पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

सोलुखुम्बु:    जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।       चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।  जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।  जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिनुभयो ।  चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताउनुभएको छ । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो ।  उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ ।” 

काठमाडौं:   बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।       नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।      आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो ।       सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ ।      कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो ।   कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ ।  कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०र८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।       विशेष गरी खाद्य बाली अन्तर्गत धान सात दशमलव ४५ प्रतिशत तथा कोदो शुन्य दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन एक दशमलव ९८ प्रतिशत, चियाको उत्पादन शुन्य दशमलव शुन्य एक प्रतिशत, कफीको उत्पादन एक दशमलव २३ प्रतिशत तथा महको उत्पादन शुन्य दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन शुन्य दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन आठ दशमलव शुन्य तीन प्रतिशतले घटेको छ ।       आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव तीन प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो ।       कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल एक दशमलव ५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन दुई दशमलव ३० प्रतिशत तथा माछा उत्पादन एक दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन छ दशमलव ४३ प्रतिशतले घटेको छ ।       यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव १० प्रतिशतले घटेर रु ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ ।  गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ । आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो ।       उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव तीन प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम चार दशमलव चार प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव सात प्रतिशतले घटेको छ ।      सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार चार सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ जना श्रमिक कार्यरत  छन् जुन गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलव एक प्रतिशतले कम हो ।  सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव दुई प्रतिशत स्वदेशी र १६ दशमलव आठ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए  । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र नौ प्रतिशत छ ।      केन्द्रीय बैंकका अनुसार,  २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा आठ दशमलव ११ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा छ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो ।  सो  प्रदेशमा वाणिज्य बैंकका सात सय ५४, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ गरी जम्मा एक हजार आठ सय ३७ शाखा पुगेका छन् ।       त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा तीन दशमलव ८१ प्रतिशतले वृद्धि भई रु पाँच  खर्ब ७८ अर्ब पुगेको छ । 

गण्डकी:     सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।  बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।  स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप उक्त सडक चार वर्ष अघि नै कालोपत्रका लागि छनोटमा परेको थियो ।  स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको सो निर्णय कार्यान्वयनमा भने आउन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो ।  “सहीद मार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर हाम्रो मात्र प्रयासले सम्भव देखिएन”, उहाँले भन्नुभयो, “जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले हाम्रो आवाज सुन्ने अवस्था छैन ।”  सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको उहाँको गुनासो छ । पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले उक्त सडक कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।  बीस किलोमिटर दूरीको उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश भएका छन् ।  जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘सहीद मार्ग’को नाम दिएको थियो । मार्ग खुलेको वर्षौँ बित्सासमेत सडक विस्तार र कालोपत्र हुन नसकेको हो ।  वर्षात्मा गएका पहिरा व्यवस्थापन नहुँदा हिउँदमा पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । हिउँदमा जेनतेन चल्ने उक्त सडक वर्षात्का बेला बन्द हुने गरेको छ ।  ताराखोला गाउँपालिकाको केन्द्र अर्गलको भातखाने डाँडा जोड्ने उक्त सडक राज्यको नजरमा पर्न नसकेको स्थानीयवासीको गुनासो छ । सहीद मार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँको सडक जोखिमपूर्ण रहेको स्थानीयवासी बताउँछन् ।   सडकको सामान्य मर्मतसुधार पनि हुन नसक्दा सडकको यात्रा जोखिमपूर्ण बनेको हो । ताराखोला–१ का अध्यक्ष यमबहादुर श्रीसले कालोपत्र नगरेसम्म सहीद मार्गको समस्या ज्यूँकात्यूँ रहने बताउनुभयो । उहाँले नालीसहितको पक्की सडक बनाउनुपर्ने बताउनुभयो ।   राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिने उक्त सडक कालोपत्रका लागि झण्डै रू ७० करोडको लागत अनुमान गरिएको छ ।  योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको थियो । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ ।  कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला धनी छ । सडक स्तरोन्नति नहुँदा अहिले ताराखोलादेखि सदरमुकाम आउन घण्टौँ यात्रा गर्नुपर्छ । सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ ।

काठमाडौं:     चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति  १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।   उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।   शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए ।   पर्यटन व्यवसायमा आबद्ध उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् ।   केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

पोखरा:    पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन ।  युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे । प्रकाशको प्रस्तुतीमा युवा देखी बृद्ध हरुले भरपुर मनोरन्जन लिए । आइतबार दुतराज संगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यसैगरी हाँस्यब्यङग्य तर्फ दीपक थापाको प्रस्तुती र जादुमा समेत दर्शकले भरपुर मनोरन्जन लिए । आइतबार सांझको लाइभ कन्सर्ट तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको पाँचौ दिन सोमबार ज्योती मगर, शंकर बिरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ दि फिरन्तेको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।   चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बढ्दै जान लागेको छभने महोत्सवमा राखिएको स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको कक्षबाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । त्यसैगरी मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिको स्टलबाट आइतबार पोखरा ८ का रविन्द बहादुर थापा र अमृत के भट्टराईले गोला प्रथाबाट निशुल्क भाषा कक्षाका लागि छनौट भएका महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । भिजन लिंकको स्टलबाट प्रत्येक दिन एक जनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षा भर्नामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।  फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

काठमाडौं:   काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।       जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो ।  उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।        काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताउनुभयो ।  एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।       जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनुभयो । उहाँले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताउनुभयो ।  सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय  किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।       पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् । 

पोखरा:   लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् ।  महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजकले दावी गरेको छ । महोत्सवमा एघारौं दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले भने, “महोत्सवको एघारौं दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।”  महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राखेको पाईएको अध्यक्ष श्रेष्ठले बताए । समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक राजेन्द्र ओझलाले भने “बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ । महोत्सव अन्त्यतिर आईपुग्दा धेरै उत्साहजनक नै छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।”  आयोजकलाई थप आगामी दिनका लागी समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक ओझाले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको भनाईलाई थप पुष्टि गरेको दावी गरे ।  माघ १ गते महोत्सवको समापन हुने भएकाले यस पटकको महोत्सवले पनि लक्ष्य वरावरकै सफलता हात पार्न सक्ने अनुमान गरिएको छ ।  सुरुमा करिव दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि महोत्सवको ११ औ दिन आईतवार मात्र करिव ..... हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म .... भन्दा बढि दर्शक मेलामा प्रबेश गरेको समापनपुर्व नै लक्ष्यको नजिक दर्शकहरु मेलामा आएकोे महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।   महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भटराईको भनाई रहेको छ ।  सुरुमा हामीहरुले करिव नौ करोड वरावरको आर्थीक कारोवार हुने अनुमान गरेपनि ११ औ दिनसम्ममा नै हामीहरु लक्ष्यको नजिक पुगेकाले महोत्सवले उच्च सफलता हात पार्नेमा विश्वस्त रहेको उनको भनाई रहेको छ । यसैविच आईतवार मात्र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोड १० लाख बरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म ६ करोड ९५ लाख बरावरको कारोवार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डले स्टेज तताएको थियो ।  सोमबार कलाकारहरु लोकदोहोरीतर्फ प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु) ले जानकारी दिएका छन् ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।  

दाङ:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताउनुभएको छ ।       नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज घोराहीमा भएको ‘नेपालको संविधान २०७२ दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले त्यसकाल लागि दलित समुदाय आर्थिक, सामाजिक रुपमा सशक्तीकरण र आम रूपमा समाजिक जागरणको आवश्यकता रहेको बताउनुभयो ।  महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको सङ्कीर्ण सोचका कारण समाजमा उचनिजको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताउनुभयो ।  उहाँले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि समाजिक आन्दोलन चाहिने जिकिर गर्नुभयो । “संविधानमा लेखेर मात्रै यो समस्या समाधान हुँदैन । छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ”,महासचिव पोखरेलले भन्नुभयो,“गलत संस्कृतिहरुलाई  सामजिक आन्दोनका माध्यमबाट बदल्नुपर्छ । त्यसका लागि सबै लागौँ ।” दलित समुदायका पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उहाँको भनाइ थियो ।  “दलित समुदायले परम्परादेखि गर्दै आएको पेसामा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ । पेसाप्रति घृणा होइन गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । आर्थिक रूप सबल र आत्मनिर्भर हुनसकेमा धेरै हदसम्म विगतको विकृत सोचमा परिवर्तन ल्याउँछ किनकि पछिल्लो समय आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास हुँदैगएको छ”, महासचिव पोखरेलले भन्नुभयो ।  मुक्ति समाज जिल्ला कमिटी दाङका अध्यक्ष शङ्कर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष नन्दलाल विश्वकर्मा, केन्द्रीय सदस्य भागवत विश्वकर्मा, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपाली, नेकपा ९एमाले० दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

म्याग्दी:    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।      बेनीमा आजदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटन गर्नुहुँदै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका  अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।       “प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ ।” उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।      फरक प्रसङ्गमा देउवाले म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।       बेनीको खुलामञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनीलगायत सडक आयोजनालाई गतिदिने, बेनीबजार संरक्षणका कामलाई बजेट व्यवस्था गर्न पहल गर्ने देउवाले प्रतिबद्धता जनाउनुभयो ।       म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा माघे सङ्क्रान्ति पर्वका अवसरमा महोत्सव आयोजना गरिएको हो । चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’का रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।      दस दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र रु १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ । म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।        स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक रहने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल, एकल लोकनृत्य, जतजातिको भाँकी प्रदर्शनी पनि आयोजना गरिएको छ ।