पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

पोखरा:     पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् ।  शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको थापाले बताए । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए । विदेशीलाई भने थप ५ हजार बढि लाग्ने उनले बताए । स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् । नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरका साहसिक पर्यटकलाई पु¥याएर नेपालमा आकर्षित गर्नु रहेको बताए ।  

काठमाडौं:    सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।   सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो ।   हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गर्नुभएको हो ।  नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गर्नुभएको हो ।   आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिनुुभएको थियो ।    यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि  सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।   यो पनि पढ्नुहोस   १५ महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

काठमाडौं:   मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।  युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालयस्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।  नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।   विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।  नेपाली युवा टोलीमा कप्तान महतोेसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् ।  नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको उल्लेख गर्नुभयो ।  नेपाली टोलीकी कप्तान महतोले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने योजना रहेको बताउनुभयो । नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ । 

कालीकोट:    जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।  उहाँको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो ।      सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि आज दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताउनुभयो ।  “सुत्केरी ब्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएका छौँ”, उहाँले भन्नुभयो ।      महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।  “गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो”, उहाँले भन्नुभयो ।

गण्डकी:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् ।  ‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले राष्ट्रिय ध्वजाबहाक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताए ।  “हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ”, मन्त्री पाण्डेले भने ।  भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए ।    हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदुतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राखे। “पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ”, मन्त्री पाण्डेले भने, “पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिएका छौँ ।”  चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशङ्का पनि हटेको उनले बताए । 

ललितपुर:    प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ ।      नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो ।      प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका  खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गर्नुभयो ।  “हाम्रो देश कलाका लागि प्रसिद्ध छ । यहाँका कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।”      महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नेसम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो । उहाँले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदामा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।      हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छभने यसले करिब रु ११ अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ ।      कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान पनि गरिएको थियो ।

पर्वत:    पर्वतको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।      बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।  पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिनुभयो ।  बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उहाँले बताउनुभयो ।      उद्धार गरिएको चिुतवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गर्नुभयो । चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।       फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको आक्रमणबाट करिब रु सात लाखको क्षति भएको छ ।       जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताउनुभयो । यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो । 

बाजुरा:     बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।  कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।      बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।  महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं:    अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ ।  आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो । सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका (चितवन), लहान नगरपालिका (सिरहा), गुर्भाकोट नगरपालिका (सुर्खेत), लमही नगरपालिका (दाङ), गढवा नगरपालिका (दाङ) र नर्वेको आर्थिक सहयोग (एनएबिपी) लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । यसैगरी नारायण शर्मा नेत्रज्योति सम्मान इन्द्र कसजु (नेपाल नेत्रज्योति सङ्घ खोटाङ) र कृष्ण धरेल (चितवन), नेत्रज्योति डा रामप्रसाद पोखरेल सम्मान ध्रुव केसी, शेरबहादुर थापा, मधु राणा, तेज मोक्तान, दलहादुर केसी तथा नेत्रज्योति सम्मानबाट लमही आँखा अस्पताल, नेपाल नेत्रज्याति सङ्घ रुपन्देही, डा पुरुषोत्तम जोशी र अतुल मिश्रलाई प्रदान गरिएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिनुभयो ।  यसैगरी नेत्रज्योति सम्मान सुवास नेपाल (आँखा अस्पताल पोखरा), डा सन्तोष सुवेदी (राप्ती आँखा अस्पताल दाङ), अभिषेक रोशन र डा विजयकुमार चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल, लहान), सपना कपाली (भरतपुर आँखा अस्पताल), सञ्जिव अधिकारी (रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा), क्षितिज बराल (तेजरत्न आँखा उपचार केन्द्र सङ्खुवासभा), हरिहर श्रेष्ठ (आँखा उपचार केन्द्र खोटाङ), वीरबहादुर कार्की (आँखा उपचार केन्द्र गुल्मी) र श्यामप्रसाद सापकोटा (नेपाल नेत्रज्याति सङ्घ काठमाडौँ) लाई प्रदान गरिएको थियो ।       चस्मामा ‘भ्याट’ नलाग्ने व्यवस्थाका लागि प्रयास गर्ने मन्त्रीद्वयको प्रतिबद्धता  आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर ९भ्याट०सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ ।  आज यहाँ आयोजित कार्यक्रममा मन्त्रीद्वयल “आँखा उपचारसँग सम्बन्धित चस्मामा अगामी आवदेखि भ्याट नलाग्ने व्यवस्थाका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गरी पहल गर्नेछौँ । फेसनसम्बन्धी चस्मामा भने कर छुटको व्यवस्था हुँदैन”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेत्रज्योति सङ्घको अधिवेशनमा सहभागीले आँखा उपचारसँग सम्बन्धित चस्मामा सरकारले कर लगाउँदा गम्भीर समस्या परेको जनाउँदै कर फिर्ता लिन सरकारसँग आग्रह गरेसँगै मन्त्रीद्वयले सोका लागि पहल गर्ने जनाउनुभएको थियो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “के–कति कारणले आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट लाग्ने गरेको छ, यसका बारेमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गर्नेछौँ । आगामी आवदेखि कर नलाग्ने व्यवस्था गर्न प्रयास गर्नेछु ।”  उहाँले सङ्कटासन्न समुदायमा आँखा उपचारसम्बन्धी सेवाको पहुँच पुग्न नसकेको बताउँदै तीनै तहका सरकारसँगको समन्वयमासेवा विस्तार गर्न सङ्घलाई आग्रह गर्नुभयो ।  स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट नलाग्ने व्यवस्था गर्न पहिलो प्राथमिकतामा राखी मन्त्रालयले प्रयास गर्नेछ । छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई आँखा उपचारमा खटाउने छौँ ।” सबै स्वास्थ्य संस्थालाई दर्ता प्रणालीमा आबद्ध हुन आग्रह गर्दै उहाँले राम्रो सेवा दिनेलाई पुरस्कृत गरिने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले सेवा विस्तारका लागि सरकार र सङ्घका बीचमा द्विपक्षीय हस्ताक्षर हुन लागेको जानकारी दिँदै यसबाट आँखा उपचारको पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  सङ्घका अध्यक्ष प्रा डा पन्त, उपाध्यक्ष श्यामकुमार पोखरेल र महासचिव भरतबहादुर चन्दले आँखा उपचार सेवासँग सम्बन्धित चस्मामा सरकारले भ्याट लिँदा सेवाग्राहीलाई समस्या परेको बताउनुभएको थियो ।  कार्यक्रममा नेत्र विशेषज्ञ प्रा डा देवनारायण साहले आँखा उपचार सेवा विश्वको तुलनामा नेपालमा सस्तो रहको जनाउँदै चस्मामा भ्याट नलिन सरकारसँग आग्रह गर्नुभयो ।