पोखरा: उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । कास्कीबाट १२ र प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागीता जनाउन पाउने उनले बताए । उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजको दावी छ । प्रदेशस्तरी प्रतियोगिता माघ अन्तिम साताबाट शुरु हुनेछ ।
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड बढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको हो । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ । महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । श्याम राना संगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ । बेसलाइन, अमरसिंह माबि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमी बिचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो । महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सनाका अनुसार सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुती रहने छ ।
काठमाडौं: केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौं: संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ । बैठकले शान्तिप्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राजमोका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापा मगर र नेसपाका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्योे ।
काठमाडौं: काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण जाँच सुरू गरिएको छ । महानगरपालिकाले सवारीसाधनको अवस्था पहिचान गरी मर्मत गराउन आग्रह गरेको छ । महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको जनाएको छ । महानगरले मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेको छ । उक्त प्रावधानअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत ९वाई भोल्युम० हुनुपर्छ । त्यस्तै, सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । तीनपाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । दुई पाङ्गे् सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्ने कानुनी प्रबन्ध गरिएको छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका सा थ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ १० र ११ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ ।
काठमाडौं: गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो । “पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ”, उहाँले भन्नुभयो, “हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।” महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिनुभयो । उहाँले रु दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताउनुभयो । पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ । विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौँको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो । डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताउनुभयो । “होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ”, उहाँले भन्नुभयो, “होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतङ्कवाद÷आपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।” महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताउनुभयो । जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ ।
काठमाडौं: काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो । प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहनुभएको समिति गठन गरिएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीव श्रेष्ठ रहनुभएको छ । समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ । सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित सङ्कायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ । यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गर्नुुभएको थियो । विसं। २०५९ चैत १९ गतेको पारस्परिक सम्झौताका आधारमा सहकार्य गरेका ती संस्थाबीच बेमेल भएपछि गत साउन ३० गतेको विश्वविद्यालय सभाको ९७ औँ बैठकको मार्गदर्शनअनुसार आपसी संवाद थाल्ने निधो भएको थियो । प्रधानमन्त्री ओलीले विवाद मिलाउन गठित समितिले सघन परामर्शसमेत गरेर समाधान निकाल्न सकेकामा खुसी व्यक्त गर्दै त्यसले नयाँ क्षितिज उघारेको बताउनुभयो । यस प्रतिवेदनले नयाँ एकतासहित भविष्यको नयाँ गोरेटो तय गरेको छ, यसलाई नबिगारीकन कार्यान्वयनमा लान सकेमा राम्रो प्रतिफल आउने उहाँले बताउनुभयो । सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा डा राजीव श्रेष्ठ हुनुहुन्थ्यो । उपकुलपति छनोटको कार्यविधिमा पुनर्विचार गर्न निर्देशन बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि गठित खोज तथा सिफारिस समितिलाई चिकित्साशास्त्र सङ्कायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत आवेदन गर्न पाउनेगरी कार्यविधिमा व्यवस्था गर्न निर्देशन दिएको छ । उपकुलपतिको आवेदनका लागि आव्हान भएको सूचनामा आफूहरुलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी चिकित्साशास्त्र सङ्कायका शिक्षकहरुले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनःविचार गर्न निर्देशन दिएको हो । दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको थियो । पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा गठित खोज तथा सिफारिस समितिले चिकित्साशास्त्र सङ्कायका शिक्षकहरुलाई पनि समेट्न उम्मेदवार छनोटको कार्यविधि संशोधन गरेर पुनः सूचना जारी गर्ने भएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्ष बिनु थापामगर सर्वसम्मत चयन भएका छन् । पोखरामा आज (शुक्रबार) सम्पन्न भएको (फोनिज) कास्कीको सातौं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । फोनिज कास्कीको उपाध्यक्षमा शुसील श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्रास्ना मानन्धर, कोषाध्यक्षमा बस बहादुर शेर्पा चयन भए । सदस्यहरुमा सोनु राना, हुम गुरुङ, अर्चना श्रेष्ठ चयन भए । बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्नेछ ।