एसियाली राजमार्गको काम सुस्त

झापा | चैत १०, २०८१

एसियाली राजमार्गको काम सुस्त

झापा:  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।


एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । 


काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो ।


एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । 


आयोजना प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गर्नुभएको थियो ।


सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यस वर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । “अहिले काम गर्न मौसम अनुकूल पनि छ”, एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भन्नुभयो, “निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन । हामीले दबाब दिइरहेका छौँ ।”


हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । हालसम्म एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ । साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । 


निर्माणकार्यमा कम्पनीले अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको छ । हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशतमात्र छ । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो । 


कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ । बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका प्रमुख पन्त बताउनुहुन्छ । चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । 


सो सडक खण्डको चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको आयोजनाले जनाएको छ । सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो । 


उहाँका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ । जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गरा...

थप पढ्नुहोस्

पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

थप पढ्नुहोस्