काठमाडौं: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
पोखरा: यही पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे । अन्य दर्शकहरुसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका थिए । नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन् । पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए । उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ ।’ महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यंग्य कलाकार बाट हास्य प्रस्तुति, पप कलाकारबाट पप कन्र्सट साथमा मोडन डान्समा दर्शकहरू रमाइलो लिएका छन् । शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जिवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुत रहनेछ भने बेलुका लाईभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट)को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए । महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन भने ७५लाख बराबरको कारोबार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । हालसम्म १ लाख ५० हजार दर्शकले अवलोकन र ४ करोड ५० लाखको कारोबार भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
पोखरा: राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । संगीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानवमात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए । उनले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो । रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुभ्mयो त्यति गहिरो रहेको बताइन् । राष्ट्रि«य संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा संचालित रहेको बताए । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा १ का अध्यक्ष पवनकाजी अधिकारी, संघका केन्द्रीय सदस्यद्वय शंकर ढकाल, ऋषिराम दाहाल, संघका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, संघ गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, संघ गण्डकी प्रथम उपाध्यक्ष लीलाराम पौडेल, लायन्स क्लब अफ पोखरा सेन्ट्र«ल सिटीका सचिव इन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो । राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र संचालन महासचिव बालकृष्ण शर्माले गरेका थिए । कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र«मा पनि शाखा बिस्तार गरेको संघका महासचिव ढकालले जानकारी दिए ।
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमार्फत लेखनाथस्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । पोखरा १६ अर्मलाकोट पुरानो घर भई हाल पोखरा १२ अन्नपूर्णटोल बस्ने स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमलबहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबास निर्माण गर्दैछ । उक्त कार्यको महोत्सव अगाडी शिलान्यास भइसकेको र १३ औं पोखरा महोत्सव संमापनसँगै निर्माण कार्यलाई अगाडी बढाइने युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । युनाइटेड छात्राबासको निर्माणका लागि जो कोही पनि सहयोगमार्फत जोडिन सक्ने बताए । यसैबीच महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थापाले बताए । उनका अनुसार महोत्सवमा उपस्थित दर्शकहरुलाई लोक तथा दोहोरी गायक राजु परियारले आफ्नो प्रस्तुती दिए । परियारले आफ्नो एकल गीत र दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार महोत्सवमा राजु परियारसंगै चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्यतर्फ बलराम गिरी सरकारको प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए । शनिबार टुकीको बेजोड प्रस्तुती महोत्सवको तेश्रो दिन शनिवार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लाइभ ब्याण्ड तर्फ शनिबार टुकी र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । महोत्सवको दोश्रो दिन पोखरा ७ का बावुराम पौडेलले उक्त सेवामा निशुल्क सुविधा र पोखरा ८ का अर्जुन बहादुर गुरुङले उक्त सेवा ५० प्रतिशत छुट पाउने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन् । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरुमध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन् । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन् । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ । फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन् । महोत्सवको टिकट रेभल एपमार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन् ।
पोखरा: नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ । ४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु मुख्य दायित्व रहेको बताउनुभयो । ‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्नका लागि सरकारको प्रतिबद्ध छ । अपाङ्गतामैत्री संरचना र सेवा जरूरी छ । सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अपरिहार्य छ । उनीहरूको सहजताका लागि राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्न आवश्यक ठानेको छु।’ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्न आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । ‘नेपालमा एकातिर विभिन्न स्वास्थ्यसम्बन्धी कारणबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या बढ्दै गइरहेको देखिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘अर्कोतर्फ समाजमा उनीहरूप्रति गरिने व्यवहार, मुलुकमा दशकौँदेखि व्याप्त रुढी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गहरूले मानव भएर पनि न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ प्रदेश प्रमुख भट्टले नेपाल नेत्रहीन संघमा निर्वाचित अध्यक्ष शिशिर खनालसहितका संघीय पदाधिकारीहहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालमा दृष्टिविहीनहरूको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्यसम्पादन हुने अपेक्षा पनि राख्नुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले मृत्युपर्यन्त नेत्रदान गर्ने घोषणा पनि गर्नुभयो । ‘आँखासहित मेरा अंगहरु कसैको जीवनप्राप्तिमा काम लाग्छ भने यसको लागि म प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । कार्यक्रममा दृष्टिविहीनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेहरूलाई सम्मान पनि गरिएको थियो । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेपाल नत्रहीन संघका अध्यक्ष शिशिर खनाल, संस्कृत माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी, पोखरा वडा नं. १ का अध्यक्ष सहारा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल सरकार उपसचिव मिरा अधिकारी, संस्थाकी उपाध्यक्ष सुनिता ज्ञवालीलगायतले दृष्टिविहीनका हकअधिकारका बारेमा बोलेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् । कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् । उनले आज प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा धु्रव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे, तराई–मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गरेका हुन् । त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभाग राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित भएका हुन् । पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ. सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पोखरा: पोखरामा पार्किङ गरी राखेको स्कुटर चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ लखनचोक (पृथ्वीचोक)मा पुष ९ गते पार्किङ गरि राखेको २ वटा स्कुटर चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पार्किङ गरि राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गर्ने पोखरा–११ बस्ने २६वर्षीय सन्तोष लामिछाने, मादी गाउँपालिका घर भई पोखरा १५ बस्ने २७ वर्षीय किरण परियारलाई पुष १८ गते पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरेको २ वटै स्कुटर नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ बस्ने ३० वर्षीय प्रहलाद कोहारलाई बिक्री गरेको अनुसन्धानपछि हिजो (बिहीबार) ग १८ प २७३७ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विभागको कार्यालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । सचिव अर्यालले मर्यादित र वास्तविक पत्रकारिता गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । पछिल्लो समय समाचार पहिचान गर्नै नसकिने अवस्था आएको बताउँदै सचिव अर्यालले दक्ष पत्रकारको अभाव खड्किँदै गएको बताउनुभयो । विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरुप जनही रु २५र२५ हजार प्रदान गरिएको छ । गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिनुभयो । अनलाइन फाराममार्फत विद्यार्थीको समावेशीता, अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा १२ र स्नातक तहमा अध्ययनरत ३२ विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । मधेसी र मुस्लिम समुदायका विद्यार्थीको आवेदन नपरेको उहाँले बताउनुभयो । यो वर्ष छात्रवृत्ति पाउनेमा लक्ष्मी तामाङ, रुपेश थापा, शशाङ्क कोइराला, प्रकाश कपाली, मञ्जुली कोजु, आर्जु सत्याल, स्वस्तिका तिमल्सिना, तेन्जिङ डोल्सा तामाङ, सुमन मचामसी, अमिता परियार र नवराज सोती छन् । सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता बीचको फरक छुट्याएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले दक्ष र सक्षम पत्रकारको अभाव भएको बताउँदै सरकारले यसका लागि आमसञ्चार प्रतिष्ठान छिट्टै गठन गर्नुपर्ने बताउनुभयो ।