तनहुँ (दमौली): वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्डितको भनाइ छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । पण्डितले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो ।” वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने पण्डितको भनाइ छ . यसैबीच कार्यालयले बन्दीपुर गाउँपालिका–५ थुम्कास्थित याम्पा सामुदायिक वनमा भएको अतिक्रमण हटाएको छ । वन क्षेत्र अतिक्रमण गरी छाप्रो बनाएको र आवादी गरेको ठाउँमा वन कार्यालयले सामुदायिक वन, वडाध्यक्ष र स्थानीयको सहयोगमा अतिक्रमित क्षेत्रको टहरा भत्काएको जनाएको छ । १५ वन्यजन्तुको उद्धार यस्तै कार्यालयले गत आर्थिक वर्षमा १५ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयले रतुवा मृग, कोभ्राको बच्चा, अजिङ्गर, गिद्ध, कालो बाज, निरबिरालोको उद्धार गरेको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित बासस्थानमा छाडिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विसं २०८० भदौ १९ गते व्यास नगरपालिका–३ दमौली अस्पताल नजिकबाट रतुवा मृग, विसं २०८० भदौ २६ गते व्यास–१ गल्वुबँेसीबाट कोभ्राको बच्चा, विसं २०८० असोज ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारबाट रतृवा मृग, विसं २०८० मङ्सिर १० गते व्यास–१४ रुम्सीबाट अजिङ्गर, विसं २०८० पुस २० गते व्यास–५ मादीसेती दोभानबाट डङ्गर गिद्ध, विसं २०८० फागुन ९ गते म्याग्दे गाउँपालिका–७ बाट रतुवा मृगको उद्धार गरिएको छ । त्यसैगरी विसं २०८० चैत १९ गते व्यास–१३ बाट अजिङ्गर, विसं २०८१ वैशाख १५ गते व्यास–१३ बाट कालो बाज, विसं २०८१ वैशाख २८ गते शुक्लागण्डकी नगरपालिका–८ बाट रतुवा मृग र विसं २०८१ जेठ १ गते शुक्लागण्डकी नगरपालिका–७ बाट निरबिरालोको उद्धार गरिएको श्रेष्ठले बताउनुभयो । चितुवाको आक्रमणबाट १५ को मृत्यु तनहुँमा विगत सात वर्षको अवधिमा १५ बालबलिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८१/८२ को बीचमा चितुवाको आक्रमणबाट १५ जनाको मृत्यु भएको हो । सोही अवधिमा २१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा चितुवाको आक्रमणबाट एक, आर्थिक वर्ष २०७५/७६ मा तीनको मृत्यु र तीन घाइते, २०७६/७७ मा पाँचको मृत्यु र छ घाइते, २०७७/७८ मा एकको मृत्यु र चार घाइते, २०७८/७९ मा दुईको मृत्यु र दुई घाइते, २०७९/८० मा दुईको मृत्यु र दुई घाइते, २०८०/८१ मा चार घाइते र २०८१/८२ मा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियनको अपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।” हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । उहाँले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताउनुभयो । दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उहाँले कतार सरकार र कतार फन्ड फर डेभेलपमेन्टबाट नेपालले लगानीको अपेक्षा गरेको बताउनुभयो । “हामीले कतार सरकार र नेपाल सरकार बीचको पारस्परिक प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको कुरा जानकारी गराउन चाहन्छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कतारसँग विद्यमान नेपालको व्यापार घाटा कम गर्न दुई देशबीच सहयोग अभिवृद्धि आवश्यक छ, साथै नेपाली उत्पादनका लागि कतारमा बजारको खोजी गर्न आवश्यकता छ, कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।” मन्त्री भण्डारीले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र यसलाई पर्यटन तथा द्विपक्षीय व्यापारको प्रवद्र्धनमा थप उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले नेपाल र कतारले पारस्परिक हित तथा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो । राजदूत अन्सारीले मन्त्री भण्डारीले व्यक्त गरेका कुरामा सकारात्मक प्रतिक्रिया दिँदै आगामी असोज १६ गते कतार भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्नुभयो । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताउनुभयो । “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ”– उहाँले भन्नुभयो– “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
जानकी (बाँके): नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।” सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो । “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो l गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।
सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उहाँ केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिनुभयो । “१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे”, उहाँले भन्नुभयो, “मलाई त यही भिरपाखामै रमाइलो छ ।” तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उहाँले सुनाउनुभयो । “काम खोज्दै दौतरीहरु विदेश र सहर पसे । म मुस्ताङमै रमाएँ, नपढेकाले जहाँ गए पनि गर्ने दुःखै रहेछ, मलाई यही ठीक छ”, तामाङले भन्नुभयो, “मलाई विदेशको मरुभूमिभन्दा मुस्ताङकै भिरपाखा रमाइलो लागिरहेको छ ।” तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक रु एक लाख ५० हजार तलब पाउनुहुन्छ । यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तान चलाउनुपर्छ । गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न । कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन । कहिले गोठ त कहिले ढुङ्गामुनी ओत लागेर रात काट्नुपर्ने बाध्यता छ । यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उहाँ एक्लो भने होइन । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन् । सात वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन् । “बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो”, उहाँले भन्नुभयो, “गरिबलाई दुःख नगरी जहाँ गए पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गर्नुपर्ने रहेछ ।” गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ । जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेंसीतर्फ लागेका छन् । दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन् । दुःख र जोखिम धेरै हुने भएकाले किसान आफँै गोठमा बस्दैनन् । चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताउनुभयो । “च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “च्याङ्ग्रा गोठालाका रुपमा कतिपयले रोजगारी पनि पाएका छन् ।” चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेसा सजिलो भने छैन । बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ । भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ । त्यसमाथि जङ्गली जनावरको डर उस्तै । छुट्टी र बिदा हुने कुरै भएन । मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन् । बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो । हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन् । हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । दसैँ तिहारका लागि गत वर्ष रु २३ करोड मूल्य बराबरको करिब छ हजार च्याङ्ग्रा निकासी भएका केन्द्रको तथ्याङ्क छ ।
स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ । स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्दै जाने हो भने यहाँको पर्यटक अन्तै डाईभर्ट हुने खतरा रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । पदयात्रा पर्यटन हुने १३ वटा पालिकाहरु छन्,उनले भने,‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटकहरु आउँदैनन् । यहाँ आउने पर्यटकहरु अन्तै डाईभर्ट हुने खतरा हुन्छ ।’ १३ वटा गाउँपालिकाले १÷१ हजार तथा टिम्सवापत ५ हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने टान गण्डकीको बुझाई रहेको उनले बताए । पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताए । यसले गर्दा आउने मुड बनाएका पर्यटकपनि नआउने उनको भनाई छ । उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको टिप्पणी गरे । टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने,‘निर्णय सच्चिनु पर्छ । यदि सच्चिएन भने यसले पर्यटनमा नराम्रो धक्का दिन्छ ।’ पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन् खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने भन्दै उनले निर्णय तत्काल सच्याउन आग्रह गरे । यसैबीच, टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिनि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितको टोलीले सोमबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवद्र्धनमा जोड दिन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए । उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आस्वासन दिए । कोभिडका कारण व्यवसाय खत्तम अवस्थामा छ,उनले भने,‘यस्तो बेला पर्यटनमा सपोर्ट गर्ने कार्यक्रम ल्याउनुको सट्टा झन् समस्या पर्ने निर्णय गर्नु ठीक होईन । अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होईन । यसमा मेरो ध्यानाकर्षण भयो । म बुझेर सच्याउन पहल गर्छु ।’
बागमती: बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
कास्की: रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।” अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो । “स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो । गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।” नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।
चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो । “पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” अँधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो । गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर खस्ने पहिरो रोक्ने संरचना बनाइएको सबइन्जिनियर कार्कीले बताउनुभयो । पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कङ्क्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ । पर्खालभन्दा माथिको पाखोमा बग्ने किसिमका ठूला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताउनुभयो । “ भिरमा ड्रिल गरेर प्याल पारी रड राख्ने र ढलान गरिएको हो”, उहाँले भन्नुभयो, “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरले करिब दुई महिना लगाएर एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो । पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एङ्करिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले बताउनुभयो । वि सं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।