काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भन्नुभयो, “सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।” त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ । उद्योगमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भएको भन्ने गुनासो समितिमा आएको उल्लेख गर्नुहुँदै सभापति पोखरेलले उद्योगमा के कति लोडसेडिङ छ भनेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग पनि जवाफ माग गर्ने निर्णय भएको बताउनुभयो । समितिले आज सिमेन्टको मूल्य बढेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घसँग छलफल गरेको थियो ।
ढोरपाटन: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उहाँले आग्रह गर्नुभयो । सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताउनुभयो । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग समबोधन गर्दै गएको छ, देशमा कहिले कोभिडले, कहिले अन्य प्रकोपले गर्दा आर्थिक अवस्था खस्कँदो थियो, अहिले चलायमान हुँदै गएको छ । नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।” सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं: आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।
पोखरा: माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । देशको एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्य तथा साझेदारी केवल खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो प्रतियोगीतामा एनसेल प्रमुख प्रायोजनका रुपमा आवद्ध भएको हो । यसअघि एनसेलले नेपाल प्रिमियर लिगका लागि क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग ‘पावर्ड बाई एनसेल’ साझेदारका रुपमा सहकार्य गरेको थियो । खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने एनसेलको अपेक्षा छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँग पनि सहकार्य गरेको छ । यस सहकार्यमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितहरुमा सहभागिता जनाउन सहयोगका साथै कम्पनीले क्रिकेट, फुटबल, भलिबल र गल्फलगायतका खेलमा सहयोग प्रदान गर्दै आएको छ । माघ १९ गतेसम्म चल्ने टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । ‘सबै मौसममा पर्यटन भन्ने नारालाई आत्मसाथ गर्दै तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।’ अध्यक्ष गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदलाई जोडिएको बताए ।‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएका छौं । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ । क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।
तनहुँ: निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिइ सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । खम्बाको टुप्पोमा काठको ढकनी लगाइएको छ । त्यसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त खम्बा जडान गरिएका हुन् । नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब छ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब २०० रोपनी जग्गामा सञ्चालित केन्द्रमा नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसाहारी पंक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खान्छन् । गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रुपमा आहारा लिनुपर्ने बाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए । प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको स्थान परिवर्तन गरी त्यस नजिक खम्बा जडान गरी आरामस्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिवृद्धि र बासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रका रुपमा विकास गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ । साथै आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि सेती तथा मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ । व्यासका वडा नं ३, ४, ५, ६, ७ तथा १०, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिकाका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिकाका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ । तीन प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत रहेको छ ।
खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भए । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर...’ बोलको गीत गाएका थिए । विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय रहेका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साङ्गीतिक क्षेत्रमै भविष्य खोजिरहेका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनबाट ब्याटल अडिसनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् । चारजना प्रशिक्षक रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिसनका लागि छनोट भएका प्रदीपले प्रशिक्षक उदय सोताङलाई रोजे । आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाएका चर्चित गायिका मेलिना राई र गायक तथा सङ्गीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सङ्गीतकार सोताङसँग जानेक्रममा अन्य प्रशिक्षकहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिए । घरपरिवार तथा विशेष गरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साङ्गीतिक यात्रामा लागेको बताउँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गरे । खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिसनकै क्रममा बताएका छन् । किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सङ्गीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त गरिसकेका छन् । प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिसन भने गुमाउने भएका छन् । ब्लाइण्ड अडिसनमा बेजोड प्रस्तुति दिएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका छन् । अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरहेका प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताए । “जहाँ रहे पनि जसरी भए पनि गीत÷सङ्गीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ, कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उनले ब्लाइण्ड अडिसनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेखेका छन्, “खैर सम्पूर्ण शुभचिन्तकप्रति माया र हौसलाका लागि आभारी छु, मेरो गीत÷सङ्गीतसँगको यात्रा जारी रहिरहनेछ ।” साङ्गीतिक कक्षासँगै औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ सम्मको अध्ययन पूरा गरेका प्रदीपलाई साङ्गीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताए । केही वर्षअघि नै साङ्गीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिँदै प्रदीपले पुनः गीत÷सङ्गीतमै फर्किन प्रशिक्षक मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे...’ बोलको गीतले प्रोत्साहन गरेको बताए । भ्वाइस अफ नेपालको ब्याटल तथा अडिसनका प्रतिस्पर्धीलाई विदेशबाटै भए पनि अडिसन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्रले बताए । “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन, साङ्गीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह ग¥यौँ, परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ, तर देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उनले भने, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ, भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिसन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिसनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ ।” पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल..., रगतको नाता...’लगायत विभिन्न गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत÷सङ्गीतकै क्षेत्रमा योगदान गर्ने बताएका छन् ।
काठमाडौं: आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको हो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् । अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।