काठमाडौँ:   मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो  क्षति पुर्‍याएको छ।   चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा ...

 पोखरा:    एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् ।  यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र भलिबल टिम सहभागी छन् ।  पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाएका छन् । महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।  यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ ।  प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फम्र्याटसमेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए ।  पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।  प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।  प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए ।        २ हजार सिट क्षमताको प्यारापिट हुने  पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पु¥याएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।  अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ । यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ ।  ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।  प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।   

काठमाडौं:    सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते  शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो । यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताउनुभयो ।

काठमाडौं:    विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले सोमबार अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ ।      विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो ।      अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडेनले गत हप्ता दिनभएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको छ ।       समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको सङ्ख्यामा मुस्किलले परिवर्तन भएको बताएको छ ।       विश्व आर्थिक मञ्चले डाभोसको अल्पाइन गाउँमा हुने वार्षिक बैठकमा व्यापारिक अधिकारी, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समूहका नेताहरूसहित करिब तीन हजार सहभागी हुने अपेक्षा गरेको छ ।  – चिन्ताको विषय के हो ? .... ‘नयाँ कुलीनतन्त्र’       आफ्नो पहिलो कार्यकालमा दुई पटक डाभोसको भ्रमण गर्नुभएका र सोमबार पदको शपथ लिने तयारी गर्नुभएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भिडियोमार्फत मञ्चको कार्यक्रममा भाग लिनुहुने अपेक्षा गरिएको छ ।       उहाँले आफ्नोसहित लामो समयदेखि सम्पत्ति सञ्चयको वकालत गर्दै आउनुभएको छ र अर्बपति एलन मस्कलाई प्रमुख सल्लाहकारको रूपमा गणना गर्नुभएको छ ।      “तपाईँले अहिले के देख्नुभएको छ भने आज एक अर्बपति राष्ट्रपतिले सबैभन्दा धनी व्यक्तिको समर्थनमा शपथ लिइरहेका छन् । त्यसैले यो विश्वव्यापी कुलीन वर्गको मुकुटको गहना हो”, अक्सफाम इन्टरनेसनलका कार्यकारी निर्देशक अमिताभ बेहरले ट्रम्प र मस्कलाई उल्लेख गर्दै एक अन्तर्वार्तामा भन्नुभयो, “यो एक विशेष व्यक्तिको बारेमा होइन । यो हामीले सिर्जना गरेको आर्थिक प्रणाली हो जहाँ अर्बपतिहरू अहिले आर्थिक नीतिहरू, सामाजिक नीतिहरूलाई आकार दिन सक्षम छन्, जसले अन्ततः उनीहरूलाई बढीभन्दा बढी नाफा दिन्छ ।”       बाइडेनको अमेरिकी कर संहितामार्फत अर्बपतिहरूलाई ‘उनीहरूको उचित हिस्सा तिर्न सुरु गर्न’ को आह्वान जस्तै वैश्विक वकालत समूह अक्सफामले असमानता र अत्यधिक सम्पत्ति घटाउन सबैभन्दा धनीमाथि कर लगाउन र ‘नयाँ कुलीनतन्त्र विघटन गर्न’ सरकारहरूलाई आह्वान गरेको छ ।      समूहले एकाधिकार तोड्ने, सिइओको तलब सीमित गर्ने र कर्पोरेशनहरूलाई कामदारहरूलाई ‘जीवनयापन ज्याला’ तिर्न सुनिश्चित गर्न नियमन गर्ने जस्ता कदमहरूको आह्वान गरेको छ । – सबैभन्दा गरिबहरूको अवस्था कस्तो छ ?       शीर्ष टेक कम्पनीहरू र एस एन्ड पी ५०० जस्ता स्टक–मार्केट सूचकाङ्कहरूका साथै सुनको मूल्य र बिटक्वाइन जस्ता क्रिप्टोकरन्सीहरूको लागि बलियो प्रदर्शनका कारण धेरै लगानीकर्ताहरूले २०२४ मा बलियो लाभ उठाए ।      गत वर्ष अर्बपतिको सम्पत्ति दुई खर्ब डलरले बढेको अक्सफामले जनाएको छ । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो र दैनिक पाँच अर्ब ७० करोड डलर हो ।       अर्बपतिहरूको सङ्ख्या २०४ ले बढेर दुई हजार ७६९ पुगेको छ र १० धनी व्यक्तिहरूको सम्पत्ति औसतमा एक दिनमा लगभग १० करोड डलर बढेको छ ।       विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै उक्त समूहले सन् १९९० देखि दैनिक छ दशमलव ८५ डलरभन्दा कम आयमा जीवनयापन गर्ने मानिसहरूको सङ्ख्यामा ‘मुस्किलले परिवर्तन’ भएको भन्दै लामो समयसम्म चलेको गरिबीलाई औँल्याएको छ ।        अक्सफामले अति–धनीहरूको तथ्याङ्कका लागि नोभेम्बरको अन्त्यसम्मको फोर्ब्सको ‘रियल–टाइम बिलियनेयर लिस्ट’ प्रयोग गरेको छ ।      यसको विपरीत सन् २०२४ मा प्रत्येक हप्ता कम्तीमा चार नयाँ अर्बपति ‘टकमरी ९अत्यन्त धनी०’ भएका थिए र अर्बपति सम्पत्तिको तीन–पाँचौँ भाग उत्तराधिकार, एकाधिकार शक्ति वा ‘क्रोनी कनेक्सन’ बाट आउँछ ।       औसतमा अक्सफामले कम र मध्यम आय भएका देशहरूले आफ्नो राष्ट्रिय बजेटको लगभग आधा ऋण भुक्तानीमा खर्च गरिरहेको बताएको छ ।       साथै समूहले युरोपमा ७९ वर्ष भन्दा बढीको तुलनामा अफ्रिकामा आयु ६४ वर्ष भन्दा कम रहेको बताएको छ ।  – के यो वर्ष डाभोसमा फेरि सामान्य जस्तै व्यापार हुनेछ ?       केही पश्चिमी देशहरूमा बलियो नेताहरूको उदय भइरहेको र व्यवसाय जगत्मा विविधता र जलवायु परिवर्तन जस्ता प्रगतिशील मुद्दाहरू कमजोर हुँदै गएको अवस्थामा अति धनी र गरिबबीचको बढ्दो खाडलका बावजुद मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने वार्षिक डाभोस सम्मेलनले यस वर्ष पनि पैसा कमाउने र सम्झौता गर्नेमा ध्यान केन्द्रित गर्ने सम्भावना छ ।       धेरै क्षेत्रमा एआईले धेरै सेतो–कलर रोजगारहरू बढाउन सक्छ र उद्योगहरूको शृङ्खलामा कामदारहरूलाई विस्थापित गर्न सक्छ भन्ने चिन्ताका बाबजुद अधिक दक्षता प्राप्त गर्न व्यवसायका लागि उपकरणका रूपमा कृत्रिम बुद्धिमत्ताको निरन्तर वृद्धि पनि डाभोसमा फेरि एउटा केन्द्रीय विषय हुनेछ ।       दोस्रो कार्यकालका लागि ट्रम्पको पुनरागमन सम्भवतः डाभोसमा धेरै मुखहरूमा हुनेछ । साथै युक्रेन र सुडानमा युद्ध लगायत जारी द्वन्द्वहरू र गाजामा उनीहरूको विनाशकारी १५ महिने युद्धलाई रोक्दै आइतबार हमास र इजरायलबीच सुरु भएको युद्धविरामको निरन्तरताको आशाहरू पनि चर्चामा हुनेछन् ।      मञ्चका आयोजकहरूले गत हप्ता नौ सय विशेषज्ञबीच गरिएको ‘ग्लोबल रिस्क्स रिपोर्ट’ को सर्वेक्षण जारी गरेका थिए । रिपोर्टमा देशहरूबीचको द्वन्द्व सबैभन्दा ठूलो चिन्ताको विषय रहेको, त्यसपछि चरम मौसम, आर्थिक टकराव, गलत सूचना र दुष्प्रचार र ‘सामाजिक ध्रुवीकरण’ – धनी र गरिबबीचको खाडलको सङ्केत – रहेको पाइएको थियो ।      विगतका वर्षहरूमा जस्तै बढी आर्थिक समानता, धनीहरूमाथि कर र अन्य मागहरूका लागि आह्वान गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए ।       केहीले डाभोसको सडकहरू अवरुद्ध गरे, केही ठाउँमा ट्राफिक अवरोध गरे र शुक्रबारसम्म चल्ने कार्यक्रममा केही सहभागीहरूको यात्रामा ढिलाइ गराए ।

काठमाडौं:    वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।        उनी यही माघ २ गते काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ ।   यो पनि पढ्नुहोस   वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने केसी पक्राउ

काठमाडौं:     मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।       मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा ग¥यो ।       स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।       बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए ।            त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी,  सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।      स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई÷दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् ।       प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

गोरखा:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।  गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रको विकास देशको प्राथामिकतामा हुनुपर्नेमा जोड दिनुभयो ।  “शिक्षा नै त्यस्तो आधार हो, जहाँबाट मुलुकको विकास र समृद्धि सम्भव छ, यसले अनुशासन र स्थिरताको आधार तयार गर्नसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि शैक्षिक क्षेत्रको सुधार गर्न वर्षौंदेखि अगाडि बढ्न नसकेको शिक्षा विधेयकलाई मेरै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पारित गरेर सदनमा छलफलका लागि पु¥याएको छ ।” शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार सम्भव रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागि राज्यले लिने प्रतिबद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताउनुभयो । “हामी कहाँ अझै पनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामो समय बितिसक्दा पनि शिक्षा ऐन नबन्दा समस्या भइरहेको छ ।” संविधानमा शिक्षालाई जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरेको भए पनि आवश्यक ऐन निर्माण नगर्दा र बजेट विनियोजन नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

काठमाडौं:    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिनुभयो ।  राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण व्यवस्थापनमा स्रोत अभाव रहेको जानकारी गराउँदै उहाँहरूले जलवायु परिवर्तनको असरले निकुञ्ज क्षेत्रमा खानेपानी र पोखरीको अभावले पनि केही चुनौती खडा गरेको बताउनुभयो । वरिष्ठ संरक्षण अधिकृतहरूले जङ्गली जनावरबाट मध्यवर्ती क्षेत्रका जनतालाई आक्रमण हुँदा तत्काल उद्धार तथा उपचार कोष र केन्द्रको व्यवस्थाको प्रबन्ध गर्न सुझाव दिनुभयो ।   राज्यले राजस्व उठाउनेतर्फ मात्र नभई राष्ट्रिय निकुञ्जकबाट पर्यटन प्रवर्द्धन,  होटल व्यवसाय र रोजगारी सिर्जनामा पुर्‍याएको योगदानलाई समेत भुल्न नहुने जनाउँदै उहाँहरूले मध्यवर्ती क्षेत्रका जनताले झेल्नुपरेको समस्या समाधान गर्न विशेष खाले योजना र बजेटको व्यवस्थाका लागि पहल गरीदिन अनुरोध गर्नुभयो । राष्ट्रिय निकुञ्ज आर्थिक समृद्धिका लागि पर्यटक भित्र्याउने मुख्य थलो भएकाले हिमाल, नदी, वन्यजन्तु, धार्मिकस्थल तथा जीव र वनस्पतिको संरक्षणमा राज्यले विशेष ध्यान पुर्‍याउनु पर्ने उहाँहरूको भनाइ थियो ।  विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिनुभयो । पूर्वाधार निर्माण गरिँदा वातावरण र वन्यजन्तुमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले संरक्षणको कार्य स्थानीय, निजी र सरकारी संयन्त्रको साझेदारीमा हुँदा फलदायी हुनेतर्क गर्नुभयो । उहाँहरूले वातावरणको समुचित सन्तुलन हुने गरी कानुन निर्माणमा ध्यान पुर्‍याउन सुझाव समेत दिनुभयो ।   यसअघि सदस्यहरूले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनताबीचको सहकार्य तथा मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्व घटाउन चाल्नुपर्ने कदमका बारे जानकारी  माग गर्नुभएको थियो ।

काठमाडौं:     उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताउनुभयो ।  “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिनुभयो ।  “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।”  कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गर्नुभयो ।    “मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।” बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उहाँको भनाइ थियो । “अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ”, गभर्नर अधिकारीले भन्नुभयो । कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उहाँको भनाइ थियो ।  बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताउनुभयो । वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उहाँले बताउनुभयो । बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्र्रवाहमा विशेष ध्यान पु¥याएको उहाँको भनाइ छ । नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते रु पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो ।  बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ । अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब रु दुई खर्ब छ अर्ब कर्जा लगानीमा रहिरहेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको रु दुई खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ ।  बैंकको अधिकृत पुँजी रु २५ अर्ब, जारी पुँजी रु १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने रु सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ ।       यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल बैंकको शेयरधनी सङ्ख्या करिब तीन लाख रहेको छ । आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिनुभयो ।

झापा:   मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।       मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।  प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।  दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् ।  उनीहरुकोे सिटी अस्पताल बुधबारेमा उपचार भइरहेकोे छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको छ ।