काठमाडौं: सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गर्नुभयो । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।
काठमाडौं: भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भन्नुभयो, “सीमा सडक सङ्गठन ९बीआरओ० शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।” प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताउनुभयो । “मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,” प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग बताउनुभयो । यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,” बीआरओका कार्यकारी इञ्जिनियरले भन्नुभयो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो। आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।” बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो ।
सप्तरी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताउनुभएको छ । जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उहाँले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गर्नुभयो । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उहाँको आरोप थियो । “हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“ विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।” उहाँले मधेशको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताउनुभयो । एमाले पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको उहाँको जिकिर थियो । “विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताउनुभयो । “मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधानका लागि काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ”, महासचिव पोखरेलको भनाइ थियो, “लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।” उहाँले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताउनुभयो । “गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौँ”, महासचिव पोखरेलले भन्नुभयो । कार्यक्रममा पेसागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले मुलुकमा अस्थिरताबाट अगाडि बढाउनुको विकल्प नभएको बताउनुभयो ।
काठमाडौं: प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।
काठमाडौं: अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गर्नुभयो । एन्जिला व्यवसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् । यहि फागुन १४ गते भएको अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताउनुुभयो । “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।” प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताउनुुभयो । एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।
ढोरपाटन: आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँले बताउनुभयो । “बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो ।
गोरखा: बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो । “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भन्नुभयो ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छौं ।” अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।