सम्झौताको पाँच वर्षपछि कुश्मिसेरा-राङ्खानी सडकले लियो गति

बाग्लुङ | चैत ३, २०८१

सम्झौताको पाँच वर्षपछि कुश्मिसेरा-राङ्खानी सडकले लियो गति

गलकोट:   ठेक्का सम्झौता भएको पाँच वर्षपछि कुश्मिसेरा–राङ्खानी सडक स्तरोन्नतिले गति लिएको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरेको बागलुङको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्षपछि मात्रै कालोपत्र हुने आश पलाएको छ । 


निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र बनेको सडक स्थानीयको आन्दोलन र पूर्वाधार कार्यालय घेराउपछि काम सुरु भएको हो । 


पछिल्लो ठेक्का खोलिएको राङ्खानीबाट बरेङ जाने सडक कालोपत्र भइसक्दा पनि २०७६ सालमा काम सुरु गरेको १० किमी खण्ड सम्पन्न नभएको भन्दै स्थानीयले गत पुसमा पूर्वाधार कार्यालय घेराबन्दी गरेका थिए । स्थानीयको आन्दोलनपछि निर्माण व्यवसायी काममा फर्केर सडक स्तरोन्नतिको काम थालेको छ ।


एक वर्षदेखि सम्पर्कमा नआएको ठेकेदार स्थानीयको आन्दोलन र प्रशासनको दवाबपछि काममा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले बताउनुभयो । 


घिमिरेले निर्माण व्यवसायीलाई एक वर्षमा सातवटा पत्र पठाएको बताउनुभयो । घिमिरेका अनुसार चैतसम्म सडक कालोपत्रका लागि म्याद रहेको र सोही समयभित्र काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको छ ।


पाँच वर्षमा ५७ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रका लागि ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको छ । कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि पाँच वर्षमा पूर्वाधारमा समेत क्षति भएर मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । 


“रु २४ करोड ५८ लाखमा दुई वर्षमा सक्नेगरी २०७६ असोजमा शर्मा÷क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो, अहिले तेस्रोपटकलाई म्याद थप भएको छ, स्थानीयको आन्दोलनपछि अहिले काममा ठेकेदार फर्केको छ”, घिमिरेले भन्नुभयो, “कोरोना त्रास र मूल्यवृद्धि भनेर निर्माण व्यवसायीले सडक निर्माणमा ढिलाइ गर्दै आएको थियो, यही गतिमा काम भए चैतसम्म प्रगति अन्तिम चरणमा पुर्याउने आश छ ।” 


स्थानीयको घर भाडा नतिरेको, श्रमिकले लगेको खाद्यान्नको रकमसमेत भुक्तानी नगरेको र नागरिकलाई धुलाम्मे सडकले सास्ती खेपेपछि स्थानीय भीम श्रीसको नेतृत्वमा पुसमा पूर्वाधार कार्यालय  घेराउ गरिएको थियो । 


जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकको उपल्लो क्षेत्र कालोपत्र भए पनि तल्लो क्षेत्रमा कालोपत्रको काम बाँकी छ । निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐनको १३औँ संशोधनअनुसार तेस्रोपटक पूर्वाधार मन्त्रालयले नै म्याद थपेको प्रमुख घिमिरेले जानकारी दिनुभयो । अहिले धमाधम काम भइरहेको निर्माण व्यवसायी चन्द्र थकालीले जानकारी दिनुभयो । 

 
जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । पहिला ठेक्का लगाएको सडक बल्ल स्तरोन्नति हुँदा दोस्रो खण्ड भने कालोपत्र गरेर चिटिक्क बनिसकेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्