काठमाडौं: सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराउनुभएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको जानकारी दिनुभयो । यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।
काठमाडौं: सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ । सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१-०९-२२ को निर्णयानुसार आजै बाट लागु हुने बताइएको छ । हेर्नुहोस कहाँ कति सूची
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गएको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ठकुरी व्यापार व्यवसायका क्रममा मुस्ताङको जोमसोममा बस्दै आएको त्यहाँका पत्रकार सुन्दरकुमार थकालीले बताए । जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडी ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आएका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडीको झोलुङ्गे पुल प्रयोग गर्ने गर्दथे । पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल लगेको थियो । ठकुरीलाई अस्पताल लग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइसकिएको छ ।
काठमाडौं: विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको नि:शुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।” अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।” उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो । देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् । अस्पतालले आर्थिक वर्ष २०८०/८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।” राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउनुभयो । उहाँले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताउनुभयो । राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रुपमा रहेका सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी: गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन् । पोखरा महानगरपालिका–१६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन् । जङ्गलमा रहेको बहुमूल्य जडीबुटी, काठसहित चोरी–सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र उपयोग गर्नेगरी गठित समूहलाई अधिकार हस्तान्तरण गरेसँगै उपभोक्ता वन जोगाउने अभियानमा जुटेका हुन् । बहुमूल्य जडीबुटी, सतुवा, लोटसल्लो, निरमसी, पखन वेद, चन्दन, चुत्रोलगायत मालिङ्गो, घुँडे र तीते निगालो स्वादिलो तरकारीमा प्रयोग गरिने टुसा, निउरो, तरूल प्रशस्त पाइने सत्रखर्क कालीलेक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गल क्षेत्रमा चोगो, नसि, खाँदो, पनेलो, स्याक, क्रेटोेपधेरो, कोइप्रोनो, तल्लोदोवान, वलाय, तोमोधु, तोढ्रे, एकल, दोबाटे, माडदी, घुडे, लिते र सवल गरी सत्रवटा चरनलाई समेटेर यस वनलाई सत्रखर्क नामकरण गरिएको हो । समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजारसम्मको उचाइमा अवस्थित जङ्गलमा चितुवा, भालु, मृग, थार, घोरल, बाँदर, दुम्सीजस्ता जङ्गली जनावर र मुनाल, प्युरा, वन कुखुरालगायत विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान भएको अध्यक्ष गुरूङको दाबी छ । भारतीय सेनामा भर्ती हुनुभएका गुरूङले भन्नुभयो, “आजभन्दा छ दशकअघि सम्म प्रत्येक खर्कमा भैँसी, गाई, भेडाका तीनदेखि चारवटा गोठ थिए, जसमा जङ्गलमा चाररपाँच हजार घरपालुवा चौपाया चर्ने गर्दथे ।” जङ्गलको बीच भागमा रहेको बलायखर्कमा चेतबहादुर पौडेल र उमा पौडेलले भैँसी गोठमा भविष्य खोज्दै आउनुभएको छ । उहाँको गोठमा हाल सानाठूला गरेर ४० वटा भैँसी र गाई रहेका छन्भने सुरेन्द्र पौडेलले चरनमा आधारित बाख्रापालन गर्दै आउनुभएको छ । पौडेलको खोरमा अहिले पनि एक सयभन्दा बढी बाख्रा रहेका छन् । भैँसी र बाख्रा चरनमा आधारित छन् । अध्यक्ष गुरूङ भन्नुहुन्छ, “विगतमा बाहिरबाट आउनेले जङ्गलबाट जडीबुटी सङ्कलन र जनावरको चोरी–सिकारी हुँदा पनि सरकारी स्तरको ध्यान नपुग्नु र उपभोक्तामा अधिकार नहुँदा बर्सेनि बहुमुल्य जडीबुटी बाहिरिन्थ्यो । हाल उपभोक्ताले निगरानी राख्न थालेपछि केही नियन्त्रण भएको छ । सो क्षेत्रको करिब तीन हेक्टर क्षेत्रफलमा रहेको महत्त्वपूर्ण वनस्पति लोटसल्लो बिस्तारै पातलिँदै गएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने उक्त वनस्पतिका पात र डाँठसमेत सङ्कलन गरेर बोराका बोरा लैजाने गरेको स्थानीयको भनाइ छ । मार्की, जैमुरे, खरिकुना, ठूलोखोरिया, कुरा आँटीघर मौजा मोरियालगायत विभिन्न स्थानबाट जङ्गलमा प्रवेश गर्ने नाका रहेको बताउँदै उहाँले भन्नुभयो, “टुसा र निउरो उत्पादन हुने सिजनमा चोरी–निकासी अत्यधिक हुने गरेको छ । समूहको ऐतिहासिक प्रथम साधारणसभाले अबका दिनमा समूहको कार्ययोजना र विधानको परिधिभित्र रहेर ‘टेन्डर’ आह्वान गरी समूहको केही हदसम्म भए पनि आयआर्जन गर्ने तयारी भई रहेको उहाँको भनाइ छ । वन समूहका सचिव बबिता गुरूङका अनुसार पोखराको पानीको मुख्य स्रोत रहेको सम्भवतः कास्की जिल्लाको भौगालिक हिसाबले सबैभन्दा ठूलो उक्त वन ६ सय ९३ दशमलव पाँच हेक्टरमा फैलिएको सो वनमा तीन सय १६ घरधुरी उपभोक्ता रहेका छन् । समूहले स्थायी लेखा नम्बर लिएको छ । वनमा प्रशस्त मात्रामा रहेको निगालोबाट माद्रो, थुन्से, नाम्लो, मोहडा, कुर्चीलगायत घरेलु सामग्री निर्माण गरिन्छ भने अल्लोबाट भाग्रा, कछाड, टोपी, थैलो, स्टकोटजस्ता कपडा निर्माण गर्दै आएको बताउँदै उहाँले थप्नुभयो, “प्राकृतिक स्रोत उपयोगका लागि आवश्यक तालिमको खाँचो छ ।” अर्मलाकोट ‘होमस्टे’का अध्यक्ष रहनुभएका उहाँले भन्नुभयो, “पोखराबाट छोटो दूरीमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण चराचुरूङ्गी, जङ्गली जनावरको प्रत्यक्ष अध्ययन गर्न सकिने यस क्षेत्रको उचित प्रचारप्रसार गर्नसक्ने हो भने पर्यापर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नाका साथै होमस्टेमा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास छ ।” ऐतिहासिक प्रथम वार्षिक साधारणसभा सत्रखर्च कालीलेक सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । विगत लामो समयको निरन्तर प्रयासबाट एक वर्षअघि सामुदायिक वनका रूपमा हस्तान्तरण भएपछि वनका बारेमा पहिलोपटक उपभोक्ताको भेला भएको हो । भेलाले वनको संरक्षणसहित ढलापडा काठ निकासी गर्ने, टुसा र निउरो टिप्नका लागि ‘टेन्डर’ आह्वान गर्ने, जङ्गलमा जाने बाटो सफा गरी सञ्चालन गर्ने, पानीका मुहान संरक्षण र व्यवस्थापनमा जोड दिने जस्ता निर्णय गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले साधारणसभाको उद्घाटन गर्दै प्राकृतिक स्रोतको उपयोगमार्फत स्वरोजगार सिर्जना गर्न सकिने बताउनुभयो । वनको संरक्षण, संवर्द्धन, विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका उपभोक्ताले अब आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सामुदायिक वनलाई समृद्धिको आधार बनाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । मुलुकमा हाल २३ हजार २६ सामुदायिक वन समूहका ३१ लाख ९५ हजार तीन सय २३ घरपरिवारले २४ लाख २५ हजार तीन सय ९२ दशमलव ६० हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका गण्डकी प्रदेश सदस्य जितबहादुर बस्नेत, समूहका कर्णबहादुर गुरूङ, सिमबहादुर गुरूङ, हेमु परियार, शेरजङ्ग गुरूङ, झलश्री गुरूङ, श्रीसीता आधारभूत विद्यालयका प्रधानाध्यापक सीता विश्वकर्मालगायतले वन क्षेत्रमा स्थानीय बासिन्दाको भूमिका र वातावरणीय प्रभावका सम्बन्धमा चर्चा गर्नुभएको थियो । सामुदायिक वन अभियानको तीन दशक पार गरे पनि पुगे पनि यस समूहका उपभोक्ताले भने पहिलोपटक सामुदायिक वनको अनुभव गर्न पाएका छन् ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार: कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा प्रभावकारी ल्याई राज्यका अङ्ग र सार्वजनिक निकायहरू जनताप्रति उत्तरदायी, संवेदनशील र सक्रिय बनाउन आवश्यक रहेको बताए । जसले प्रशासनिक संयन्त्रलाई परिवर्तन ल्याई जनउत्तरदायी, पारदर्शी, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास उनको छ । “सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, नागरिकको सूसुचित हुने हकलाई संरक्षण र प्रर्वद्धन गर्दै प्रदान गरिने सेवाको मूल्य वास्तविक लागतमा आधारित गर्न महत्वपूर्ण छ ।”, उनले भने । मन्त्री थापाले अनियमित र गलत कार्यलाई सतर्क गराउन, सार्वजनिक निकायमा निष्पक्षता र समानता कायम गराउन, सुशासनलाई व्यावहारमा उतार्न लगायतमा सूचनाको हक सम्बन्धि व्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । सरकारी तथा सार्वजनिक निकायहरुको वेभसाईटहरु नियमित अपडेट गर्ने, कानुनको पूर्ण रूपमा कार्यान्वयनका लागि केन्द्रियस्तरमा नै प्रचारप्रसार गरी जागरण गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने सुझाव मन्त्री थापाको छ । नागरिक सचेतना र जागरूकता जगाउने, प्रभावकारी अनुगमन तथा मूल्याङ्कनका लागि संयन्त्र बनाउने, सूचनाको वर्गीकरण गरी सो को स्पष्ट व्यवस्था गर्ने, कार्यविधि र कार्यशैलीमा परिवर्तन गरिनुपर्ने, सार्वजनिक निकायका पदाधिकारीलाई तालिम तथा अभिमुखिकरण गर्ने काममा समेत क्रियाशिल हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले २०७९ मा सूचना सार्वजनिक गर्न र सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको जानकारी गराए । उनले आम सञ्चार विधेयक जारी गरी संचार क्षेत्रलाई थप प्रभावकारी बनाउन, प्रदेश भित्रका आम संचारमाध्यमको विकासका लागि प्रेस रजिष्टार कार्यालय स्थापना गरि काम सुरु गरिएको बताए । संचार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था र पत्रकारहरुलाई लेखनवृत्ती, पत्रकार बिमा, रेडियो, टेलिभिजन लक्षित कार्यक्रमहरु, सार्वजनीक सुनुवाईहरु, मागमा आधारित तालिमहरु संचालन भैराखेको समेत उनले जानकारी गराए । राष्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त डा। सुरेश आचार्यले नागरिकले सूचना पाउने अधिकारलाई प्रत्याभूत हुने गरि काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सूचना सम्भव भएसम्म अप्डेट गर्नुपर्ने विषयलाई उठाएका छन् । अध्यावधिक गरिएका सूचनाहरु तीन महिनामा सार्वजनिक गर्नुुपर्ने भनाई उनको छ ।
म्याग्दी: म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको रू दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा र आठकोठे छात्रा छात्रावास भवन निर्माण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण भएको थियो । कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिनुभयो । नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँहरूले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मूर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन स्थल कालीगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नान स्थलका रूपमा विकास गर्न लागिएको जानकारी गराउँदै त्यसका लागि भारत सरकारसँग सहयोगको अपेक्षा गर्नुभयो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको बताउनुभयो । समुदाय स्तरबाट विसं २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नाकोत्तर तहसम्मको अध्ययन हुन्छ ।