मुस्ताङ कारागार: एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
मुस्ताङ | भदौ १८, २०८२

मुस्ताङ: जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् ।
आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको कारागार भवन ढुङ्गा र माटोले बनेको छ । भवनको छत यहाँको सक्खर माटो बिच्छ्याएको छ । एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले त्यहाँका सुरक्षाकर्मीलाई निकै समस्या पर्ने गरेको पाइएको छ ।
विसं २०३७ मा स्थापना भएको मुस्ताङ कारागार भवनको आवश्यक भौतिक संरचना निर्माण नहुँदा त्यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले सास्ती भोग्न बाध्य छन् ।
हाल कारगार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाइएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होइन त्यहाँका प्रशासनिक कर्मचारीसमेत बस्ने गरेका छन् ।
धेरै पहिला बनेको ढुङ्गा र माटोले निर्मित कारागारको जीर्ण भवन स्तरोन्नति नहुँदा कैदीबन्दी, सुरक्षाकर्मी र त्यहाँका काम गर्ने कर्मचारीलाई समस्या पर्ने गरेको छ । पछिल्लो समय मुस्ताङमा समेत वर्षा हुने क्रम बढेकाले त्यहाँको कारागार भवन पछिल्लो समय असुरक्षित महसुस गरिएको बताइएको छ ।
कारागारमा आठ कर्मचारीको दरबन्दी छ । यहाँ एक जना कारागार प्रशासक, एक जना सहलेखापाल, एक स्वास्थ्यकर्मी, एक खरिदार, एक जना सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी छ ।
यहाँका कुल दरबन्दीमध्ये कारागार प्रशासक, स्वास्थ्यकर्मी, खरिदार र एक कार्यालय सहयोगीको पद रिक्त छ । यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भइसकेकाले सो पद पनि रिक्त हुँदैछ । यहाँको कारागारमा कारागार व्यवस्थापन विभागले दरबन्दीअनुसार प्रशासनिक कर्मचारी पदपूर्ति गर्न नसक्दा कारागार व्यवस्थापनमा समस्या भइरहेको छ ।
यसैगरी कारागारमा एक प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ सुरक्षाकर्मी खटाइएको छ । यहाँको कारागारमा कुल कैदीबन्दीको क्षमता १५ जनाको रहेको छ । हाल यस कारागारमा २२ वर्षदेखि ६८ वर्ष उमेर समूहका १२ कैदीबन्दी रहेको कारागारका निमित्त प्रशासक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
कारागार निमित्त प्रमुख तिमिल्सिनाका अनुसार कारागारमा सुरक्षाकर्मीको बेग्लै आवास भवन नरहेको, कारागारमा चाहिने सवारी साधन नभएको, खानेपानीको समस्या रहेको, कारागारको पर्खाल मजबुत नभएको, कारागारमा पानी चुहिने समस्या रहेको र कैदीबन्दीलाई स्वास्थ्योपचार तथा अदालतमा म्याद थप गर्न लैजाँदा समस्या पर्ने गरेको छ ।
काठमाडौं: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा नेपाली भाषामा राख्न भाषा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सरकारले भाषाको प्रयोग गर्दा भाषा आयोगको सिफारिस...
मुस्ताङ: जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा क...
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु। दुई लाख सात हजार ९०० ...