पोखरा: आगामी पुष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले १३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शुरुवात हुने बताए । पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा विभिन्न दुर दराजका ग्रामीण भेगमा रहेकाहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताए । त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता संगै खेलकुदका कार्यक्रमहरुमा प्रायोजन संगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए । पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्ता दिएको छ । १३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर, प्रायोजकहरुमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन । महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुलक प्रवेश गराइने छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरुसँगै राष्टिय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछन् । १३ औं महोत्सवको थप आकर्षण र व्यवसायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ ।
काठमाडौं: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवद्र्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताउनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यकम’ मा उपप्रधानमन्त्री सिंहले कलाकारसँग भेट्न पाउँदा र सम्मान गर्न पाउँदा आफू हुर्षित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जीवन नै कलाकारितामा समर्पण गरेर योगदान दिने स्रष्टालाई सम्मान गर्नुपर्दछ । कलाकारको योगदानको कदर जति गरे पनि कम हुन्छ । कलाकारलाई राज्यले सक्ने सहयोग गर्छ ।” पुरस्कारबाट पुराना कलाकारप्रति सम्मान हुनाका साथै नयाँलाई यस पेसाप्रति रुचि बढ्न मद्दत पुग्ने उहाँको भनाइ थियो । सो अवसरमा ‘हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार’बाट केदार दाहाल, ‘हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार’बाट इन्दु पन्त, ‘क्यान आइडियल कला पुरस्कार’बाट विपिन श्रेष्ठ, ‘अमात्य कला पुरस्कार’बाट सुन्दर लामा, ‘मुल्मी ग्राफिक डिजाइन पुरस्कार’बाट राजन काफ्ले, ‘निर्वाण कला सम्मान’बाट स्मिता श्रीवास्तव र ‘सुरेन्द्र सम्मान दीर्घ कला–साधक सम्मान’बाट प्रा गोविन्दनारायण ज्यापूलाई पुरस्कृत गरिएको थियो । यसैगरी, ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट मनबहादुर विक, ‘क्यान सिग्देल आर्ट पुरस्कार’बाट डा कृष्ण ओझा, ‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट देवेन्द्र पौड्याल, ‘नारायणदेवी स्मृति पुरस्कार’बाट रवीन्द्र राजभण्डारी, ‘राजेश मानन्धर कार्टुन पुरस्कार’बाट पदम घले, ‘ज्ञानी शाह क्यान अमूर्त कला सम्मान’बाट रमेश खनाल, ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट भुवन थापा र ‘ऋचा मैनाली रिजाल स्मृति पुरस्कार’बाट प्राश्ना बुढा मगरलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो । “दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।
सोलुखुम्बु: भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १ सय ३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।
काठमाडौं: चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो । यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।” नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कैलाली: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ । आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उहाँले भन्नुभयो, “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।” उहाँले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।” उहाँले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउनुभयो । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उहाँले जानकारी दिनुभयो । “यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,” उहाँले भन्नुभयो । मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
सोलुखुम्बु: आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।
काठमाडौं: चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ । हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ । यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।