काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको हो । साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
झापा: मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।
काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुन:सञ्चालनमा आएको छ । अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो । सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।
काठमाडौं: कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँच बुँदे परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खनन्मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न÷गराउन परमादेश जारी गरेको हो । उक्त परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाइ लागु गर्न आदेश दिइएको छ । परमादेशमा भनिएको छ, “छ वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७५, नेपाल सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ समेत कार्यविधि र मापदण्ड प्राकृतिक स्रोत संरक्षण गर्नका लागि नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाई लागु गर्नु ।” देशभरका खोला तथा नदीमा भएको अवैध उत्खनन् रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए । सोही रिट निवेदनमाथीको सुनुवाइपछि सर्वोच्च अदातले उक्त परमादेश जारी गरेको हो । अदालतले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा १७ मा नदीजन्य पदार्थको उत्खनन् गरिने स्थानको लम्बाई चौडाइ तथा गहिराईसहितको चार किल्ला उत्खनन् गर्ने अवधि र समय, प्रयोग गरिने साधनसमेत जानकारीसहित उत्खनन्स्थलमा सूचना पाटी अनिवार्यरुपमा मिलाउनु पर्नेछ भन्ने व्यवस्था भएता पनि हालसम्म स्थलगत अध्ययनवाट सूचनापाटी राखेको नदेखिएकाले कार्यस्थलमा सूचनापाटी अनिवार्य राख्नु र सोको अनुगमनसमेत गर्नु भनी विपक्षीको नाममा परमादेश जारी गरेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो । “वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ”, उहाँले भन्नुभयो, “कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ ।” यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार “बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीसूचक संस्थाहरूका लागि निर्देशन”को व्यावहारिक कार्यान्वयन र परिपालना सुनिश्चित गर्न आभूषण व्यवसायीहरू र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघले शुभारम्भ गरेको “स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी” राष्ट्रिय अभियान अन्तर्गत आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नायव सुब्बा प्रकाश सापकोटाले व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी कानूनी दायित्व, पारदर्शिता कायम राख्ने उपाय, प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, तथा व्यवसायमा इमानदारिता र निष्ठा कायम राख्ने विषयमा अभिमुखीकरण गराए । त्यसैगरी, विशेष अतिथिका रूपमा उपस्थित सोही विभागका निर्देशक श्री जनार्दन आचार्यले सशक्त व्यवसायिक अभ्यासले मात्र व्यवसायको दीर्घकालीन विकास सुनिश्चित हुनेमा जोड दिए । कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई कानूनी दायित्व पालनामा अभिप्रेरित गर्नु, नियामक निकाय र व्यवसायीहरूबीच सहकार्यलाई बलियो बनाउनु, र व्यवसायमा इमानदारी, पारदर्शिता, तथा निष्ठालाई प्रवर्द्धन गर्नु रहेको थियो। उक्त कार्यक्रममा करिब १२० जना व्यवसायीहरुको (भौतिक र अनलाइन, जुम माध्यमबाट) सक्रिय सहभागिता रहेको थियो ।
पोखरा: गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यको भनाइ थियो । त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्नुपर्नेमा उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए । विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोगलाई निरन्तरता दिने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । प्रहरी उपरीक्षक ओलियाले महोत्सव महोत्सव मात्र नभइ महाउत्सव समेत भएकाले आर्थिक क्रियाकलाप चलायमान संगै महोत्सवले मौलिकता र ऐतिहाँसिकतालाई झल्काउने र एक आपसमा सामाजिक सद्भाव समेत कायम गराउने वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गरे । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए । त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताए । अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । पोखरा महोत्सव बिद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि बेसलाइनलाई पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि वेसलाइन ईङ्ग्लीस बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा १३ टीमलाई पछाडि पार्दै बेसलाइनको उपाधी संगै नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रमले दोश्रो स्थान सहित नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विभूती शिक्षा सदनले तेश्रो स्थान सहित नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्तवना स्थान सहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मन कुमार गुरुङ, महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सागरलाई खुल्ला बुद्धिचालको उपाधी त्यसैगरी महोत्सवको अवसरमा आयोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी सागर साईले जितेका छन । उपाधी सहित साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महेश्वर अधिकारी प्रतियोगिताको उपबिजेता सहित नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बुद्धिराज शर्माले तृतिय स्थान सहित नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा निशान पौडेलले शान्तवना स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दशौं स्थान भित्र पर्न सफल भीम प्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रन्जन कुँबर, गोविन्द बराल, र एन्जल शाही ठकुरीले जनही नगद २ हजार र मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिनोद नाल्मी, पोखरा महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ, चिफ आर्बेटर श्याम शुन्दर ताम्राकार, नरेन्द्र रानाभाट, राम बहादुर क्षेत्री, क्लबका पूर्व अध्यक्ष एवं खेलकुद समिति संयोजक सुक बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी महोत्सवमा आयोजिक टिकटक प्रतियोगिताको उपाधी गोले लामाले जितेका छन । आशीष इन्स्टीच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका बिजेता गोले लामाले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महोत्सवको मुख्य प्रायोजक बेटरको स्टलबाट सामाग्री खरिद गरेका मध्ये लक्की ड्रको माध्यामबाट पोखरा ९ का गणेश रानाले १।५ टनको बेटर एसी प्राप्त गर्न सफल भएका छन । रानाले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर खरिद गरेका थिए । त्यस्तै पोखरा १४ का साहारा लामिछानेले किंग राइकुकर खरिद गरि प्राप्त गरेको कुपनबाट बेटरको २५ लिटरको इलेक्ट्रिक गिजर बेटर मोनाको प्रो २५ र बेटरको ९० सेन्टिमिटरको तीनवटा बाफेल फिल्टर र मोसन सेन्सर भएको चिम्नि बेटर ब्रेथ प्रो ९० ग्लासहुड चिम्नी प्राप्त गरेका छन । तेश्रो बिजेता पोखरा १४ का तनिश तामाङले प्रेसर कुकर खरिद गर्दा बेटरको तीन बर्नर भएको बिल्ड इन हब चुलो बेटर युरोपा टफटेन थ्री प्राप्त गरेका छन । उक्त बिजेताहरुले बेटरको नयाँबजारमा रहेको शोरुमबाट उपहार प्राप्त गर्ने सक्ने बेटरका चिफ अप्रेसन अफिसर सर्वज्ञ अधिकारीले बताए । महोत्सव स्थलमा राखिएको भिजनलिंक एजुकेशन कन्सल्टेन्सीको स्टल मार्फत पोखरा भद्रकालीका प्रस्ताव ढकाल, मियापाटनकी सुनिता गौतम, रानीपौवाका अरमन अली, पोखरा ७ की गरिमा शर्मा, हस्पिटलचोकका राजेश तिवारी, अमरसिंहकी अन्जिला खत्री, पोखराका शिवजी प्रसाद गुप्ता, भेडिफर्मका सइरास गुरुङ, पोखराका प्रतिमा परियार र अमरसिंहका हरिकृष्ण खरेलले कन्सल्टेन्सीबाट सञ्चालित कुनैपनि कक्षामा निशुल्क सेवा प्राप्त गर्नेछन ।
पोखरा: ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा संस्थाको सफलताको कामना गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीहरूको विक्री वितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उहाँको भनाइ छ । टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । व्यवसायिक एकतासँगै एकआपसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायीहरू संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा कृयाशिल बन्दै अघि बढेको धारणा राख्नुभयो । टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्रबहादुर जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू रामु गौतम, नारायण सापाकोटा, नवराज अधिकारी, चन्द्र पौडेल, राम गिरी लगायत पोखरामा कृयाशिल पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । उक्त अवसरमा कार्यक्रमका सहभागीले पोखरा–३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेष्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भैरहेका सेवा सुविधाबारे जानकारी लिएका थिए । करिब १२ करोड रुपैयाँ लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ«े सहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । पर्यटकस्तरीय सुविधासम्पन्न २२ वटा कोठाका साथै सभाहल समेत रहेको रिसोर्टबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
काठमाडौं: चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र संलग्नलाई आवश्यक कारबाहीका लागि निर्देशन भइसकेको जानकारी दिनुभयो । आजै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ । अस्थायी प्रहरी विट गणेशधामका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न देखिएकाले उनलाई निलम्बन गरी कारबाही थालिएको जिल्ला प्रहरी चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।