काठमाडौं: निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्यव्यवस्था समितिमा विचाराधीन सो विधेयकले निजी क्षेत्रलाई धप धराशायी बनाउने र लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यव्यवस्था समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ मा निजी क्षेत्रको सम्बन्धमा प्रस्तावित मस्यौदाका व्यवस्थाले निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्र भित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको छ । यसले निजी क्षेत्रको लगानीसमेत निरुत्साहित हुनेछ ।” चेम्बरले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरतामा जोड दिएको छ । नीतिगत स्थिरता भएमा मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिने चेम्बरले उल्लेख गरेको छ । एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । मुख्यसचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “नेपालको बैंकिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने निश्चयनै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ र आर्थिक वृद्धिमा नै असर पुग्नेछ ।” यस्तै राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालयअन्तर्गत ल्याउन पनि चेम्बरले आग्रह गरेको छ । नवनियुक्त मुख्यसचिव अर्याललाई सुझाव दिने क्रममा निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै सच्याउन आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गाको कर्जामा आम्दानीको स्रोत दुई गुणा देखाउनु पर्ने राष्ट्रबैंकको नीतिका कारण यो क्षेत्रमा समस्या देखिएको बताउनुभयो । उपाध्यक्ष दीपक श्रेष्ठले विदेशी कम्पनीलाई प्याटेन्ट अधिकार दिँदा नेपाली उद्योगमा पर्ने असरबारे ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा मुख्यसचिव अर्यालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । चाडपर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने अर्यालले बताउनुभयो ।
गण्डकी: गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउँ पग्लेर खोलाको बहाव पुरानै स्थितिमा फर्केपछि विपत्ले ठूलो रुप लिन पाएन । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दुवै पटक एकै ठाउँबाट हिमपहिरो खसेको बताउनुभयो । “यो हिमपहिरोलाई सामान्य ढङ्गले बुझ्नुहुँदैन, विश्वव्यापी जलवायु सङ्कटको प्रत्यक्ष सम्बन्ध यसमा छ”, उहाँले भन्नुभयो, “हिउँको ठूलो ढिस्को नै खसेर घट्टे खोला थुनिएको थियो, यो घटनाले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।” उहाँका अनुसार विसं २०७८ कात्तिकमा मानापाथी हिमालबाट खासाङ–२ कोवाङमा पनि हिमपहिरो आएको थियो । त्यो घटनामा भागदौड हुँदा केही स्थानीय घाइते भएका थिए । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले हिमपहिरो दुई सय मिटर तलसम्म आएका भए बस्ती, सडक, पुललगायतमा क्षति पुग्न सक्थ्यो । “कुनै अप्रिय घटना त हुन पाएन, तर हिमपहिरोको दृश्य हेर्दा भयानक थियो, हिउँको पहाडै खसेजस्तो देखिन्थ्यो”, उहाँले भन्नुभयो, “भदौ ७ गतेभन्दा ११ गते झन् ठूलो हिमपहिरो खसेको थियो ।” धवलागिरि हिमालको फेदबाट छिप्लुङ लेक हुँदै हिमपहिरो झरेको उहाँको भनाइ छ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरो जाँदा दुधकोशी नदीले बाढीको रुप लिएको थियो । बाढीले थामेका कैयौँ घर र भौतिक सम्पत्तिमा क्षति पुग्यो । जोखिममा परेका स्थानीयवासीको तत्काल उद्धार गरिएका कारण कुनै मानवीय क्षति भने हुन पाएन । गत वैशाखमा गोरखाको मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसम्मको ध्यान वीरेन्द्र हिमतालले खिच्यो । गोरखाको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार त्योबेला हिमताल फुटेको नभई हिमपहिरो खस्दा तालको पानी छचल्किएर बाहिर बगेको थियो । हिमताल नै फुटेको भए ठूलो विपत् निम्तन सक्ने खतरा रहेको उहाँको भनाइ थियो । वैशाखको सुक्खायाममा हिमपहिरो खस्नु सोचनीय विषय भने भएको अध्यक्ष लामाले बताउनुभयो । हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे उक्त घटनाले झक्झकाएको उहाँको भनाइ छ । यी त हालै भएका हिमपहिरोका प्रतिनिधि घटना हुन् । जलवायु विज्ञहरुका अनुसार हिमालयमा स–साना हिमपहिरा त थाहै नपाई खसिरहेका हुन्छन् । हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना हुन सक्नेमा विज्ञहरुको चिन्ता छ । पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले जलवायु परिवर्तनको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र रहेको बताउनुभयो । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँले भन्नुभयो, “विश्वको औषत तापमान १ दसमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दसमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।” सोही कारण हिमालय क्षेत्रमा बाढीपहिरालगायत अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिरहेको उहाँको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुन दर बढीरहेको पर्यावरणीय अध्यता अर्यालले बताउनुभयो । “हिमताल विष्फोटनपछि हालै सोलुखुम्बुमा आएको बाढीले थामे गाउँमा जुन विध्वंस मच्चायो, यस्ता घटनाहरु आगामी दिनमा झनै दोहोरिने र भयानक बन्ने कुराको आकलन सहजै गर्न सकिन्छ”, उहाँले भन्नुभयो । कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको उहाँको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उहाँले बताउनुभयो । कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको पर्यावरणीय अध्यता अर्यालले बताउनुभयो । जलवायु परिर्वतको कारकको रुपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असरको मार खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानीनोक्सानीको पुर्नभरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज शसक्त बनाउनुपर्ने उहाँको भनाइ छ । जलवायु परिर्वतन मामिलाका विज्ञ डा पपुलर जेन्टलले पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिन नसकिए हिमालय क्षेत्रले अकल्पनीय प्राकृतिक विपत् झेल्नुपर्ने बताउनुभयो । उहाँले हिमनदी र हिमतालहरु पृथ्वीको पानीकोसमेत स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने बताउनुभयो । सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरेपनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको जलवायु विज्ञ डा जेन्टलले बताउनुभयो । “विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको सिधा असर हिमाल र सो क्षेत्रको पर्यावरणमा परेको छ, हिमतालहरु जोखिममा रहेको विषयलाई हामीले जोडका साथ उठाइरहेका छौँ, सरकार यसतर्फ संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हिमतालमा पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ, समुदायस्तरमा सचेतनाका कार्यक्रम चलाउनुपर्छ ।” पृथ्वीको तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र बनेकाले त्यसले हिमतालको सतह बढाउने र नयाँ बन्ने क्रम पनि सँगसँगै बढेको उहाँको भनाइ छ । “हिमालय क्षेत्रमा निम्तने प्राकृतिक विपत्ले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनैपनि बेला ठूलो सङ्कट र विनाश ल्याउन सक्छ, अहिले भइरहेका घटना त्यसका सङ्केत मात्र हुन्”, जलवायु विज्ञ डा जेन्टलले भन्नुभयो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको छ । जोखिममा रहेका २१मध्ये उच्च जोखिममा रहेका केही हिमताल सम्भावित विस्फोटको खतरामा रहेको उक्त अध्ययनले औँल्याएको छ । हिमालय क्षेत्रमा सन्निकट सङ्कटको सामनाका लागि आवश्यक तयारी र पूर्वसचेतना अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उक्त अध्ययन अनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । जलवायु विज्ञ डा बिमल रेग्मीले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन गर्नुपर्ने बताउनुभयो । “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा रेग्मीले भन्नुभयो, “फ्ट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ ।” दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको उदाहरण दिँदै अन्य हिमतालको जोखिमलाई पनि त्यसैगरी कम गर्न सकिने उहाँले बताउनुभयो । “हिमतालको सतह घटाउने परियोजना निकै महँगो भएपनि सरकारले दातृ निकायसँग मिलेर यो काम गर्न सक्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्रमा खतराको घण्टी बजिरहेकाले सङ्कट सामनाका लागि तयार रहनुको विकल्प छैन ।” ‘इसिमोड’ र ‘यूएनडिपी’को अध्ययनअनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमश्रृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको डा रेग्मीले बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उहाँको भनाइ छ । “अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएरहेको छ, पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मीले भन्नुभयो, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालय क्षेत्रको अस्तित्व नै नासिन सक्छ ।” जलवायु परिवर्तनका कारण हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको उहाँको भनाइ छ । जसका कारण पानीको चक्र फेरिने, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेको उहाँले बताउनुभयो । डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउनुभयो । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ”, डा रेग्मीले भन्नुभयो । जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताउनुभयो । यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको उहाँको भनाइ छ । “हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पु¥याएको असर भयाभह छ”, उहाँले भन्नुभयो, “जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।”
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गर्नुभयो । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गर्नुभयो । भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।” बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।
पोखरा: गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उहाँले जानकारी दिनुभयो । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाइएको उहाँले बताउनुभयो । कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवारभतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिनुभयो । गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–सङ्कटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ । सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् । सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिनुभयो । सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उहाँले बताउनुभयो । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको सङ्ख्या अध्यावधिक गर्दै आइरहेको छ ।
सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उहाँले बताउनुभयो । शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । “प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुनुहुन्छ भने मानबहादुर नेकपा ९माओवादी केन्द्र० बारेकोट गाउँ कमिटीका सदस्य हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।
ढोरपाटन: पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उहाँले बताउनुभयो । पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताउनुभयो । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उहाँ बताउनुहुन्छ । विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उहाँले जानकारी दिनुभयो ।
दमौली: गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ । आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन् । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिनुभएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउनुहुन्छ । गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास–२ का सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ ।” यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उहाँको भनाइ छ । कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।” गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकि
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।