काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताउनुभयो । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उहाँले भन्नुभयो । वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताउनुभयो । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डो¥याएका छौँ”, उहाँले भन्नुभयो । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उहाँको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उहाँले उल्लेख गर्नुभयो । “कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उहाँले भन्नुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । “सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
काठमाडौं: प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । “सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ। यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो । यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्। उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् । यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो। प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो ।
काठमाडौं: उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राख्नुभएको हो । “नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ”, उहाँले भन्नुभयो, “हामी दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ।” उपसभामुख रानाले नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहो¥याउनुभयो । “नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ”, उहाँले भन्नुभयो, “नेपाली भूमिप्रयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।” उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने बताउनुभयो । दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राख्नुभयो । चीनका राजदूत छन सोङले चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व रहेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा चीन र नेपालका विविध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।
हुम्ला: हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन् । चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उहाँको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् । धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे पनि उहाँहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालिस मिटर तल खसेको थियो । मिमी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको छ जना प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान् कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो । हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ । कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
काठमाडौं: प्यालेष्टिनी इस्लामी समूह (हमास)ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ । समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताउनुभयो । उहाँले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो । युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो, “कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।” यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।
पर्वत: जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो । उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उहाँले उल्लेख गर्नुभयो । बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताउनुभयो । बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो । उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको रु दुई सय ५० निर्धारण गरिएको छ । कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी रु चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । यो मूल्यअनुसार कोदोको कूल रु ८० हजार र नलको रु १६ हजार गरी नगरपालिकाले रु ९६ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उहाँले जानकारी दिनुभयो । राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गर्नुभयो । कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।
बाँके: जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिनुभयो । उहाँका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको रु १२ लाख ९४ हजार एक सय ५८ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका एकसय १७ वटा मुद्दामा एकसय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका छ सय ८१ ठाडो उजुरीतर्फ छ सय ६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु २४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर रु ४८ हजार आठ जरिवाना गरिएको छ । सोही अवधिमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ । त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्यलगायतका गतिविधिअन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।
रुकुम पश्चिम: रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ ।