लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलकमा विकासले लय लिन थालेको बताउनुभएको छ । एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिनथालेको बताउनुभयो । सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उहाँको भनाइ थियो । “अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्न दुई ठुला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने उहाँको भनाइ थियो । “कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालन गर्न दुवै दल गम्भीर छन्”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । बर्तमान सरकारलाई बलियो बनाएर अघि बढ्दै एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेड बीच सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएको महासंघका अध्यक्ष किसान सुनारले बताए । समझदारी अनुसार, प्रभु ईन्सुरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउनेछ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु ईन्सुरेन्ससँग सहकार्य गर्नेछ । प्रभु ईन्सुरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका श्री किसान सुनारको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तर्फबाट महासचिव श्री निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख श्री राम महर्जन साथै प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेड तर्फबाट बजार विभाग प्रमुख श्री समिर तामाङ र वित्त विभाग प्रमुख श्री अरविन्द कुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष श्री किसान सुनारले भने, “यस समझदारीले सुनचाँदी व्यवसायीहरुको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बीमाको माध्यमबाट व्यवसायीहरु थप सुरक्षित महशुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन्।” प्रभु ईन्सुरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्लले भने, “हामीले विशेष रुपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।” समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरुमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रभु ईन्सुरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरुमार्फत व्यवसायीहरुको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रुपमा मात्र पठाउने गरिएको छ । उहाँले भन्नुभयो “निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ ।” समूहमा यात्रा गर्न या ठूला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ । भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्गे्र तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुईपाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्नसक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताउनुभयो ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उहाँले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।” लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताउनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।
महोत्तरी: माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् । पछिल्लोपटक माघे सङ्क्रान्तिसँगै बढेको लगातारको बाक्लो हुस्सु र त्योसँगै बहने चिसो स्याँठले दलित बस्तीका पराले झुप्रामा ओसले लछ्रप्प भिजाएको भुइँ अझै ओभाएको छैन । बस्ने भनौँ कि सुत्ने खरको भित्ता र परालको छानोका केही झुप्रा छन् । झुप्राभित्र न ओढ्ने, न ओछ्याउने केही छैन । केवल पराल ओछ्याइएको छ, त्यो पनि ओसले भिजेको छ । अहिले महोत्तरीका सबैजसो स्थानीय तहका गरिब बस्तीको अवस्था हो यो । खासमा मुसहर र बाँतर जाति समुदायका बस्तीमा जाडोको कहरले अझै छाडेको छैन । पुस मध्यपछिको शीतलहर काटेर अन्त्यतिर घाम देखिन थालेपछि यसपालिको कष्ट पार लगाइयो भन्ने सोचेका यस्ता बस्तीका गरिबले तिला सक्रायत (माघे सङ्क्रान्ति) राम्ररी मनाउन पाएनन् । आफ्ना अभाव र दुःख लुकाउँदै मनाइने तिला सक्रायत (माघे सङ्क्रान्ति) कै दिन बढेको हुस्सु र चिसो स्याँठले लगलगी मुटु कमाउने जाडो बढेपछि गरिब बस्तीमा पर्वको रौनक छाउन नसकेको ती बस्तीका दलित बताउँछन् । “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)। पारोजस्तै सो बस्तीका मुसहर र बाँतरका ५० परिवार अहिले राहत पर्खदैछन् । नजिकको भङ्गाहा–४ रामनगरको मुसहरी टोलकी हेमनी सदा मुसहर जाडोले कक्य्राएको शरीर अझै कतै काममा जानसक्ने नभएको बताउनुहुन्छ । “कतो काज कर नई जासकैछी, झुपडीमें आब न खाएके दाना अई, न पहिरके कोनो गरम कपडा” (जाडोले कतै काम गर्न जान सकेको छैन, झुप्रोमा अब न खाने अन्न छ, न न्यानो कुनै लुगा) हेमनी भन्नुहुन्छ, “आब नई बुझाइय, जे इ ठण्ड पार करब” (अब लाग्छ, यो चिसो काट्न सकिन्न) । हेमनी मात्र नभएर सो बस्तीका ३५ घर मुसहरको उस्तै अवस्था छ । जिल्लामा अति विपन्न अरु जाति समुदाय पनि छन्, तर मुसहर, बाँतर भने अन्यभन्दा निकै कष्टमा छन् । यी दुबै जाति समुदायजस्तै मेस्तर, डोम, खत्बे, हलखोर, चमार र पासवानसहितका दलित समुदायको अवस्था दयनीय देखिन्छ । यद्यपि, यी समुदाय बाँतर, मुसहरभन्दा आमरुपमा अलि उक्सेका जस्ता देखिन्छन् । कुनै बस्ती छिचोल्दा पराले झुप्राका गुजुमुज्ज बस्ती देखिएपछि सो ठाउँबारे अनजानले पनि यो मुसहर, बाँतरको बस्ती रहेछ भनेर लख काट्न सक्ने भङ्गाहा–४ को मुसहर बस्तीकै नजिकका ७५ वर्षीय वृदेवसिंह दनुवार बताउनुहुन्छ । मुसहर, बाँतरको भन्दा यी अरु समुदाय थोरै माथि देखिन्छन् । यिनमा पनि डोम, हलखोर र मेस्तर अरूभन्दा निम्सरा नै देखिने सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष एकडाराको भटौलिया बस्तीका प्रवीण कर्ण बताउनुहुन्छ । “मुसहर, बाँतरका उस्तै पराले झुप्रा हुन्छन्, यी दुबैको रहनसहन, चाडपर्व र कामको क्षेत्रपनि मिल्दाजुल्दा छन्”, कर्ण भन्नुहुन्छ, “यी समुदाय शिक्षा, स्वास्थ्य र अन्य विकासका अवसरबाट निकै पछि छन् ।” शिक्षा, स्वास्थ्यमा पहुँच र विकासका अन्य अवसरबाट पूरै बेखबर यहाँका मुसहर र बाँतरको मुख्य काम कृषि मजदुरी हो । आफ्नो गरिबी र अभावबारे भगवान्बाहेक कसैसँग यिनीहरुको गुनासो छैन । ‘न राख्ने अन्न, न साँच्ने धन’ आहानका लागि मुसहर, बाँतर उदाहरणमा उभ्याइन्छन् । गिरहतको (काम गर्न गइने धनी किसानलाई यिनीहरु गिरहत भन्छन्) खेतबारीमा गरेको कामबापतको बनी (पारिश्रमिक) ले ल्याएको अन्न यिनीहरु कहाँ सामान्यतया बासी रहन्न । ‘कुटी ल्यायो, भुटी खायो’ यिनीहरुका लागिको चलनचल्तीको अर्को आहान हो । पछिल्लो माघे सङ्क्रान्तिका दिनदेखि अचाक्ली बढेको जाडोबीच यिनको तातोको सहारा भनेको सडकमा फालिएका झुत्रा, पतिङ्गर र प्लास्टिकका टुक्रा जम्मा पारेर बालिएको ‘घूर’ (आगो सल्काइएको पतिङ्गर वा भूसको थुप्रो) हो । लछ्रप्प भिजेका यस्ता झुत्रा, प्लास्टिकका टुक्रा र पतिङ्गर राम्ररी नबलेर पचपची धुँवामात्र फाली रहे पनि यिनीहरुका सपरिवार त्यही ‘घुर’ वरिपरि बसेर ‘फू फू’ फुक्दै तातिने आसमा हात फैलाएर बसिरहेका देखिन्छन् । बस्तीका ससाना नानी नाङ्गो आङ्मै त्यही ‘घूर’ को सहारामा तातो खोजिरहेका देखिन्छन् । जिल्लामा मुसहर, चमार, पासवान, डोम र खत्बे धेरथोर सबै स्थानीय तहमा बसोबास गरे पनि हलखोर र मेस्तरको बसोबास जलेश्वर वरपर मात्रै भेटिन्छ । यसैगरी, बाँतर जिल्लाको भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् । मुसहर र बाँतरको मुख्य गुजारा खेती मजदूरीमा छ भने अन्य भने अरु काममा पनि देखिन्छन् । डोम सुँगुर पाल्ने र बाँसका चोयाको सामान बनाउँछन् । मेस्तर सरसफाइको काम गर्छन् । जिल्लामा कुल जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ भित्र यी सबै दलितको बसोबास झन्डै १५ प्रतिशतको हाराहारीमा छ । जिल्लामा मुसहर २७ हजार तीन सय ५२ र खत्बे १९ हजार ६ सय २५ जनसङ्ख्या रहेको २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्कले देखाएको छ । यसैगरी, डोम, हलखोर र मेस्तरसमेत १० हजारको हाराहारीमा छन् । जिल्लामा चमार २५ हजार दुई सय ३० र पासवान १७ हजार ६ सय नौ रहेको सो गणना तथ्याङ्कले देखाएको छ । बर्खाको भेल, गृष्मकालको गर्मी र शीतकालीन चिसो खेप्नु यिनीहरुको साझा नियति झैँ बनेको छ । राज्यका निकायहरुले दलित लक्षित ल्याएका कार्यक्रम पनि दुई÷चार टाठाबाठाबाहेक आम गरिबसम्म नपुगेको यहाँका बुद्धिजीवी बताउँछन् । “खै यिनीहरु जस्ताको त्यस्तै छन्, दलित लक्षित कार्यक्रम कहाँ पुग्छन् को नि !” औरही–१ का सामाजिक राजनीतिक कार्यकर्ता सरोज यादव भन्नुहुन्छ । पुस मध्यपछि शीतलहर बढ्दा कतिपय स्थानीय तहले गरिब बस्तीमा राहत उद्धार लगिने बताए पनि यहाँका गरिबले केही पाएका छैनन् । खासगरी दलितभित्र पनि मुसहर र बाँतरको अवस्था दलितभित्रकै अन्य जाति समुदायको भन्दा टिठलाग्दो छ । यस्तो बेला कोही दयालु आइहाल्छन् कि भन्ने आस लागे पनि आपूmहरुको दुःख हेर्न कोही नआएका भटौलियाको मुसहर बस्तीकी अइती सदा बताउनुहुन्छ । भटौलिया जिल्लामा मुसहरको निकै बसोबास भएमध्येको बस्ती हो । यहाँ एक सयभन्दा बढी मुसहर परिवारको बसोबास रहेको सो बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता विजय कर्णको भनाइ छ । मुसहर, बाँतर बस्तीमा किशोर र युवा उमेरका पुरुष देखिन्नन् । यी कामका लागि भारतको पञ्जाव, हरियाणा जाने गर्छन् । बस्तीमा महिला, ससाना नानीहरु र वृद्धवृद्धा मात्रै छन् । “के गर्नु हजुर, यहाँको बनीबुतोले मुखमा माड लाग्दैन, छोरा नाति पञ्जाव गएछन्, तिनैले ल्याउने पैसोले गुजारा चल्ने हो” औरही–७ को मुसहरीटोलका ६० वर्षीय भुठ्ठा सदा भन्नुहुन्छ, “यस्तै हो, भगवान्ले गरिबको जुनी दिएछ, काट्नु त पर्छ ।” जिल्लाका अति पछि परेका मुसहर र बाँतर परिवारमा मीठो खाने कुरा छोरा, नाति पञ्जाव जाने अघिल्लो रात र फर्केका दिन हुन्छ । जाने दिन साहु काढेर यिनीहरु भोेज गर्छन्, फर्केको दिन आफ्नो कमाईले । यसबाहेक चुनावका बेला उम्मेदवारहरुले ख्वाएका मासु–रक्सी यिनीहरु सम्झन्छन् । “चुनावबेर दु तीन दिन माउस आ दारु चल्लै, ओइके बाद कोई घुइरक नई आयल” (चुनावका बेला दुई÷तीन दिन मासु–रक्सी चल्यो, त्यसपछि त कोही फर्केर आएका छैनन्) भङ्गाहा–२ बखरीको मुसहरीटोलकी नाउँ बताउन नखोज्ने (यी समुदायका महिला अरूलाई आफ्नो नाउँ भन्न हिच्किचाउँछन्) महिलाले भन्नुभयो, “अखनी जाड स मरैछी, कोई नई तकैय” (अहिले जाडोले मर्न लाग्या बेला कसैले हेरेनन्) ती मुसहर समुदायकी महिलाले आफ्नो पीडा पोख्नुभयो । मुसहर, बाँतरसहितका दलितको अवस्था फेर्न उनीहरुले गर्दै आएका कामको विविधीकरण र नयाँ पुस्तालाई शिक्षा र भरपर्दो सीपसँग जोड्न स्थानीय तहहरुले योजनाबद्ध काम थाल्नुपर्ने भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ । यस दिशामा स्थानीयतह नेतृत्व उदासीन देखिँदा वर्षको एकपटक एक÷दुई छाक खान दिँदा वा एकसरो लुगा दिइँदैमा भने अवस्थामा सुधार नआउने उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गर्नुभएको हो । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ । प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गर्नुभएको छ । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ । कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
काठमाडौं: प्रमुख प्रतिपक्षसहितका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अविधेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा रासससँगको कुराकानीमा दलका प्रमुख सचेतकहरुले देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणलाई परिणाममुखी तुल्याइने बताए । सङ्घीय संसद्को अधिवेशन यही माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ । हिउँदे अधिवेशनलाई विधेयक अविधेशनका रुपमा लिइन्छ । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा विचाराधीन छन् । ‘पाँचौँ अधिवेशनबाट कानुन निर्माणमा अधिकतम उपलब्धि हासिल गर्छौं’ –महेश बर्तौला, मुख्य सचेतक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारले हिउँदे अधिवेशन आह्वान गरेको छ । यो विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयक पारित गर्ने अधिवेशनका रुपमा यसलाई स्थापित गर्न चाहन्छौँ । यसबीचमा भएका चार अधिवेशन कानुन निर्माणको दृष्टिकोणबाट फलदायी भएनन् भनेर टिप्पणी भइरहेको छ । अबको अधिवेशनबाट नयाँ २० भन्दा बढी कानुन पारित गर्नेगरी काम गर्छौं । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । विधेयक पारित गर्ने सन्दर्भमा सकभर शतप्रतिशत वा नभए ७० प्रतिशत प्रगति हासिल गर्छौं । संविधान कार्यान्वयनसँग सम्बन्धित कैयौँ कानुन निर्माण गर्नुपर्नेछ । यस अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक सदनलाई दिनेछ । सदनले ‘बिजनेस’ पाएन भनी सांसदले सरकारसँग गुनासो गर्नुपर्ने अवस्था अन्त्य गर्नेगरी विधेयक ल्याउने तयारी छ । दुईवटा विधेयक संसद् सचिवालयमा दर्ता भइसकेका छन् भने अन्य विधेयक ‘पाइपलाइन’ मै छन् । सृजनात्मक, रचनात्मक र बौद्धिक विमर्श हुने थलो संसद्मा समग्र राष्ट्र र जनताको विषय, विकास निर्माण र संसद्मार्फत सरकारलाई ध्यानाकर्षण गर्ने विषय बलशाली रुपमा अघि बढाउनुपर्छ । राष्ट्रिय महत्व र जनसरोकारका विषय तथा नीतिगत पक्षमा पनि बहस पैरवी गरिनेछ । संसद्मा सांसदहरुले विषय राख्ने तर सरकारले नसुन्ने भन्ने गुनासो आइरहने परिस्थिति अब अन्त्य गरिनेछ । सदनमा सांसदहरुमार्फत मुखरित भएका जनसरोकार र राष्ट्रिय सरोकारका विषय गम्भीरताका साथ ग्रहण गरी सम्पत्तिका रुपमा लिएर अगाडि बढ्नेछ । मौजुदा कानुनलाई समयानुकूल परिमार्जन र व्यवस्थित बनाएर कानुन निर्माण गर्न संसद् सफल भयो र जनसरोकारका विषय कार्यान्वयन गर्दै अघि बढेको सन्देश दिनेगरी काम गर्छौं । सांसद मात्रै होइन, मन्त्रीको उपस्थिति नभई सदन अघि बढ्दैन । संसदीय प्रक्रियामा उपस्थिति मात्र नभई सम्बन्धित मन्त्रीले पनि अर्थपूर्ण भूमिका खेल्नुपर्छ । हरेक सांसदलाई संसदीय मामिला तपाईंहरुको पहिलो प्राथमिकता हो भन्छौँ । संसदीय प्रक्रियामा सहभागिता र भूमिकाका आधारमा कार्यसम्पादन मूल्याङ्कनको विषय बनाइनेछ । यस अधिवेशनमा मन्त्रीको उपस्थिति नभएर बैठक बस्न नसक्ने अवस्था आउन दिनेछैनौँ । हरेक सांसदलाई सदन चलेका बेलामा कानुन निर्माणमा मात्रै केन्द्रित गराइनेछ । संसद्को बैठक, कोरम र प्रभावकारिताको जस तथा अपजसको भागेदार सत्तापक्ष र प्रतिपक्ष दुवै हुनुपर्छ । अधिकतम उपलब्धि हासिल गर्नेगरी अबको अधिवेशनलाई केन्द्रित गराइनेछ । ‘संसद्लाई ‘विजनेस’को अभाव हुँदैन’ –श्यामकुमार घिमिरे, प्रमुख सचेतक, नेपाली कांग्रेस यो विधेयक अधिवेशन हो । उक्त अधिवेशनबाट २० भन्दा बढी विधेयक पारित गर्ने लक्ष्य राखिएको छ । यो अधिवेशनको मूल लक्ष्य नै विधेयक परित गर्ने र पूर्वबजेट छलफल हो । यही विषयमा केन्द्रित हुन्छ । संसद्मा प्रतिपक्षीहरु सङ्गठित हुने र आफ्ना विचार राख्ने लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो । यसका बाबजुद पनि विधेयक निर्माणमा सहयोग तथा सहकार्य गर्ने नेपाली राजनीतिको स्वाभाविक र असल अभ्यास छ । त्यसकारण विधेयकलाई निष्कर्षमा पु¥याउनेमा सबैको सहयोग, समन्वय हुन्छ नै । अध्यादेशबाट जारी भएका विषय तोकिएको समयभित्र सदनबाट पारित गर्नुपर्छ । विचाराधीन विधेकयमाथिको प्रक्रिया तीव्र गतिमा अघि बढेको तथा केही नयाँ विधेयक सरकारले दर्ता गरेकाले पनि यस अवधिवेशनमा संसद्ले पर्याप्त मात्रामा ‘बिजनेस’ पाउनेछ । ‘सरकारले बाटो बिराउन खोजे खबरदारी गरिरहेनछौँ’ –माधव सापकोटा, सांसद, नेकपा (माओवादी केन्द्र) हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनुपर्छ । विद्यालय शिक्षा, सङ्घीय निजामती, प्रहरी विधेयकलगायत विधेयक पाइपलाइनमा छन् । मूल रुपमा संसद् र सांसद विधेयक अधिवेशन भएकाले त्यसैमा लाग्नुपर्छ । प्रतिपक्षीले सरकारका कामकारबाही र क्रियाकलापलाई लिएर जुन अडान लिइरहेका छन् सार्वजनिक रुपमै विपक्षी दलहरुले धारणा सार्वजनिक गरिसकेका छन् । तिनै विषयवस्तु र मुद्दालाई लिएर प्रतिपक्षले सदनमा बहस गर्नेछ । संसदीय समितिमा छलफलका क्रममा रहेका विधेयक फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संसद्लाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरु अध्यादेशमार्फत ल्याइएको, देशमा महँगी र सार्वजनिक ऋण बढेको, आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन नसकेकालगायत विषयवस्तु प्रखर रुपमा उठाइनेछन् । ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दललाई मात्रै सीमित तुल्याउन नहुने र शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएका विषयमा पनि सदनमार्फत जनतालाई जानकारी गराइनेछ । जनअपेक्षाअनुरुप काम गर्न, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न सदैव सरकारलाई खबरदारी गरिरहेनछौँ । ‘जनताको अधिकार सङ्कुचित गरिए बेजोड आवाज उठाउँछौँ’ –सन्तोष परियार, प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी एउटा जिम्मेवार प्रतिपक्षका हिसाबले लामो समयदेखि सरकारलाई हामीले मूलतः हिउँदे अधिवेशन सुरु गर्न आग्रह गरिरहेका थियौँ । हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने भएकाले सभामुखसँग छलफल गरी समयमै सदन खोली संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन तर्जुमा गर्न पाए हुन्थ्यो भन्ने धारणा थियो । सरकारले अलि ढिला गरे पनि हिउँदे अधिवेशन बोलाएको छ । यो स्वागतयोग्य नै छ । रास्वपा सरकार र सदनलाई दुईवटा अङ्गका रुपमा बुझ्दछ । सरकारका कामकारबाहीको निगरानी र कानुन निर्माण गर्ने संसद्को प्रमुख जिम्मेवारी हो । देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणमा सशक्त र प्रभावकारी रुपमा काम गर्छौं । सरकारले गरेका गलत कार्यको संसद्मा बेजोड तरिकाले निगरानी गर्छौं र त्यससम्बन्धी मुद्दा उठाउँछौँ । महँगी, बेरोजगारीलगायत नेपाली जनताका मुद्दा सदनमा उठ्नुपर्छ । पछिल्लो समय सत्ताधारी दलका मुख्यसचेतकसँगको अनौपचारिक छलफलमा भएको सहमतिअनुसार विषयगत समितिलाई पनि प्रभावकारी ढङ्गबाट अगाडि लैजाने र कानुन निर्माण प्रक्रियालाई पनि सहज बनाइनेछ । सदनको गएका चारवटा अधिवेशनमा १२ वटा मात्र विधेयक पारित भएकाले आगामी अधिवेशनलाई कानुन निर्माण, जनताको मुद्दा उठाउने, सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्धमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइनेछ । सरकारको कामको गुण र दोषका आधारमा हाम्रा प्रस्तुति रहन्छन् । रास्वपाको प्रतिपक्षीय भूमिका विगतमा पनि राम्रो थियो भन्ने लाग्छ । अहिले पनि सदनमा चौथो ठूलो दलका रुपमा प्रतिपक्षमा बसिरहँदा सदन विशेषतः प्रतिपक्षको हो । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष प्रभावकारी भएन भने सदनको गरिमा घट्छ । जनताका मुद्दाका हिसाबमा राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी प्रतिपक्षी चरित्रलाई प्रभावकारी बनाउँछ । कानुन निर्माण गर्ने क्रममा रास्वपा प्रतिपक्षमा रहिरहँदा पनि संविधानले व्यवस्था गरेका जनताका अधिकार सुनिश्चित गर्न र राज्य सञ्चालन गर्ने आवश्यक पर्ने कानुन बनाउन सतापक्षसँग मिलेर काम गर्नेछौँ । तर सरकारले जनताको अधिकार सङ्कुचित गर्ने कार्य गर्छ भने सदनमा बेजोड आवाज उठाउँछौँ । सदनले सदैव सरकारलाई निगरानीमा राख्छ । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । ‘संविधान कार्यान्वयनदेखि जनसरोकारका विषय प्राथमिकता बन्नुपर्छ’ –प्रभु साह, सांसद, आम जनता पार्टी संविधान कार्यान्वयन, प्रदेश र स्थानीय तहका हकअधिकार, सुशासन, शान्ति प्रक्रिया र जनसरोकारका विषयलाई प्राथमिकताका साथ सदनमा उठाइनेछ । संविधान जारी भएको दशक पुग्न लागे पनि अझै त्यससँग सम्बन्धित कानुन निर्माण हुन सकेका छैनन् । अत्यावश्यक कानुन नहुँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था छ । सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरीलगायत विधेयक संसद्मा विचाराधीन छन् । यी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न सरकारको ध्यानाकर्षण गराइनेछ ।
ललितपुर: ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् । ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जन बताउनुहुन्छ । मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो । विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ । उहाँ भन्नुुहुन्छ, “हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ, नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ ।” आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो ।” नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीय बताउँछन् । उहाँका अनुसार, ऐतिहासिक मौलिक घर भत्किएपछि वाद्यवादनका सामग्री अर्को साथीको घरमा सारिएको छ । मौलिकता संरक्षण गर्नेहरूका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ । मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ । नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ । खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गर्नुभएको थियो । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्र्खाइमा रहेको छ । ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ । खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण गरेको वडाध्यक्ष महर्जन बताउनुहुन्छ । उहाँका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ । खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनःनिर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भूकम्पपछि मौलिक घर भत्केपछि धेरैले नयाँ घर निर्माण गर्नुभयो, हामीले मौलिकता बचाउनका लागि नयाँ घर पनि नेवा शैलीमा निर्माण गर्न लगाएका छौँ, नेवा शैलीमा निर्माण भएका घरहमा सटर राखिएको छैन, काठ प्रयोग गरिएको छ, मौलिकता बचाउनका लागि स्थानीयसँग बसेर छलफल गरेका छौँ, त्यस्तै खोकनाको मुख्य नेवा बस्तीको घरजग्गा किनबेच हुँदैन, संस्कृति बचाउनका लागि हामीले भाषासहित बालबालिकाहरूलाई नेवार परम्पराअनुसार खेलिने खेल खेलाइरहेका छौँ ।”
काठमाडौं: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले रु २८ लाख, कार्कीले रु एक र बिष्टले रु दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डङ्गोललाई पक्राउ गरिएको छ । नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ परेका छन् । निजले ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा सूचना सत्य भएको जानकारी भएपछि उनलाई धुलीखेलबाट सोमबार पक्राउ गरिएको उक्त समाचारकक्षले जनाएको छ ।