सिन्धुपाल्चोक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताउनुभयो । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र०को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।
पोखरा: गण्डकी प्रदेश शारिरिक सुगठन संघ तदर्थ समितिको अध्यक्षमा नविन आले मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघ तदर्थ समिति भेलाले आलेमगरको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) र कोषाध्यक्षमा नितेश खड्का (कास्की) चयन भए । यस्तै कार्यसमिति सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहुँ), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भए । तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष आलेमगरले गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास एवं प्रवर्द्धन संगै आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता जनाए ।
हेटौंडा: करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उहाँले बताउनुभयो । मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिनुभएको थियो । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन । महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ । महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह प्रथम, पोखरा–२६ को सृजना महिला समुह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समुह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समुहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समुहले क्रमश २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । यसैगरि महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्य छनोटमा परेका २२ समुहले महोत्सव स्थलमा प्रस्तुती रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन् । सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहेको थियो ।
म्याग्दी: यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताउनुभयो । “माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उहाँले भन्नुभयो, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।” यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताउनुभयो । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।” समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उहाँले बताउनुभयो । हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सुरु भएको हो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ आठ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा तय भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर्नुभएको छ । बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर)मा आज आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो । “आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ”, नेता कोइरालाले भन्नुभयो, “शताब्दी लामो हाम्रो सम्बन्धका बारेमा यहाँ आएर चर्चा गर्न पाउँदा, यहाँहरूको न्यानो आतिथ्यताका लागि आफू अत्यन्त हर्षित भएको छु, सबैलाई धन्यवाद प्रकट गर्दछु ।” दुई देशबीचका ऐतिहासिक सम्बन्धलाई आज जनस्तरको सहकार्यले बढाउँदै लगेको उल्लेख गर्दै नेता कोइरालाले यही सम्बन्धका आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्कोतर्फबाट निरन्तर सहयोगका लागि बेलायती सरकारप्रति आभार प्रकट गर्नुभयो । “नेपालीहरूले गोर्खाका नाममा बेलायती सेनामा गरेको लामो र अतिविशिष्टकृत सेवा दुई देशकाबीचको शताब्दीदेखिको लामो मित्रताको आधार हो”, उहाँले भन्नुभयो, “दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमुल्य जीवन पनि गुमाए । बेलायती सरकारले उहाँहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकामा खुसी छु ।” उहाँले गोर्खा सैनिकले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उहाँहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन आग्रह गर्नुभयो । सङ्कटमा बेलायतले गरेको सहयोग प्रशंसनीय नेपालमा सङ्कट परेको बेलामा बेलायत सरकारले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा प्रगाढ बनाएको कांग्रेसका नेता डा कोइरालाले बताउनुभयो । एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ को बेलामा गरेको सहयोगहरू उल्लेख्य भएको भन्दै प्रशंसा गर्नुभयो । “नेपालको जलविद्युत्, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना, हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त संभावना भएको क्षेत्रमा पर्दछ”, नेता डा कोइरालाले भन्नुभयो । नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको जानकारी गराउँदै उहाँले नेपालमा बेलायती लगानी सकारात्मक भए पनि यसमा अझ वृद्धि गर्न सकिने अपेक्षा राख्नुभयो । विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठुला बजार भएका दुई देशका बीचमा नेपाल अवस्थित रहेको बताउँदै उहाँले स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायत अन्य क्षेत्रमा नेपालमा लगानी गर्न बेलायतका उद्यमीहरूलाई आग्रह गर्नुभयो । विभिन्न समयमा हुने उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावतलगायतले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गरेको उल्लेख गर्दै नेता कोइरालाले दुई देशका सांसदहरूको भ्रमण र विचार आदानप्रदानले बहुआयामिक सम्बन्ध प्रगाढ बनाएको बताउनुभयो । “विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । यी दुई शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ”, नेता डा कोइरालाले भन्नुभयो । उहाँले आफू नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको अवगत गराउँदै सन् १९४० को दशकदेखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू व्यहोरेको उहाँले जानकारी दिनुभयो । “नेपालले लामो समय आन्तरिक द्वन्द्वको अवस्था सामना गर्यो । नेपाललाई लोकतान्त्रिक मुलुक बनाउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम कांग्रेसको नेतृत्वमा भएको हो । संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्यनिरुपण आयोग बनाउनेसम्बन्धी विधेयक पास गरेको छ ।” नेता कोइरालाले लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेका उल्लेख गर्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले सन् १९७० को दशकमा उक्त विषय बुझेर सचेत गराउँदै भन्नुभएको विषय उद्धृत गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउनु हुँदैन ।” नेता डा कोइरालाले भू–परिवेष्ठित र अतिकम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभए पनि विभिन्न चुनौती सामना गरिरहेको जनाउँदै हिमालयन पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा परेको प्रभावको न्यूनीकरण र वित्तपोषणको कार्यमा बेलायतको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा बेलायतका उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमस र एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्टले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मोरङ: जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो । ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् । संयोजक चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धनन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । “महोत्सवमा ४० वटा औद्योगिक, ३० वटा खानपिनको कक्ष छन्”, उहाँले भन्नुभयो, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।” महोत्सवमा थारू सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका प्रदर्शनी कक्ष, मनोरञ्जनात्मक खेल रहेका सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गर्नुभयो । सङ्ग्रहालयका अध्यक्ष चौधरीले भन्नुभयो, “हामीले यो सङ्ग्रहालयलाई थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।” महोत्सवको व्यवस्थापनका लागि करिब रु ६० लाख खर्च आयोजकको अनुमान छ । दैनिक रु ५० लाखदेखि रु एक करोडसम्मको व्यापार हुनुका साथै दैनिक १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा शारीरिक रूपमा अशक्त साथै विद्यालयका विद्यार्थीका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेतले बताउनुभयो । थारू सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरिने सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उल्लेख गर्नुभयो । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार सुन्दरहरैँचा नगरपालिकाको जनसङ्ख्या एक लाख २० हजार दुई सय १३ रहेकामा यहाँ थारू जातिको जनसङ्ख्या ३३ हजार सात सय ७९ रहेको छ ।
नवलपुर: हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । “नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उहाँले भन्नुभयो, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।” कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै उहाँले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताउनुभयो । चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताउनुभयो । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उहाँले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताउनुभयो । “माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “तीर्थालुले माघे सङ्क्रान्ति स्नान सहज रूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उहाँले बताउनुभयो । चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै वडाध्यक्ष तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताउनुभयो । “धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।” नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गर्नुभयो । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।