पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

काठमाडौं:    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।       राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।  यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।       राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।  विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

ताप्लेजुङ:    ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।  फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौंः    नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढङ्गले हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताउनुभयो ।  सो अवसरमा उहाँले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स ९बिआइएस० को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका  जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताउनुभयो ।   अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह ९मुम्बई० लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गर्नुभएको थियो ।  नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रूपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए ।   संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा  आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।    बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गर्नुभएको थियो । भारतका वाणिज्य सचिव बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दामा यो बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो ।  सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताउनुभयो ।  यस्तै भारतीय पक्षबाट एन सुनिल कुमारले नेपाल–भारतबीच  सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताउनुभयो । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।

सुनसरी:    सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।  लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिनुभयो । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ ।  “ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ”, प्रमुख साहले भन्नुभयो । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई सय, ‘बी ग्रेड’को रु नौ सय र ‘सी ग्रेड’को रु छ सय ५० मा बिक्री हुँदैआएको छ । नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताउनुभयो । नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उहाँको भनाइ छ । जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०/८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ । चालु आव २०८१/८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ ।  एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच पटकसम्म ठेक्का रद्द भएको छ । दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन् ।” बर्सेनि चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ । तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ ।  आफ्नो काठ जङ्गलमै कुहाएर बजारमा कृत्रिम अभाव खडा गर्दै विदेशबाट काठ आयात भइरहेको व्यवसायीको आरोप छ । विदेशी काठको आयात रोक्न स्वदेशमा उत्पादित काठको सदुपयोग र प्रयोग बढाउँदै जानुपर्ने व्यवसायीहरुको सुझाव छ ।

काठमाडौं:    गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।  एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभयो ।  उहाँ निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।”   यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहनुभएका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताउनुभयो । उहाँले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताउनुभयो ।  “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उहाँले भन्नुभयो । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पार्नुभयो ।  अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।” सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १३ भद्रकालीमा नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडको प्राविधिक सहयोगमा निःशुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ। वरिष्ठ छातीरोग विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा आयोजित शिविरमा ११३ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा पल्मोनरी फङ्सन टेस्ट (पीएफटी)द्वारा ७१ जना बिरामीहरूको फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो।  कार्यक्रमको उद्घाटन डा। चन्दन श्रेष्ठले गर्नुभएको थियो। शिविरमा जाडोयाममा दम, अस्थमा तथा सासप्रस्वासका समस्या बढ्ने भएकाले फोक्सोको नियमित परीक्षण आवश्यक रहेको सुझाव डा. शैलेश गुरुङले दिनुभएको छ। नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडका प्राविधिक प्रतिनिधि सञ्जिव रोक्काको सहयोगमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरका बिरामीहरूलाई राहत दिएको छ।

कैलाली:     ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।  घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’  पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो ।  “थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पिसिआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ”, आचार्यले भन्नुभयो ।   यस रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र एक भाले बङ्गुर मरेका हुन् ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । विसं २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ बङ्गुर मरेका थिए । त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखापरिरहेको छ ।  अफ्रिकन स्वाइन फिभर बङ्गुर÷सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ । सङ्क्रमित हुने सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन् ।  त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताउनुभयो ।  रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत पनि यो रोग सर्ने गरेको जानकारी दिनुभयो ।  

पोखरा:   पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार बढेको छ । महोत्सवको तेश्रो दिन शनिवार लोक तथा दोहोरी गायक सम्झना लामिछानेको प्रस्तुतीमा दशकले भरपुर मनोरन्जन लिए । लामिछाने संगै लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सांझको लाइभ ब्याण्ड तर्फ टुकीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको चौथो दिन आइतबार महोत्सवमा लोक तथा दोहोरी गायक प्रकाश दुतराज, चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारी र हाँस्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । आइतबार सांझको लाइभ ब्याण्ड तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुती रहने छ । महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन ।   महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।  फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन 

पोखरा:    टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ ।  पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो । टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए ।  नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।  टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो ।  ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले  ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे ।  ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो । कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर  नवीन भण्डारी  र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।