म्याग्दी: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले स्विचयार्डको फाउण्डेशन तयार पार्ने कामलाई तीव्रता दिएको र हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स ९भेल०ले जडान गर्ने उपकरण तयार पारेर आयात थालेको छ”, उहाँले भन्नुभयो, “आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका छौँ ।” राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइन ९डबल सर्किट०मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ । विद्युत्गृहबाट निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम थालिएको छ । आयोजनाको जग्गा अधिग्रहणदेखि हालसम्मको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत रहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । “बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।” मुख्य सुरूङको चार वटा अडिटबाट करिब दुई हजार तीन सय मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहबाट निर्माणाधीन छ । आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो ।
काठमाडौं: प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा जोड दिँदै ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको छैटौं केन्द्रीय समितिको बैठकपछि जारी घोषणापत्रमा सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र र पत्रकारविरुद्ध विद्युतीय अपराधमा प्रहरीले मुद्दा चलाउने गरेकामा विरोध जनाएको छ । घोषणापत्रमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माण जरुरी छ ।” चौतारीले श्रमजीवी पत्रकारसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको माग समेत गरेको छ । श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन र ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको वृद्धिको माग गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ । एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत दिनुभएको सन्देशमा भन्नुभएको छ, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि रू ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रू ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ । प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पु¥याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । देश लोडसेडिङमुक्त भएर नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवं प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतर्फ निर्यात गरी रू १७ अर्ब सात करोड आम्दानी गरेको थियो । गत आवमा आयातभन्दा करिब १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गर्नुभएको छ । “पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,” राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, “यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।” पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताउनुभएको छ । “राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भन्नुभएको छ, “नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
काठमाडौं: आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ । तर नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उहाँको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उहाँप्रति श्रद्धाभाव प्रकट गरेका हुन् । पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेका इतिहासकारहरू बताउँछन् । त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ र बर्सेनि पुस २७ मा उहाँको स्मरणमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर । वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले पृथ्वीनारायण शाहलाई यी शब्दहरूले सम्झिनुभयो । चार किल्ला तोडेर सुनौले सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोख्नुभएको छ । सयौँ देशलाई जोडेर एउटै देश नेपालको नक्सा बनाउने सपना पृथ्वीनारायण शाहले देखेर नै नेपाल देशको जन्म भएको उहाँको सिर्जनाको भाव छ । अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झनुहुन्छ‐ जोडेर धेरै मनहरू फोडेर धेरै किल्लाहरू यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि गर्दन रेटेर तिनीहरूको खुँडा पखाल्ने पनि मै हुँ हो, यो देश बनाएर अपराध गरेको भन्छौ भने त्यो अपराधी पनि मै हुँ हो, यो देश बनाउने अपराधी मै हुँ । केही समययता देशमा पृथ्वीनारायण शाहको योगदान र इतिहास विस्मृतितिर गएको भान भइरहेकै छ । त्यसैप्रति भरपुर ब्यङग्य गरेका छन् उहाँका यी शब्दहरूले । समाजले कहिलेकाहीँ ओकल्ने गरेका उहाँप्रतिका अनादरलाई कवि श्रेष्ठका यी शब्दहरूको श्रेष्ठता र भाव पर्याप्त छ । धेरै मनहरू जोडेर र धेरै किल्लाहरू फोडेर यो देश बनाउने व्यक्तिका रूपमा कविले पृथ्वीनारायण शाहलाई चिनाउन चाहनुहुन्छ । अर्का वरिष्ठ कवि डा नवराज लम्सालको यो सिर्जना पृथ्वीनारायण शाहले ठूला दुःखले आर्जेको भूमिको सुरक्षामा समर्पित छ । उहाँका यी शब्दहरूले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई कडा निर्देश गर्दछन् । रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देऊ छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देऊ बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देऊ नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ । पछिल्लो समय नेपालको साँध सिमाना मिचिएका समाचारहरू यदाकदा आउने गरेकाप्रति यी शब्दहरूले जनता जगाउन खोजेका छन् । कवि डा लम्साल देशको नेतृत्वमा रहने नेताहरूलाई यसरी ब्युँझाउन खोज्नुहुन्छ‐ आमा बेची कुन मखमली शान किन्छौ र सस्तो नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो । अर्का वरिष्ठ कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गर्नुहुन्छ । उहाँको भावना छ‐ देश आकाश हो, त्यो पनि सानो नभएर ठूलो आकाश । त्यसैले यस्तो ठूलो आकाशरूपी देशका सर्जकप्रति उहाँको सिर्जनाले नमन गरेको छ । उहाँको सिर्जना भन्छ‐ देश ठूलो आकाश हो जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन् जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन् केही चराहरू निस्फिक्री उड्ने गर्छन् हो, देश यस्तै ठूलो आकाश हो । ‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यको कविताले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गर्दछ । नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई उहाँले लयबद्ध कवितामा प्रस्तुत गर्नुभएको छ । उहाँको सिर्जना भन्छ‐ त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन ? मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल ? नेपालमा हिजोआज खस्कँदै गएको एकताको बल प्रसस्त मात्रामा झल्किाएको छ यो कवित्व भावले । पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर दिएको सन्देश नेपाल र नेपालीको राष्ट्रिय एकताको बलका लागि थियो । तर आज जात र वर्ण धेरै भए पनि एकताको बल भने झन् कमजोर हुँदै गएको पाठ यो कविताले सिकाएको छ । ‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गर्न चाहनुहुन्छ । उहाँका शब्दहरू भन्छन्‐ निर्वाचित निरंकुशताले आजित म पल्टाइरहेछु विशाल नेपालको इतिहास र देख्छु, प्रेम, एकता र सत्यमा अडिग समयले खोजेको राजा पृथ्वीनाराण शाह । त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले मानचित्रमा उभिएर शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव पोख्नुभएको छ । अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले स्वतन्त्रता शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राख्नुभएको छ । उहाँहरूले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गर्नुभयो । उहाँहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो । त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उहाँको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताउनुभयो । कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयम् उपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभव सुनाउनुभएको थियो ।
काठमाडौं: चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु छ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो ।
काठमाडौं: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् । सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ” नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए । अर्कोतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो । नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए । सङ्घका कार्यकारी निर्दशक डा शैलेशकुमार मिश्रले भन्नुभयो “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रुपमा विकसित हुँदै गएको छ । सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठलाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत् आँखा उपचार गराएका छन् । ” नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको सङ्घ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखाउपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ । विसं २०३५ मा स्थापना भएको सङ्घ ले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चारकरोड ३६ लाख २६ आँखा बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । यसैगरी ५१ लाख ३३ हजार छसय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ । सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भन्नुभयो, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ । ”
नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उहाँले बताउनुभयो । पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ । रातिको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।