पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौं:    विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ। सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७।५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो 

काठमाडौं:    नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, चौथो सेट २५–२२ र पाँचौं सेट १५–७ ले जित्यो । पुलिसले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२० जित्यो । जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी गरी आठ वटा टोली सहभागी थिए ।

तनहुँ:    उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताउनुभएको छ ।  ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयोे ।  महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यहाँको सांस्कृतिक पहिचान पनि पर्यटन प्रवद्र्धनमा सहयोगी बनेको छ । यस्ता महोत्सवले मुलुकको बहुभाषिक, बहुसांस्कृतिक परिचयलाई स्थापित गरेको छ । ”         तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले मेलाका माध्यमबाट किसानका उत्पादन बिक्री गर्न सहज हुने बताउनुभयो । महोत्सवमा कृषि उपजलाई प्राथमिकता दिइएको उहाँको कथन थियो ।       महोत्सवमा फलफूल, सागसब्जी, मह, मसला, दाल, चामललगायत कृषि उत्पादनका साथै स्थानीय हस्तकलाका सामग्रीयुक्त दुई सय बिक्रीकक्षमार्फत ती सामानको खरिदबिक्रीको व्यवस्था मिलाइएको छ । मेला आगामी माघ ७ गतेसम्म जारी रहने छ । 

काठमाडौं:    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताउनुभएको छ ।  शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा  आज यहाँ आयोजित कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।  “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय गरेको छ । अन्य राजनीतिक दलबाट पनि यस्तै प्रतिबद्धता आएपछि शिक्षा क्षेत्र राजनीतिक प्रभावबाट मुक्त गराउन सकिन्छ ।”  शिक्षा क्षेत्रका सबै विषयलाई सम्बोधन गर्ने र संविधानले व्यवस्था गरेअनुरुप आधारभूत तहको शिक्षा अनिवार्य गर्न आफू लागेको बताउँदै उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा आफू रहेको  जानकारी दिनुभयो । “अब कक्षा १० र १२ को परीक्षा एउटै निकायले लिने गरी राष्ट्रिय परीक्षा बोर्ड बनाउने र कक्षा १० को परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा छौँ’, उहाँले थप्नुभयो । यसैगरी विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन र गुणस्तरीयता कायम गर्न पनि सरकारले काम गरिरहेको बताउनुभयो । यसका लागि २०८३ सालसम्मको कार्य योजना बनाइएको जानकारी पनि मन्त्री भट्टराईले दिनुभयो ।  निःशुल्क शिक्षाको कार्यान्वयनको सुरुवात आगामी बजेटदेखि राजिष्ट्रेसन, बिलम्ब शुल्क र प्रमाणपत्रमा लिइने शुल्कको खारेजीबाट गर्न लागिएको पनि उहाँले बताउनुभयो ।  विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका ५९ क्याम्पस र नौ सय वटा शैक्षिक परामर्शदातृ संस्थालाई नियमन गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  चिकित्सा शिक्षातर्फ एमबिबिएसमा राप्ती, पोखरा  र मधेश प्रदेशमा एक सय ५० जनाको  कोटा थपिएको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा सञ्चालन हुने चिकित्सा शिक्षासम्बन्धी कार्यक्रमलाई व्यविस्थित गर्न सरकार लागेको तथा निजामती कर्मचारी सरह शिक्षकलाई पनि औषधि उपचारमा छुट दिने तयारी गरिएको मन्त्री भट्टराईले बताउनुभयो ।  मन्त्री भट्टराईका अनुसार शिक्षा र स्वास्थ्य मन्त्रालयको समन्वयमा विद्यालयमा सङ्क्रामक रोग र प्रजनन स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री अनिवार्य गरिएको छ । विद्यार्थीे घरमा अभिभावकको निर्देशमा गरेका कामको पनि सिकाइको उपलब्धीकै रुपमा मुल्याङ्कन गरिने छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, विधिविज्ञान प्रयोगशाला र बिपी कोइराला मेमोरियल प्लानेटेरिम, अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालय विकास समितिको क्षमता वृद्धि गर्दै उच्च प्रतिफल हासिल गर्नसक्ने बनाउने गृहकार्य भइरहेको छ । 

गण्डकी:    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ ।  जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिनुभयो ।       जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो ।  उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नुभएको थियो ।      आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गर्नुभएको जिल्ला अदालतले जनाएको छ । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधीवक्ता काफ्लेले बताउनुभयो ।      लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।       सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।  लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधीवक्ता काफ्लेले बताउनुभयो ।

काठमाडौं:    बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् । मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ। आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीया खातुनले भन्नुभयो, “अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।” विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएको थियो । केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।  राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ ।  बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएको थियो । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलाई सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेको थियो ।  श्रमिक आन्दोलनका कारण सयौँ कारखानाहरू बन्द भएका छन् र दशौं हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकशित मुलुकतर्फ पलायन हुने क्रम जारी छ । तर सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा संगठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताएपनि अझै कतिपय संगठन आन्दोलित नै छन् । 

लमजुङ:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा  जुटेको बताउनुभएको छ । आज बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वाथ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना  गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।  अन्तरमन्त्रालय समन्वय गरेर विकास–निर्माणका काम कार्यान्वयन गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “कांग्रेस र एमाले मिलेर देशको अर्थतन्त्र सुधारेर सुशासन कायम गर्दै जनतालाई उनीहरुको सरकारले राज्य सञ्चालन गरिरहेको अनुभूति गराउनेगरी काम गरिरहेको छ । देशको विकासलाई नै केन्द्रमा राखेर सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार सरकार क्रियाशील छ । ” सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नु भएका  मन्त्री गुरुङले डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिदेखि लमजुङको समग्र विकासलाई पनि आफूले ध्यान दिएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको छ, यसको उपयोगबाट समृद्धिको मार्गमा अग्रसर हुन सहज हुन्छ ।” साथै उहाँले लमजुङ प्याब्सनलाई निजी विद्यालयमा ‘डिजिटल सिस्टम’ लागू गर्न आग्रह गर्नुभयो । 

ढोरपाटन:   बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।  गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् ।  पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१÷८१ मा यस विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना रहेका छन् ।  कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताउनुभयो । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उहाँको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।   हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् ।  पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो ।  विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताउनुभयो । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उहाँको भनाइ छ ।   विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् ।   यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् ।  शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८÷७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ ।  विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्र्तगत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् ।  दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताउनुभयो ।  विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्नुहुन्छ ।  यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताउनुभयो ।  दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उहाँको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउनुहुन्छ । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । 

तनहुँ:    जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।      वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।      जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् ।  विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।      “घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो”, उहाँले भन्नुभयो ।  सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गर्नुभएको उल्लेख गर्नुभयो ।      सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिनुभयो । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उहाँले बताउनुभयो ।      पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।