काठमाडौं: आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताउनुभयो । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिनुभयो । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ । थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ । आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं: प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सांसदहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गराउने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानार्कषण गराएका छन् । उहाँहरूले सूचना प्रविधिको विकासले वाक स्वतन्त्रतालाई सहज बनाए पनि यसलाई मर्यादित बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूको जिज्ञासामा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक करिब अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफल हुने क्रममा रहेको, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ का सन्र्दभमा अवधारणा तयार हुँदै गरेको, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक कानुन मन्त्रालयमा पुगेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक एवं सांसद महेशकुमार बर्तौलाले सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण झुट्टा र भ्रामक सूचनाको समस्या बढ्दै गएकाले नियमन जरूरी भएको बताउनुभयो । सांसद नैनकला थापाले पछिल्लो समय सूचना प्रविधि युवाको मुख्य रोजाइ बन्दै गएकाले सरकारले यसमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद सोविता गौतमले औषधिको विज्ञापन दिन नपाइने भनिए पनि सामाजिक सञ्जालमा जथाभावी विज्ञापन गरेर जनमानसमा गलत प्रभाव पारेका विषयमा ध्यानाकर्षण गराउनुभयो । सांसदहरू रञ्जुकुमारी झा, नागिना यादव, पूर्णबहादुर घर्तीलगायतले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सामाजिक सञ्जाललाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भई छलफलमा जाने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “हामीले सामाजिक सञ्जाल नियन्त्रण गर्ने नभई त्यसमा पोष्ट हुने कन्टेन्टमाथि नियमन गर्न खोजेका हौँ । विधेयक अगाडि बढ्ने प्रक्रियामा छ”, उहाँले भन्नुभयो । प्रेस काउन्सिल ऐन खारेजीका लागि सहमति बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा २१ मा रहेको प्रेस काउन्सिल ऐन, २०४८ मा संशोधन गर्न खोजिएको दफा हटाउने प्रस्तावमा सहमति जुटेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले समितिमा राखेको प्रस्तावमाथि सहमति जुटेको सभापति विमला सुवेदीले जानकारी दिनुभयो । समितिमा आमन्त्रित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मिडिया काउन्सिल विधेयक पारित हुने प्रक्रियामा रहेको भन्दै प्रेस काउन्सिल ऐन, २०४८ को औचित्य नरहेको स्पष्ट पार्नुभयोे ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले रासससँग भन्नुभयो, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”
काठमाडौं: सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै ‘समृद्धिका लागि वन परियोजना’ लागि विश्व बैंकबाट प्राप्त हुने रु एक अर्ब ६३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उक्त बैठकले नागरिक लगानी कोषको चुक्ता पूँजी वृद्धि गरी रु छ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति दिएको, चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार आठ सय६७÷३८ निर्धारण गरेको छ । सरकारका प्रवक्ताका अनुसार संयुक्त बजार अनुगमन निर्देशिका २०६९, शहीदका परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा र टैंक ट्रक राख्न अनुमति प्रदान गर्दा सहुलियत दिनेसम्बन्धी कार्यविधि २०६७ र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरेको छ । बैठकले राजस्व न्यायाधिकरण काठमाडौँको कानुन अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई, विशेष अदालत काठमाडौँको सदस्यमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई नियुक्त गर्ने तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने र नौ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई गर्ने निर्णय गरेको छ । सरकारले अध्यागमनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । प्रहरी नायब महानिरीक्षकहरू कुवेर कडायत र रवीन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ । सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक लुम्बिनी आदर्श गाविस को ३–१०–११ बिघा सरकारी प्रकृतिको जग्गा लुम्बिनी सांकृतिक नगरपालिका, रुपन्देही र पर्सा जिल्ला साबिक विजबनिया गाविसको ०–१०–० बिघा सरकारी जग्गा जगरनाथपुर गाउँपालिका, पर्सालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारले पारमाणविक पदार्थको नियमनसम्बन्धी निर्देशिका, २०७२ खारेज गरेको छ । बैठकले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा र पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव बाबुराम अधिकारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव मदन भुजेललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ
काठमाडौं: आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् । बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् । नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ । आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार कार्भिनलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समय समयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरु गर्दै आएको छ । नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस)सम्बन्धमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस),साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आइएसएमटी ग्रुपले पोखरासँगै ,काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ७२ घण्टे प्रवेश पास खारेज गर्न माग समेत गरिएको छ । महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले भन्सार विन्दुमा नै नेपालको कानुनले तोकेको भारवहन क्षमता जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ । ” महासङ्घले ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरूबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन् कि छैनन् भनी मान्यता प्राप्त तौल पुल र निकायको लोड सिट समेत जाँच गरिनुपर्ने माग राखेको छ । साथै, अधिक भारवहन गरेको पाइएमा जरिवानासहित अधिक भारलाई ‘अनलोड’ गर्न लगाई भार मिलान गरेर मात्र अगाडि बढ्न दिनुपर्ने माग समेत गरेको छ । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ “ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरूबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन् कि छैनन् भनी मान्यता प्राप्त तौल पुल र निकायको ‘लोड’ सिट पनि जाँच गरिनुपर्ने माग राखेको छ । साथै, अधिक भारवहन गरेको पाइएमा जरिवानासहित अधिक भारलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडि बढ्न दिनुपर्छ । ” महासङ्घले यही पुस २६ गते भारतीय मालवाहक एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्यधिक भार बहन गरी सञ्चालन भएको कारणले दुम्कीवासमा विनय खोलाको पुल भाँचिएर सवारी साधन सञ्चालनमा बाधा पुगेको जनाउँदै सम्बन्धितलाई कारबाही गर्न माग गरेको छ ।
पोखरा: प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो । स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्तर्क्रिया कार्यक्रम र 'प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार - २०८१' अर्पण पनि गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए । उपसमितिहरू गठन अधिवेशन सम्पन्नार्थ विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रतिवेदन लेखन समितिमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी र कोषाध्यक्ष गिरिधारी पोखरेल छन् । सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार तथा मल्टिमिडिया संयोजन समिति गठन गरिएको छ । सदस्यहरूमा समाचारतर्फ अनुप पौडेल र अनिता घिमिरे, फोटोतर्फ सन्दीप खनाल, अर्जुन गाहा मगर ‘सुशान्त’ र भिडियोतर्फ सुरेश सुनार छन् । यसैगरी, आर्थिक संकलन तथा जनवर्गीय संगठन समन्वय उपसमितिको संयोजकमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सहसंयोजकमा कोषाध्यक्ष गिरीधारी पोखरेल तथा सदस्यहरूमा राजु गिरी र अनुप पौडेल छन् । उपाध्यक्ष बालकुमारी पौडेल ‘तारा’ को संयोजकत्वमा अतिथि निमन्त्रणा, सत्कार तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरूमा सचिव रञ्जन अधिकारी, सहसचिव उमा आले मगर, सचिवालय सदस्य दीपा पौडेल, सञ्जय थापा, सुरक्षा श्रेष्ठ, अमृत कुमार भट्टराई र ऋषिराम दाहाललाई चयन गरिएको छ । सदस्यता नविकरण, मञ्च व्यवस्थापन तथा खाना, खाजा व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष गिरीधारी पोखरेललाई दिइएको छ । रञ्जन अधिकारी, राजु गिरी र दीपक अधिकारीले सघाउनेछन् । प्रतिभा छनौट समिति गठन बैठकले ‘प्रेस चौतारी पत्रकारिता सम्मान तथा पुरस्कार २०८१’ छनौटका लागि प्रतिभा छनौट समिति पनि गठन गरेको छ । छनौट समितिमा शान्ति गुरुङ, केशव पाठक र केशवशरण लामिछाने छन् । पदेन सदस्यहरुमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी रहनेछन् । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् । २०७९ बाट सुरू गरिएको पत्रकारिता सम्मान राजु भण्डारी, सावित्री खनाल, हुम तमु र मीना तमुलाई अर्पण गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए । बधाई ज्ञापन प्रेस चौतारी कास्कीले पत्रकार महासंघ गण्डकी र कास्कीको निर्वाचनमा विजयी भएका र नेपाल सरकारबाट नियुक्त भएकाहरूलाई बधाई ज्ञापन पनि गरेको छ । सूचना आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । यस्तै, नेपाल पत्रकार महासंघ गण्डकीको महासचिवमा निर्वाचित प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख जमुना वर्षा शर्मा, सचिवमा निर्वाचित प्रेस चौतारी गण्डकीका उपाध्यक्ष रोश्नी गुरूङ र सदस्यमा निर्वाचित विजय नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधवप्रसाद बराल, उपाध्यक्षमा निर्वाचित केन्द्रीय सदस्य कञ्चन थापा कोइराला, कोषाध्यक्षमा निर्वाचित केन्द्रीय लेखा आयोग सदस्य राजाराम पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । यसैगरी, पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्यमा निर्वाचित उपाध्यक्ष बालकुमारी पौडेल (तारा) सहित सदस्यहरू राजु गिरी, पुनम थापा मगर, अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, तुलसीराम सुवेदी, रिखिराम जिसी, सुरेश सुनारलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । केन्द्रीय परिषद् सदस्यमा निर्वाचित केन्द्रीय सदस्य आरजु विष्ट सल्यानी, प्रदेश परिषद् सदस्यमा निर्वाचित सल्लाहकारहरु केशव पाठक र राम गुरुङसहित खिमा कुमारी गुरुङ, खेम सारू मगर, गणेश कुमार श्रेष्ठ, विष्णु प्रसाद सापकोटालाई बधाई र शुभकामना व्यक्त गरेको छ ।