सोलुखुम्बु: सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताउनुभयो ।
गण्डकी: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उनले बताए । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ । उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्र भइसकेको र १३ किमि कालोपत्र हुने चरणमा रहेको उनले बताए । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताए । ‘बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्र एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्र हुन बाँकी छ ।’ घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि-हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिए । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ । सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताए । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताए । ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उनको भनाइ छ । लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । आगामी माघभित्र सडक कालोपत्रको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।
पोखरा महानगरपालिका–१६ दिपहाउजिङ तल रहेको सेती नदीको नहरमा खस्दा १ युवकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेका छन् । उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत थिए । प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो । पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ । तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ । एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस्तै, बिरामीको नजिक÷सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
पोखरा: तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना गरिंदै आइएको उहाँले बताउनुभयो । उहाँका अनुुसार पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंछी गणना गरिएको थियो । गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपंछी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंछी भेटिएका छन् । गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ । पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदुषण, वासस्थानको व्यापक विनाश, पंछी संरक्षणमा सचेतनाको कमी आदि कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उहाँले जानकारी दिनुभयो । सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपंछी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुुसार जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरी बस्ने चराहरुको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने उहाँले जानकारी दिनुभयो ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
पोखरा: पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाइएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा बढी किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज बरालले जानकारी दिए । महोत्सवमा रहेका कृषिका २४ स्टलहरु मध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ । महोत्सवमा दैनिक रुपमा सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् । वि स २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर तीन सय केजी भन्दा बढि सुन्तला बिक्रि हुने गरेको छ । ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन । कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन । स्थानीय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव भित्र अवलोकन गर्न आउने र दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ । यसैगरी यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसग सम्बन्धित रहेर आयोजित महिला हाजिरी जवाफ प्रतियोगिता दर्शकको रोजाइमा रहेको छ भने युवालाई लक्षित गरि कन्सर्ट तथा लोक तथा दोहोरी गीतका पारखीहरुका लागि लोकदोहोरीका कलाकारहरु ल्याएर थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन् । यसैबिच महोत्सवको सातौं दिन बुधवार करिव १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ ३५लाख बरावरको भएको र हालसम्म दर्शक तर्फ एक लाख आठ हजार र कारोवार तीन करोड ३५ लाख भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् । बुधबार विभिन्न राजनितिक दलका प्रदेश एवं महानगर तहका नेता, प्रतिनिधि एवं पुर्वमन्त्रीहरुले पनि महोत्सवको अवलोकन गरेका थिए । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
काठमाडौं: कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गर्नुभयो । उहाँले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीको सुरुआत भएको बताउनुभयो । खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताउनुभयो । उहाँले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको बताउनुभयो । उहाँले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उहाँले उल्लेख गर्नुभयो । खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताउनुभयो । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी उहाँले दिनुभयो । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् । आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।” पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।