काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको आज बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने र पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी बनाउँदैछ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोलीले सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । अरुणा नेपाली भबिलककै सर्वाब्धिक सफल कप्तान हुन् । एक दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । उनले गत असोजमा भएको एभरेष्ट महिला भलिबल लिगमा चितवन शक्तिको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उनकै प्रशिक्षणमा एभरेष्ट भलिबल क्लबले पहिलो पटक एनभिए महिला भलिबलको उपाधि जितेको थियो । प्रशिक्षक घिमिरेले टोलीमा तीन विदेशी खेलाडी अनुबन्ध गरेका छन् । अनुबन्ध हुनेमा थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात छन् । अम्फा मिडल ब्लकर हुन् भने जान्तिमा र नान्तिकान आउट साइड हिटर हुन् । तिनै जना खेलाडी थाइल्यान्डमा जारी लिग खेलेका टोलीका खेलाडी रहेको टोलीका प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । ‘उहाँहरु थाइल्यान्डको लिग खेलेका टिमका खेलाडी हुनुहुन्छ । लिगको टप–८ बाट बाहिरिएको टोलीका सदस्य हुनुहुन्छ । उहाँहरुको खेल हेरेको राम्रै छ,’ उनले भने । टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको प्रशिक्षक घिमिरेले बताए । प्रशिक्षक घिमिरेकाअनुसार विदेशी खेलाडीसँगै टोलीको प्रशिक्षण गर्न एक दिनमात्रै हुनेछ । ‘उहाँहरुसँगै टेनिङ गर्न एक दिन मात्रै हुने हो । इन्डिभिजन सबै राम्रो छ । टिम कम्बिनेशनको डर हो,’ उनले भने, ‘कसरी हुन्छ विजयी हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । टिम कम्बिनेशन मिल्यो भने उपाधि जित्छौं ।’ व्यक्तिगत रुपमा अहिले पनि खेलाडीले टेनिङ गरिरहेको प्रशिक्षक घिमिरले बताए । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
म्याग्दी: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई उत्साही बनाएको बताउनुभएको छ । बेनीमा आज आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औँद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको बताउनुभएको हो । गत पुस अन्तिम हप्ताको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । “सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,” अध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।” नेपाल उद्योग वाणिज्य सङ्घको अगुवाइमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताउनुभयो । कोरोना महामारी, रूस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण सङ्कुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको उहाँले प्रष्ट्याउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षणका लागि महोत्सव सफल भएको बताउनुभयो । पुस २८ गतेदेखि सुरू भएको महोत्सवमा स्थानीय, औँधोगित उत्पादनका दुई सय ३० वटा व्यापारिक स्टल थिए । खेलकुद, लोकदोहोरी गीत, मौलिक गीत र नृत्य, कृषि मेला प्रदर्शनी, कलाकारको गीत तथा नृत्य प्रस्तुति रहेको महोत्सवमा रू १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गोरखा: नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गर्नुभयो । “राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भन्नुभयो, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।” अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भन्नुभयो, “२००७ साल, ०४७ साल, ०६२र०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।” सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उहाँको भनाइ छ । “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यकपर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाउनुभयो । “एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ”, सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले, “आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।” एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझावसहितको कार्यपत्र प्रस्तुत गर्दै एआइको भविष्य, चुनौती र अवसरबारे स्पष्ट भएर नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । एआईसम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानार्कषण गराउनुभएको थियो । छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन अब सरोकारवाला माझ पुग्ने बताउनुभयो । अहिलेसम्म विज्ञहरूको सुझाव दिइएको र अब छिट्टै सरोकारवाला माझ मस्यौदाका विषयमा छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले एआई नीति सबैको आवश्यकता र चासोको विषय भएकाले प्रभावकारी नीति बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो । त्यस्तै, मन्त्रालयका सूचना प्रविधि विज्ञ डा शालिग्राम पराजुलीले एआई क्षेत्रलाई ‘अटोनमस बडी’ को रूपमा लानुपर्ने बताउँदै जनस्तरबाट प्राप्त सुझावको भावनाअनुरूप नीति तयार पारिने बताउनुभयो ।
ढोरपाटन: उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पार्नुभयो । सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन गर्यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।” देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका हरेक कार्यकर्ताले सङ्गठनलाई मजबुत बनाउनुपर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नुपर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।
गोरखा: स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटनामा हुँदा स्कुटर चालक २४ वर्षका सुरेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो । तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उहाँको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आउनुभएको थियो । दुर्घटनाग्रस्त स्कुटर र शव आज फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो । स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीव्रगतिका कारण स्कुटर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।” आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताउनुभयो । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो ।
लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलकमा विकासले लय लिन थालेको बताउनुभएको छ । एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिनथालेको बताउनुभयो । सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उहाँको भनाइ थियो । “अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्न दुई ठुला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने उहाँको भनाइ थियो । “कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालन गर्न दुवै दल गम्भीर छन्”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । बर्तमान सरकारलाई बलियो बनाएर अघि बढ्दै एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।