काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू–भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनःश्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो । उक्त घुम्ती शिविरमा तीन सय ३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित पाँच सय ५० नेपाली श्रमिकलाई नेपाल र युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो । राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शिविरबाट नेपाली श्रमिकले विद्यामान कानुनी प्रक्रियाकाबारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
पोखरा: नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जिवन दाहालले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन् । मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष एवं महोत्सवका उद्घोषक समेत रहेका शिवहरी ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ । रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले बताईन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो । दैनिक दुई समूहका दरले महोत्सव अवधीभर २२ समुहले रत्यौली गित प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिएकी छन् । निर्धारीत समय भित्र गीत प्रस्तुत हुन्छ त्यही गितको तालमा महिला र पुरुष दर्शक सगसगै छमछमी नाच्न पाउछन् र साथमा लुठो(जोक्कर)ले विभिन्न खालका हसाउने अभिनय गर्दै स्टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन । बेहुली लिएर आए पछि बेहुला बेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारीत समय सकिन्छ । महोत्सव अवधि भर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भए पनि प्रस्तुतीका आधारमा भएको छनोटबाट २२ समुहले मात्र प्रतिष्पर्धामा सहभागि हुने अवसर प्राप्त गरेका थिए । सहभागी प्रत्येक समुहलाई प्रस्तुतीको आधारमा पुरस्कृत गरिने छ । यसैबिच महोत्सवको पाचौ दिन सोमवार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ २५ लाख बरावरको भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीको दावी रहेको छ । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस गाउँ भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस फाइनलमा पुगेको हो । यस्तै अर्काे सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगिसकेका छन् । तिनै विधाको फाइनल खेल (मंगलबार) भोलि हुने क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितातर्फको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने भलिबल खेल संयोजक गणेश बिसीले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी माघ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन् । भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन् । पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो । धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बङ्गलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । काठमाडु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात काठमाडौँ आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध १७ विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने आयोजक एनकेएलले जनाएको छ । दुई हप्तासम्म चल्ने उक्त प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा आज ८० जनाले आफ्नो धारणा राख्नुभएको थियो । अधिकांश नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली पारदर्शी, उच्च नैतिक चरित्रवान्, जनताको मन जित्ने बोली र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । नेताहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रको दण्डहीनतालाई प्रश्रय दिन नहुने, पार्टीका सबै संरचनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखे । आसन्न निर्वाचन केन्द्रित रहेर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उपत्यका र काँठ क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टी नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा थालेका अभियानबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको प्रवक्ता सापकोटाले बताउनुभयो । पार्टीको महाधिवेशनका सम्बन्धमा नेताहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । महाधिवशेन गर्नेमा सबै सहमत भएपनि कार्यतालिका तोक्ने विषयमा नेताहरुको धारणा बाझिएको छ । कतिपय नेताले विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिए । नेताहरुले अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेको र यसले पछिल्लो राजनीतिक अवस्थालाई सही ढङ्गबाट विश्लेषण गरेको टिप्पणी गरेका छन् । आइतबारदेखि सुरु भएको बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्नेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी सम्बन्धी मुद्धामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपको उपाधि नदिएर ठगी गरेको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको हो । पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछाम घर भई पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष पोखरा प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्रीलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुले पोहोर चैत २३ र २४ गते पोखरा राईडर्सको आयोजनामा पोखरा–२३ बाम्दीमा पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०८१ सञ्चालन गरेर प्रतियोगीबाट दर्ता शुल्क बापत १७ हजार लिएर विजेता हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेपनि आयोजक पुरस्कार रकम नदिइ सम्पर्क विहिन भएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो । उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।