ललितपुर: समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताउनुभयो । उहाँले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताउनुभयो । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भन्नुभयो,“यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।” नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एकधारमा ल्याउने अभियान र छलफल चलिरहेको बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु ।’ उहाँले भन्नुभयो – ‘हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’ देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’ प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ । प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्नुभयो । निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थाले सुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।
मुस्ताङ: पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृष्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम सुरू भएसँगै अहिले दैनिक एक सयभन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् । भारतीय नाकाबन्दीपछि एकाएक निकै नै चर्चामा आएको कोरला नाका पुगेर फर्किनेको ताँतीनै लाग्ने गरेको छ । जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निक्कै नै उत्साहित भइरहेका छन् । भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरला नाकाले चर्चा जति बेला पायो, त्यसको कारण थियो उत्तररदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजना । तत्कालीन सरकारले उत्तरी नाकाहरूमा पनि व्यापारिक मार्ग खोल्नुपर्ने योजना बनाएपछि आर्थिक वर्ष २०७३र०७४ सालदेखि (बेनी–जोमसोम–कोरला) सडक स्तरोन्नति सुरूआत गरिएको थियो । दुई सय दुई किमी (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत करिब १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भइसकेकाले नेपाली पर्यटकलाई कोरला नाकासम्म पुग्न निकैनै सहज भइसकेको छ । जसका कारण नेपाली पर्यटक बस, जीप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्म पुग्न गरेका हुन् । बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडक एकदिनमै कोरला नाकासम्म पुग्न सक्छन् । सडक सहज भइसकेकाले नेपाली युवायुवतीको कोरला नाकामा लर्कोनै लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिनुभयो । कोरला नाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाइ छ । शुक्रबार कोरला नाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरला नाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औँल्याउनुभयो । “सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौँ, यति ठूलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाइएन”, क्षेत्रीले भन्नुभयो, “चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतिर खै कहिले बन्ने ? ।” स्याङ्जाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरला नाका पर्यटन र नेपाल–चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह सम्भावना रहेको कोरला नाकाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसरता देखाउन आवश्यकता रहेको औँल्याउनुभयो। राष्ट्रिय गौरवको कारला सडक स्तरोन्नतिसँगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटकको आगमनदर बर्सेनि वृद्धि भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कोरला क्रेजका कारण पर्यटक बढेसँगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटल थपिँदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गनुभयो । त्यसो त मुस्ताङमा बर्सेनि पाँच लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन् । जसमध्ये एक तिहाइको सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ९नेपाल–चीन० कोरला नाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरेको थियो । कोरलास्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरला नाका खुला गरेको हो । त्यसो त चीन पक्षले दीर्घकालीन रूपमा कोरला नाकालाई व्यापारिक ट्रान्जिट प्वाइट बनाउने उद्देश्यले चीनले आफ्नो भूमिमा दर्जनौँ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ । नाका खुले पनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको विषय बनेको छ । कोरला नाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा निकै समस्या हुने गरेको छ । यस्तै उपल्लो मुस्ताङका नागरिकलाई कोरला नाकामा व्यावसायिक सुविधाजनक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ व्यापार गरी बसेका स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आइरहेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका अवलोकनका लागि बर्सेनि स्वदेशी पर्यटकको लर्को लागेपनि विदेशी पर्यटक उपल्लो मुस्ताङ जान सक्दैन । सरकारले अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत रहेको उपल्लो मुस्ताङ जान पाँच सय डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमति पाउँछन् । यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको सख्या निकै नै न्यून रहेको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्याङ्कअनुसार बर्सेनि एक लाख ।भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिब तीन प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
सुनसरी: इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
पाल्पा: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उहाँले त्यो परिस्थितिको उपज भएको बताउनुभयो । देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उहाँले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भन्नुभयो । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताउनुभयो । फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गर्नुभयो । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उहाँको जोड थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उहाँले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताउनुभयो। “अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ”, शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको उहाँ निजी सचिवालयले जनाएको छ । साथ उहाँले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तनहुँ: च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।
काठमाडौं: चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ ।” निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको बताउनुभयो । चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताउनुभयो । “हामीले चलचित्र प्रदर्शनमा यी–यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन”, उहाँले भन्नुभयो । निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताउनुभयो । निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताउनुभयो । उहाँले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताउनुभयो । भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । विद्यार्थी सङ्गठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो । उपत्यकाका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको हो । “निर्वाचन प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा निर्वाचन गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “यसपटक हामी सबै आङ्गिक क्याम्पसमा निर्वाचन गर्ने तयारीमा छौँ ।” विसं २०७९ चैत ५ गते भएको निर्वाचनमा नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।