पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

गण्डकी:     अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे ।  पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो ।  सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ लाई आफ्नो फेसबुकमा साझा गरे । सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेखेका थिए, “हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना ।” थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो ।  सपुत र थापाले जसरी एकार्काप्रतिको शुभेच्छा र सम्मानभाव दर्शाए आखिर भयो पनि त्यस्तै । सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो । थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक÷स्रोता मन जित्न सफल रह्यो ।  अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ । अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ ।  चलचित्र निर्देशकसमेत रहेका सपतुद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ ।  चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ । गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गरेका हुन् । चलचित्र ‘वसन्त’मा उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् ।  थापाको गीत ‘दुश्मन हेरेको हेरै...’मा उनीसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ ।  थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उनकोको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो । दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।   बागलुङको धम्जामा जन्मिएका सपुत र गलकोटमा जन्मिएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएका छन् ।  बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्।  विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।  सयौँ गीतमा अभियन र स्वर दिएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’ मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो ।  छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् । 

पर्वत:   सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्  । आर्थिक मन्दी, सरकारको असहयोग र  विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको  छ ।  गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए ।   क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो ।  नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्च’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए । अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीले बताउनुभयो । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उहाँले बताउनुभयो । क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ ।  बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उहाँले बताउनुभयो । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए ।   जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।

तनहुँ:   तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन ।   देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ ।  लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ ।  देवघाट–३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पु¥याउन सकस भएको देवघाट–३ बाटकका हर्कबहादुर थापाले बताउनुभयो । “यस वर्ष वडा नं ३ मा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्”, उहाँले भन्नुभयो ।  लुङग्रिङमा एउटै परिवारले रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिनुभयो ।  लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौँ बिक्री गर्न लैजाने गरेका छन् । नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ । पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ । दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताउनुभयो ।  पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने गरेको छ ।

पोखरा:     पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।  पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।  पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।  उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।  “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उहाँले भन्नुभयो । पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ ।  पोखरा महानगरपालिकाभित्रका  खेतीयोग्य जमिनको खण्डीकरणले  उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेसाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ । 

गलकोट:    निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ ।  सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले  सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ भने, सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ ।  काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे ।  पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ ।   काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ ।  भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमा सडक कालोपत्र गर्ने दाबी गर्नुभयो ।  सडकको सुरुमा एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ ।  अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

सिरहा:     माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।        आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । आज विशेष दिन भएकाले बिस्तारै मधेश केन्द्रित दल तथा कार्यकर्ताहरूको चहलपहल र उपस्थिति बढ्दै गएको हो ।      एकातिर सहिदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ताको भीड लाग्दा अर्कातिर लक्ष्मी सहनी र उहाँकी श्रीमती डोमनी सहनीको मनमा छट्पटी बढ्दै जान्छ । विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो ।       यसैगरी, छट्पटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि । आजभन्दा १८ वर्ष पहिला लहानमा चर्कीएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो ।  विसं २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त भएको थियो । तिनै सहिद विजय सहनीको बुबाआमा हुनुहुन्छ लक्ष्मी र डोमनी सहनी ।       दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ । “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ । विगतको स्मृति र विस्मृतिलाई ताजा बनाउने काम गर्छ”, आफ्नै छोराको सालिक अगाडि उभिएर सहनीले भावुक हुँदै भन्नुभयो, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो । खुसीहरू सधैँलाई छुटिगए ।”      परिवारको आर्थिक जोहो टार्न अर्को छोरो राजेश सहनी तीन वर्षदेखि भारतको केरलामा मजदुरी गरिरहेको पीडा बुबा लक्ष्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनमा मेरा छोरा जस्तै सहिदहरूको बलिदानले नेताहरूलाई सरकारमा त पु¥यायो, तर मेरो परिवार उस्तै गरिबी, अभाव र पीडामा छ । सम्झिँदा मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ ।”       सहनीले अगाडि भन्नुभयो, “आफूलाई जसोतसो सम्हाल्छु तर श्रीमतीलाई सम्झाउन गाह्रो छ”, छेवैमा आँसु टिल्पिलाउँदै गर्नुभएकी श्रीमतीतर्फ हेर्दै उहाँले भन्नुभयो, “यस्तो बेला छोराको याद आइहाल्छ । यस्ता कार्यक्रमहरूले पीडा थप बल्झाउँने र असाध्यै सताउने गर्छन् ।”       मोहम्मद मस्तकी सहिद मोहम्मद अनिशका बुबा हुनुहुन्छ । यस्तै पीडा छ, अनिशका बुबा मोहम्मद मस्तकीको । सरकारले सहिद परिवारको रोजगारी र जीविकोपार्जनमा कुनै सहयोग नगरेको तथा आन्दोनले ल्याएको परिवर्तनले जनताको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको उहाँले दुखेसो पोख्नुभयो । “सहिदको समना पूरा भएन । सोचेअनुसारको परिणाम आएन । व्यवस्था त बदलियो तर जनताको अवस्था फेरिएन,” उहाँले भन्नुभयो ।       त्यही आन्दोलनका नेतृत्वकर्ता तत्कालीन मधेशी जनाधिकार फोरम तथा हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लहान आएर यिनै सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै आजको दिन शोषण र उत्पीडनविरुद्ध बलिदानपूर्ण विद्रोह भएको दिन भएको बताउनुभयो ।       उहाँले भन्नुभयो, “गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेशलाई अधिकारसम्पन्न बनाउने सहिदको सपना खेर जाँदैन ।” छेवैमा भाषण सुनिरहेका सहिद परिवार भने मौन थिए । सायद नेताहरूको भाषण सुन्न बानी परिसकेका थिए, विश्वास लाग्नु नलाग्नु छुट्टै विषय हो ।

पोखरा:   मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् । सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् । कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने उनको भनाई थियो । ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ । ’ मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको तर्क थियो । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं ।   त्यसका लागि आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ । कुमारी ब्युटीको प्रडक्ट उत्पादन गर्दा शोभाजीले आफ्नो बुद्धिमता र मन दुवै लगाउनुभएको रहेछ । आफूले के प्रयोग गरिरहेको छु भन्ने कुराको ज्ञान राख्न रुचाउने मान्छेहरुलाई कुमारी ब्युटीको प्रडक्ट मनपर्न सक्छ । ’क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

पोखरा:   पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ ।  महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो ।  शनिवार दिउसो मात्र नभई सांझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शनिबार दर्शकको बाक्लो उपस्थिती संगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।   महोत्सवमा विशेष गरी घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, जाडो मौसमका सामाग्री, कृषिका सामाग्री संगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेको आचार्यले बताए । महोत्सवको दशौं दिन लोक दोहारी कलाकार शान्तारानी परियार, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको एघारौं दिन रचना रिमाल, चोलेन्द्र पौडेल,  घनश्याम रिजाल, कृष्णा गुरुङ, सरस्वती लामिछाने, तुलसा क्षेत्री, सुरेश भुर्तेल, सुनिमा गुरुङ, केश बहादुर गुरुङ लगायतको पस्तुती रहने छ भने सांझको लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।   शनिवार सम्पन्न विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा विभुति शिक्षा सदन उत्कृष्ट प्रस्तुती र सरस्वती विद्या सदन लामाचौर वाइल्ड कार्ड इन्ट्री मार्फत फाइनलमा प्रवेश गरेको हो । महोत्सवको अन्तिम दिन सोमबार सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

पोखरा:    पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनिक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् । जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर १६२९२ का प्रविन गुरुङलाई परेको छ । सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । २ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए । १६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।