पर्वत: जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो । उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उहाँले उल्लेख गर्नुभयो । बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताउनुभयो । बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो । उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको रु दुई सय ५० निर्धारण गरिएको छ । कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी रु चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । यो मूल्यअनुसार कोदोको कूल रु ८० हजार र नलको रु १६ हजार गरी नगरपालिकाले रु ९६ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उहाँले जानकारी दिनुभयो । राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गर्नुभयो । कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।
बाँके: जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिनुभयो । उहाँका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको रु १२ लाख ९४ हजार एक सय ५८ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका एकसय १७ वटा मुद्दामा एकसय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका छ सय ८१ ठाडो उजुरीतर्फ छ सय ६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु २४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर रु ४८ हजार आठ जरिवाना गरिएको छ । सोही अवधिमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ । त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्यलगायतका गतिविधिअन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।
रुकुम पश्चिम: रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
मनाङ: पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो । सबइञ्जिनीयर अधिकारीले भन्नुभयो, “मनाङतर्फको सडक निर्माणमा मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।” बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु ५१ करोड बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो । प्रबन्धक प्रधानले भन्नुभयो, “ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन । मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पु¥याइरहेको छ ।” मनाङको चामे गाउँपालिका–१, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्नेगरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताउनुभयो । उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको हो । आयोजनामा नेपाली साझेदार बिपिसिले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेगरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ । आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिनुभयो । वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
हेटौंडा: भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ । शनबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् रू १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो । त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् रू १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै रू दुई खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् रू ५९ अर्ब तीन करोड प्राप्ति भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो । गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवम् वडाध्यक्ष हरि बहादुर क्षेत्रीले प्रतियोगिताले समग्र माछापुच्छ्रेँ गाउँपालिकाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे । माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब।तामाङले बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ । भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।