काठमाडौं: गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गर्नुभएको हो । ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
काठमाडौं: प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शन्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ छन् । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको चौतारीले जनाएको छ । बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ । महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।
काठमाडौं: क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो । आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कफ्र्यू लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताउनुभएको छ । गभर्नर गेभिन न्युसमले हजारौं को सङ्ख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।” लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचय पत्रका आधारमा पक्राउ गर्नेछन् । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ। अग्निनियन्त्रकले प्यासिफिक पालिसेड्समा लागेको आगोको छ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन् ।
काठमाडौं: सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।
भोजपुर: खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिनुभयो । गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल रु दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु एक हजार पाँच सयमा बिक्री भइरहेको छ । स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताउनुभयो । गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पु¥याइएको उहाँले जानकारी दिनुभयो । “स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ”, प्रमुख शाहले भन्नुभयो, “आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ । औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ ।” स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताउनुभयो । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो । कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो । “विगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो”, उहाँले भन्नुभयो, “स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ । यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन् । सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख शाहले बताउनुभयो । सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पु¥याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेका कार्यालयले जनाएको छ ।
हुम्ला: हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए । स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए । “दशैँमा खरिद गरेको औषधि सकिएको छ”, उनले भने । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो ।
सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै रु ५३ करोड जम्मा गरिदिएको थियो । आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो । विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
झापा: झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।