पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ ।   शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० ...

धनुषा:   होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो ।   अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।  आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो । 

काठमाडौं:    सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ ।        प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद् भएको बताउनुभएको हो । चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उहाँको भनाइ थियो ।       “बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ”, उहाँले भन्नुभयो । क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो ।      सांसद ज्ञानबहादुर शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्नुहुँदै अहिले संसद्मा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गर्नुभयो । जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो ।          “मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको ? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन ? । पैतृक सम्पत्तिमा लाभकर लिने यो कस्तो व्यवस्था हो ?”, सांसद शाहीले प्रश्न गर्नुभयो ।       सांसद प्रेमबहादुर आलेले सेती लोकमार्गको डोटी खण्डमा वन मन्त्रालयका कारण सडकको काम हुन नसकेको बताउनुभयो ।  वन मन्त्रालयको रवैयाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति कमजोर रहेको उहाँको दाबी थियो । गत मङ्सिर ६ गते मन्त्रिपरिषद्ले गरेको सेती लोकमार्गसम्बन्धी निर्णय कार्यान्वयन हुनुपर्ने सांसद आलेको माग थियो ।

काठमाडौं:    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाउनुभएको छ ।       बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राख्नुभएको छ । उहाँले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको बताउनुभयो ।             “पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय पत्रपत्रिकामा आएको छ”, उहाँले भन्नुभयो, “देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ ।”      सांसद यादवले पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रियसभाका अध्यक्ष, पूर्वसंविधानसभाका अध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षहरुलाई आजीवन भत्ता, घरभाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानुनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै मुलुकको कमजोर आर्थिक अवस्था, स्वास्थ्योपचार नपाएको र बेरोजगारीले युवा पलायन भइरहेका सन्दर्भमा यस्ता विषय आउन नहुने जिकिर गर्नुभयो ।             सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कमजोर बनाउने केही तत्वहरु लागिरहेको भन्दै त्यसप्रति सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।      नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा जनतालाई राहत दिएर भरोसा बढाउनुपर्ने बेलामा पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने प्रस्ताव प्रति असन्तुष्टि जनाउनुभयो ।       नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्र खस्किएको अवस्थामा राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा व्यक्त गर्नुभयो ।      

मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ बाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ ।   घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।   गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।   रिङ् रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।   सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ् रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।   जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ् रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ् रोड सडक सम्पन्न विलम्ब भइरहेको छ ।   निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक/पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो ।   अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।   स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् ।   घरपझोङ रिङ् रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो ।   निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।

पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।   शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।   जितसँगै चर्च ब्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद ५ लाख प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए ।   खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।   प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद २५ हजार र ट्रफ्री पाए ।   उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनलाई नगद २१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा बने । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित भए । उनले नगद २१ हजार प्रदान गरिएको थियो ।   उदीयमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाए । उनलाई नगद १५ हजार प्रदान गरिएको थियो ।   फागनु २४ गतेदेखि सुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।

तनहुँ:  नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ ।  महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यानविधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सवमा गण्डकी प्रदेशको आख्यान, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँचकथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो ।  महोत्सवमा डा षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासको बारेमा प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराईलगायतले टिप्पणी गर्नुभएको थियो ।  महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो । बहस कार्यक्रमको सहजीकरण प्राध्यापक डा अशोक थापाले गर्नुभएको थियो ।  उक्त बहसमा सहभागी साहित्यकारहरू अमर न्यौपाने, प्रभा बराल, गनेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्दछन् ? कस्तो आख्यान लेख्ने ? आख्यानको सैद्धान्तिकस्वरूप र परम्परा लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।  प्राध्यापक डा अशोक थापाले नै सहजीकरण गर्नुभएको तेस्रो चरणको ‘नलेखिएका कथा’ विषय कार्यक्रममा साहित्यकार रूपेन्द्र प्रभावी कटु, अञ्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजमा नलेखिएका कथाहरूको विषय औँल्याउनुभएको थियो ।  चौथो चरणको ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो ।  साहित्यकारले प्रस्तुत गरेका कथामाथि मुस्ताङका साहित्यकार बसन्त शेरचन प्रतिक्रियात्मक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको पाँचौंँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको उहाँको भनाइ थियो ।  न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला एवं स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो । 

गोरखा:  गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ ।  अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उहाँले जानकारी दिनुभयो ।  “वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन”, उहाँले भन्नुभयो, “कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।” समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उहाँको भनाइ छ । “राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्”, कार्यालय प्रमुख सुवेदी भन्नुहुन्छ, “तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।” पच्चीस मिटर लामो र ८।४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ । 

तनहुँ: आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो ।  केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।” उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ ।  “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो ।  मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

काठमाडौं:  जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहनुभएको छ ।  अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले  चलचित्र ‘राजागञ्ज’बाट अभिनय थाल्नुभएको छ । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।  सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गर्नुभएको भूमिकाले चर्चा पायो । उहाँले पहिलोपटक चलचित्रमा अभिनय गर्नुभएको हो ।  नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाउनुभएपछि आरतीले अडिसन दिनुभएको थियो ।        “जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भन्नुभयो ।  यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उहाँले पहिलोपटक चलचित्रका लागि अभिनय गर्नुभयो । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उहाँको भूमिकाको  प्रसंशा गरेका छन् ।  “मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भन्नुभयो ।  उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गर्नुभएको छ । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गर्नुभएको छ । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै हुनुहुन्छ । “मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो । आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु”, पत्रकार मण्डलले भन्नुभयो । नेपाली चलचित्र प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन् । पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन् । थोरै यस्ता चलचित्र छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन् ।  महिला कलाकारले मात्र चलचित्रलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै चलचित्रकर्मीमा पाइन्छ । तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ । निर्देशक रौनियारले चलचित्रमा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाउनुभएको छ । चलचित्रमा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ ।       चलचित्रमा निर्देशक रौनियारले एउटा दृश्य राख्नुभएको छ, जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्नुहुन्छ । जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गर्नुभएको छ । यो चलचित्रले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताउनुभयो ।       “यस चलचित्रमा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ । महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ । मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।       निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिनुभएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नेपलमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।