पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

काठमाडाैं | फागुन १३, २०८१

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

पोखरा:  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् । 


नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । 


मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो । 


बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । 


क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए । 


२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए । 


स्ववियु गराउनुपर्छ भन्ने दबाब दिन र विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउन नमुना मतदान कार्यक्रम गरिएको संयोजक दुवाडीले बताए । 


‘कति विद्यार्थीलाई स्ववियु के हो भन्ने थाहा नहुन सक्छ, यसमा भाग किन लिने भन्ने थाहा हुँदैन । त्यही बुझाउन हामीले नमुना मतदान गरेका हौं,’ उनले भने । 


त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । 


स्ववियु विद्यार्थीको हकहितका लागि बोल्ने साझा संस्था भएको र यसको निर्वाचनमा कसैले पनि अवरोध गर्न नहुने संयोजक दुवाडीले बताए । कति विद्यार्थीले स्ववियु निर्वाचन गराउन दबाब दिन हस्ताक्षर अभियान चलाउन सुझाव पनि दिएको संयोजक दुवाडीले सुनाए ।  


नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए । 


महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । 


उनले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताए । सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए ।  


अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेलले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाए । 


उनले स्ववियु निर्वाचन हुन नदिने गतिविधिमा संलग्न नहुन अन्य विद्यार्थी संगठन र क्याम्पसलाई आग्रह गरे । 


‘१६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कति प्रशासनिक काममा समस्या देखिएको छ । क्याम्पसको गरिमा घटेको छ । विद्यार्थी अभिभावकविहीन हुन परेको छ,’ उनले भने, ‘योपटक निर्वाचन गरिनुपर्छ भन्नेमा सबै सकारात्मक छौं ।’


स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । 


दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार ५ सय मतदाता रहने अनुमान छ । मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ । 


पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू नेपाली राजनीतिमा स्थापित भएको विगत छ । त्यसैले पनि यो क्याम्पसमा स्ववियु सभापति हुन निकै प्रतिस्पर्धा हुने गरेको छ । 


पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसकेका छन् । पर्वतका पदम गिरी संघ सरकारको मन्त्री भए । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भए । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर छन् । 

काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।  गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संय...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट  उज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ ।      जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्ष...

थप पढ्नुहोस्