सीप अनुसारको रोजगारी नहुँदा विदेशिँदै युवा

सिन्धुली | फागुन २६, २०८१

सीप अनुसारको रोजगारी नहुँदा विदेशिँदै युवा सांकेतिक तस्वीर

सिन्धुली: सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर शहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिनुभयो पुजन बस्नेत ।

    
उहाँ तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुनुहुन्छ । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गर्नुभएको छ । उहाँसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन । 

    
बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो ।

    
उहाँले भन्नुभयो, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।” रोजगारीका लागि विदेशिने निर्णय उहाँको रहर नभएर बाध्यता हो । त्यसो त उहाँले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिनुभएको थियो । १५ पटक परीक्षा दिनुभयो । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन । 

    
हुन त पुजनले जिल्लास्थित एक संस्थामा काम गरिरहनु भएको छ । तर श्रमअनुसारको पारिश्रमक नपाउँदा उहाँमा नैराश्यता छाएको छ । विहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उहाँको गुनासो छ । 

    
यो केवल बस्नेतको कथा मात्र होइन । उहाँ जस्ता धेरै युवाहरु यही बाध्यताले विदेशिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् । 

    
बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा हुनुहुन्छ । उहाँ पढाइलाई निरन्तरता दिने वा  अधुरै छाड्ने भन्ने अन्योलमा हुनुहुन्छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भन्नुभयो । 

    
सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।

    
पुजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् । 

    
जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । 

    
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा वर्षेनी १० हजार युवा जिल्लाबाट विदेशिएका छन् । 

    
वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेशिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भएपनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन । 

    
सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भइ फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ । 

    
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन । 

गोरखा:  भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको ...

थप पढ्नुहोस्

तनहुँ:  भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जन...

थप पढ्नुहोस्

सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।  राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबा...

थप पढ्नुहोस्