गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गर्नुभएको थियो । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै यही पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने जनाइएको छ । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ । आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो । उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे । यस्तै महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो । उनीहरुले क्रमश: ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । सो खेलबाट एलिट भलिबलकी पुजा सेन ठकुरी सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो । उनीहरुले क्रमशः बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारे । उक्त विधामा किङ्सका राम छन्त्याल सर्वाेत्कृष्ट खलाडीका रुपमा पुरस्कृत भए । घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गरे । यस्तै गरी विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश: नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमश: ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कत भए । उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बम बहादुर गुरुङ (नगद रु १ लाख सहयोग) क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए । बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
काठमाडौं: नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्ने प्रण गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो । बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा स्पष्ट भएर पार्टीले गरेका निर्णय र कार्ययोजना कार्यान्वयनमा जुट्न निर्देशन दिनुभएको थियो । “एमाले अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउनु छ । त्यसैले पार्टीमा अराजकता र अनुशासनहीनता सैह्य हुँदैन”, उहाँको भनाइ थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र स्थायी कमिटी सदस्यहरू गरी एक सय ५३ जनाले राजनीतिक प्रतिवेदन र संगठनात्मक कामबारे राय प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । त्यसैगरी पार्टीका केन्द्रीय निकाय, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ—आफ्ना आयोगका कामका साथै प्रतिवेदनहरूमाथि सुझाव राख्नुभएको थियो । यसअघि, अध्यक्ष ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नाका साथै महासचिव शङ्कर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो । महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभएको थियो । समयानुकूल संविधान संशोधन बैठकले संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । “नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षलाई केलाउँदै संविधानका प्रगतिशील अन्तरवस्तुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ”, पारित समसामयिक प्रस्तावमा भनिएको छ । यस्तै, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर एमाले र नेपाली काङ्ग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ । “मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन्”, प्रस्तावमा भनिएको छ, “सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।” एमालेले सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौती बाबजुद नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलव्धि महत्वपूर्ण रहे पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरु विद्यमान रहेको उल्लेख गरेको छ । “राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवादोन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ््क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक– आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।” स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरू पलायनप्रति चिन्तित र संवेदनशील रहेको भन्दै एमालेले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकको रुपमा अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ । यस्तै, बैठकले भ्रष्टाचारविरुद्ध सामाजिक जागरण, सहकारी बचतकर्ताहरूको रकम फिर्ताको सुनिश्चित, अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले मिथ्या, दुराशययुक्त र झुट्टा सूचना विश्वव्यापी चुनौतीका रूपमा देखापरेको र नेपाल पनि यो समस्यासँग जुझिरहेको भन्दै संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै यस्ता सूचना रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । सरकार र पाटीएका सकारात्मक कामको प्रचार गर्न आग्रह बैठकले पार्टी पङ्क्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचनामार्फत् जनतामा आशा र भरोसा जगाउन आग्रह गरेको छ । यस्तै बैठकले दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वानसमेत गरेको छ । बैठकले नेपाली सीमा नजिर्कै चीनमा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको घटनाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । एमालेमा फर्कन आग्रह बैठकले पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ । यस्तै बैठकले श्रमजीवी जनता र विपन्न नागरिकलाई केन्द्रमा राखेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, महङगी, कालोबजारी र मिसावट नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन तथा नियमन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । “किसानले उत्पादन गरेका कृषिउपजको उचित बजार र मूल्य पाउने सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ”, पारित प्रस्तावमा भनिएको छ ।
काठमाडौं: सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ । पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडानरअवतरणरहोभरिङ गर्नरगराउनका लागि तोकिएको राजस्व बुझाइ प्रचलित कानुनअनुसार गर्न वरिष्ठ संरक्षण अधिकृत सुषमा रानाले आज जारी गर्नुभएको सूचनामा उल्लेख छ । निकुञ्जको जैविक विविधता तथा सांस्कृतिक सम्पदा विश्वका लागि अनुपम भएकाले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९७९ मा प्राकृतिक विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक निकुञ्जको भ्रमणमा आउने गरेका छन् । जसका कारण आर्थिकरूपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र एवं रोजगारीमा टेवा पुगेको छ । निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्धार गर्न विकास निर्माणका सामग्री, खाद्यसामग्री तथा अन्य सामग्री ढुवानी गर्नेलगायतका कामका लागि निकुञ्ज क्षेत्रमा सेवा दिइरहेका निजी कम्पनीका हेलिकप्टरलाई अनुमति लिएर कानुनअनुसार उडानरअवतरणरहोभरिङ गर्नरगराउन अनुमति दिइएको उहाँले बताउनुभयो ।
पोखरा: प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुुभएको हो । सरोकारवाला व्यक्ति एवम् निकायको आपसी अनुभवहरूको आदानप्रदानका साथै नेटवर्किङ र व्यापार अवसरहरूको सुविधाको लागि एक्स्पो महत्वपूर्ण प्लेटफर्म हुने सम्झौतापत्रमा उल्लेख छ । तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवाला संस्थाहरूलाई एकै ठाउँमा सहभागी गराउँदै व्यवसायिक साझेदारी लगायतमा छलफल गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागिएको सम्झौतापत्रमा भनिएको छ । दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरहरूलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ । कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ । नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला अर्थतन्त्रहरूको बीचमा अवस्थित रहेको र यसले यी राष्ट्रहरूको पर्यटन सम्भावनालाई उजागर गर्न पूलको रुपमा काम गर्ने विश्वास लिइएको छ । यी देशहरू बीच द्विपक्षीय व्यापार पहलहरू राम्रोसँग स्थापित भए तापनि यो त्रि–राष्ट्रिय कार्यक्रमले नयाँ र आशाजनक अवसर प्रस्तुत गर्ने भनिएको छ । सम्झौतापत्र अनुुसार पाटा नेपाल च्याप्टरले संगठन साझेदार को रूपमा स्वीकृति समाचारपत्रहरू, प्रत्यक्ष इमेलहरू, मार्केटिङ सन्देशहरू र आधिकारिक नाइस वेबसाइटमा प्रमुख रूपमा चित्रित गर्नेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रेस विज्ञप्तिको वितरण मार्फत प्रचार, साथै पाटा च्याप्टर्स नेटवर्क भित्र पोखराको विविध पर्यटनका आयामको प्रदर्शन र प्रवद्र्धन गरिनेछ । त्यस्तै परिषद्का तर्फबाट कार्यक्रमको लागि स्थानीय पर्यटन अधिकारीहरू, सरोकारवालाहरू, प्रायोजकहरू, र साझेदारहरूसँग आवश्यक समन्वय गरिनेछ । परिषद्का न्यूजलेटरहरू, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्महरू मार्फत एक्स्पोका लागि मार्केटिङ र प्रवद्र्धनका काम गरिनेछ । कार्यक्रमका अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्न सहयोग लगायतका विभिन्न कामहरू गरिने सम्झौतापत्रमा उल्लेख छ । पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरा सहित समग्र नेपालको पर्यटकीय गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्का अध्यक्ष पहारीले विश्वास व्यक्त गर्नुुभयो । –––
पोखरा: कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा बढी प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठूलो लगानी र वातावरणलाई ख्याल राख्नु पर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ । विशेष गरी बालबालिकाको लागि थप आकर्षक बनेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्राईले जानकारी दिए । यसैबिच महोत्सवको छैंटौ दिन मंगलबार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ३० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन । हालसम्म महोत्सवको ९६ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ३ करोडको कारोबार गर्न सफल भएको छ । महोत्सवमा बुधबार लोकदोहोरीतर्फ बद्री पँगेनी, टिका सानु, प्रेमराज अधिकारी, रिया खड्का, रतिमाया खड्का, सन्तोष सुवेदी र बेलुका कन्सर्टमा रमेशराज भटृराई र सिर्जना खत्री हाउडे मायाको प्रस्तुती रहने कलाकार ब्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ । एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गर्नुभयो । “एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भन्नुुभयो, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’’ स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढङ्गको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारले देश र जनताका पक्षमा हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूहरु चुनावदेखि चुनावसम्मको ‘केवल’ सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आव्हान गर्नुभयो । उहाँले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताउनुुभयो । उहाँले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने अठोट पनि व्यक्त गर्नुभयो । यही पुस २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताउनुभयो । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गर्नुभयो । छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ । छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष दाहालले घोषण गर्नुभयो । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो । माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो । बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिनुभएको थियो ।
ललितपुर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक कार्यक्रममा उहाँले सङ्घबाट प्रदेश र स्थानीय तहलाई कानुन र कार्ययोजना बनाएर कानुनअनुसार काम गर्ने गरी सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “जनआक्रोशबाट मुक्ति पाउन सजिलोका लागि प्रदेशलाई अपजस बोकाउने काम भइरहेको छ, यो गलत छ । सङ्घीयता सबलीकरणका लागि सङ्घीय संसद्बाट सहजतापूर्वक कानुन बन्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो, “यसका लागि संसद्मा भएका विधेयकलाई चैत महिनाभित्र पारित गर्ने र बाँकी कानुनहरू संसद्मा पेस गर्नका लागि दलहरूको समूह बनेको छ ।” उहाँले सबै तहका सरकारले तीन वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घीयता सबलीकरणका लागि सङ्घले प्रदेश र स्थानीय तहलाई रचनात्मक सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सातै प्रदेशमा भएका अन्तक्र्रिया, त्यसमा उठेका सवाल तथा सुझावले आगामी दिनमा थप कार्य गर्न मार्गनिर्देश गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयनमा देखिएका कमजोरी सुधार गरेर अगाडि जानुपर्ने बताउनुभयो । उहाँले एउटै प्रकृतिका योजना कार्यान्वयन गर्ने तीन तहका मन्त्रालय फरक हुँदा समस्या भएको र यसलाई सुधारका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले सरकारको स्थायित्व नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या हुने गरेको सुनाउनुभयो । बजेट बनाउने बेला एउटा र कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार बन्ने प्रवृत्तिले सिर्जना हुने अन्यौलता हटाउन सबै दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) नेता महेन्द्रबहादुर शाहीले संविधानको मर्मअनुरुप तीन तहका सरकारको कार्यसम्पादनमा देखिएका जटिलता समाधानमा नेताहरुको चासो नरहेको गुनासो गर्नुभयो । संविधानप्रदत्त अधिकारअनुसार काम गर्ने वातावरण सिर्जना गर्न सङ्घीय सरकारले सहजीकरण र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रमा जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य जयकान्त राउत, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटा, डा दीपेन्द्र रोकायाले संविधान कार्यान्वयन, सङ्घीयतालगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।