पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुनमा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।  माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म तेस्रो संस्करणको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।  खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए ।  प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०÷५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ  ।  यता खुल्ला महिला भलिबल तर्फ बिजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ  ।  सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ  । महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।  पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर,मिडल ब्लकर,डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताईन ।   

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो ।  प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो । सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।  सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताउनुभयो । सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्नुभयो ।

काठमाडौं:   गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो  ।      प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गर्नुभएको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।  त्यस अवसरमा उहाँले नेपाल  र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन  उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेका बताउनुभयो ।      कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनुभयो । साथै उहाँले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गर्नुभयो ।      उहाँले कार्यवाहक राष्ट्रपतिमार्फत नेपाल सरकार र आफ्नो तर्फबाट २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयोे ।      त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।

नवलपरासी:   बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।       पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।      हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।

इलाम:    भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ ।  नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ ।  आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई नेपालको झण्डा हस्तान्त्रण गरी पदयात्राको शुभारम्भ गर्नुभयो ।  आज निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१।१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकैपटक यात्रा गर्ने आयोजकले जानकारी दिएको छ ।  पदयात्राको टोलीले २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपछि फेरि निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुनेछ ।   निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटारमा भोलि २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ । पुस २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा पुग्नेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ ।  निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पिँढीले भुल्दै गएको भए पनि पछिल्लो समय यसको जगेर्नामा स्थानीय तह जुटेका छन् ।  नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो ।  जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसानबीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्रा गर्न लागिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।  सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । २०७४ सालमा पुनः सो निसान इलाममा नै फर्काइएको थियो । सुगौली सन्धिपछि इलाम  भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुनः इलाम सारिएको छ ।  भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो ।   तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिका समेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताउनुभयो । उहाँले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताउनुभयो ।  पदयात्रा हुने स्थानका पालिका, वडा र टोल विकास समितिहरूले आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ गरिरहेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ  । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् ।  निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ ।  नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ ।  यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ । 

काठमाडौं:    मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।            भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो ।  बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।  मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो  । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो । भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ ।  भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।           ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउनुहुन्छ ।  “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।”           कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उहाँको भनाइ छ । डा कार्कीले भन्नुभयो, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।”           उहाँले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताउनुभयो । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उहाँले भन्नुभयो, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।” अनावश्यक त्रास नफैलाउन आग्रह       खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ ।  “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उहाँले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।  पूर्वतयारी र सचेतनाको जरुरी       केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले भूकम्प गएमा के गर्ने  ? कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के(के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।            जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।            उहाँले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भन्नुभयो ।                राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।  किन जान्छ भूकम्प ?      सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ  । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।            खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् ।  स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।            “विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्”, केन्द्रले भनेको छ ।            पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

त्रिशूली:   नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ ।   दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए ।   उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उनले भने, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।”   कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ ।   यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँका क्षमताभन्दा बढी हुन आउनेमध्येका कैदीबन्दी स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।   उनका अनुसार उपत्यकाको कारागारसहित आसपासका रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।   केन्द्रीय कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ ।   सोहीअनुसार तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।” महानिर्देशक भट्टराईले भने, “देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा हाल २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।”   काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका-६ स्थित खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णयअनुरुप निर्माण गरेको यस कारागारको गुरुयोजनाअनुरुप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ ।   तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।   केन्द्रीय कारागार निर्माणको गुरुयोजनाअनुरुप तेस्रो चरणको भौतिक संरचना निर्माणका लागि विभाग जुटेको छ । तर, यसका लागि यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक स्रोतको सुनिश्चित नहुँदा त्यसका लागि पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् ।   मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।   अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उहाँले बताउनुभयो ।   “अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उहाँले भन्नुभयो, “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।” मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।   “गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्”, अधिकृत ओझाले भन्नुभयो ।   त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाइ छ ।   मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् ।   त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् ।   मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् । 

पर्सा:    वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।  पछिल्ला दिन  जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन  सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।  “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उहाँले भन्नुभयो । त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।