हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी

तनहुँ | फागुन २२, २०८१

हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी

तनहुँ:  जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो । 

    
बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो । 


त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।   

    
“पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु”, ढकालले भन्नुभयो ।

    
उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा । 


पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । 

    
तरकारीखेती गरिरहेको सबै जग्गा भने उहाँको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ । 


उहाँले भन्नुभयो, “उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।” 

    
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ । 

“तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए ।  अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै”, ढकालको भनाइ छ । 

    
हाल उहाँकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । रु ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो । 


“कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ”, उहाँले खुसी साट्नुभयो ।   

    
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो । 


“कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो”, उहाँको कथन छ, “यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।” 

काठमाडौं:  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यत...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज...

थप पढ्नुहोस्

गण्डकी:  पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।  पुरानो भवन मर्मतसम्भ...

थप पढ्नुहोस्