आफ्नो उच्च प्राथमिकता रहेको बताउनुभयो ।  विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणको क्षेत्रहरूमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई नयाँ संगठनमा रूपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिकालाई सुनिश्चित गर्न सहयोग पुग्ने उहाँको भनाई थियो ।      उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पुरा गर्न यस्ता दातृ निकायको महत्वपूर्ण साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।  नेपालका लागि बेलायतका राजदूत रब फेनले कार्वन उत्सर्जनलाई शून्यमा झार्ने अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई पुरा गर्न नवीकरणीय उर्जा क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।       बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, कार्यक्रम संयोजक सुमन बस्नेत, नविकरणीय उर्जा परिसङ्घका अध्यक्ष कुशल गुरुङलगायतले नेपालको नविकरणीय उर्जाको क्षेत्रमा उक्त कार्यक्रमार्फत भएको विकासप्रति बेलायत सरकार र बेलायती जनतालाई धन्यवाद दिनुभएको थियो ।       विस २०७५ माघदेखि कार्यान्वयन भई सञ्चालन आएको उक्त कार्यक्रम आगामी चैत १८ गते सम्पन्न हुँदैछ । उक्त कार्यक्रमले विद्युत नभएका घरमा विद्युतीकरण, लघु जलविद्युत निर्माण, विद्युतीय चुल्होको विस्तार, सौर्य उर्जाको विकास, विद्युतीय सिंचाईलगायतको क्षेत्रमा काम गरेको केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी:   पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् ।  पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराउनुभएको हो ।       सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् ।  पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ । 

तनहुँ:  मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ ।      पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो ।  त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्र गरिएको हो । आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण)को कालोपत्र भएको छ । सोमा १५ दशमलव छ चारलेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।      पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उहाँले बताउनुभयो ।       “दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।”  पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।      विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

म्याग्दी:  पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ ।      गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो ।  गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन् ।      स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकरी दिनुभयो ।  सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताउनुभयो ।